काठमाडौँ, ७ मङ्सिर । विराटनगर किङ्ग्स बलर प्रतिस जिसीले नेपाल प्रिमियर लिग (एनपिएल) नेपाली खेलाडीको स्तरवृद्धिका लागि महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
शनिबार सम्पन्न काठमाडौँ गोर्खाजविरुद्धको खेलमा विजयी भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा जिसीले एनपिएल आफ्नो क्षमता प्रदर्शन गर्ने राम्रो ‘प्लेटफर्म’ रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “एनपिएलबाट नेपाली खेलाडीको स्तरवृद्धि हुन्छ । यो विदेशी खेलाडीबाट सिक्ने मौका पनि हो । यहाँ राम्रो प्रदर्शन गर्यो भने भोलि माथिल्लोस्तरको क्रिकेट पनि खेल्ने ढोका खुल्नेछन् ।”
यस्तै, काठमाडौँ गोर्खाजका अलराउन्डर आदिल आलमले पनि एनपिएलले खेलाडीको सीप वृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उहाँले एनपिएलले नेपाली खेलाडीलाई सबै हिसाबले सहयोग पुर्याएको बताउनुभयो ।
विराटनगरले आज काठमाडौँलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।