खाँदबारी, ९ मङ्सिर । घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाको आयोजनामा ११औँ राष्ट्रिय उद्योग दिवस २०८२ सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाभरका ६ उत्कृष्ट उद्योग तथा उद्यमीहरूलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा होरोरेम अल्लो तथा सुति कपडा उद्योगकी दिलमाया राई, याफु नमुना कृषि तथा पशु फर्मका जितेन्द्र राई, सिद्धकाली मौरीपालन उद्योगका रिन्जि शेर्पा, स्वरोजगार वागबानी पशुपन्छी तरकारी व्यवसाय तथा उत्पादन केन्द्रका देव बहादुर कटुवल, पाङ्माली सुकुटी तथा अचार उद्योगका रोहित राई, मनकामना एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्रका ठाकुर बहादुर ढकाल सम्मानित हुनुभएको हो ।
उनीहरूलाई जनही ५ हजार रूपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो । समारोहमा उद्यमीहरूका अनुभव, स्थानीय उत्पादनको सम्भावना, बजार विस्तारका चुनौती तथा उद्यम विकासमा सरकारी समन्वयका विषयमा पनि चर्चा गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमचन्द्र राईले जिल्लामा उद्यमशीलता विकासको अभियानलाई अझ सुदृढ गर्दै युवालाई आत्मनिर्भर बनाउने कार्य निरन्तर रहने बताउनुभयो ।
कार्यक्रमा कोशी प्रदेशसभा सदस्य विदुर कुमार लिङ्थेपले उद्योग दिवसको शुभकामदा दिँदै स्थानीय उत्पादन, कृषि आधारित उद्य तथा साना उद्योगहरूले जिल्लाको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । उहाँ उद्यमशीलता प्रवर्द्धन गर्न राज्यको नीतिगत सहयोग अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।