बाँसगढीमा प्राङ्गारिक मल कारखाना स्थापना

7
  • यज्ञप्रसाद सापकोटा

बर्दिया, ६ मङ्सिर । देशभरि नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । आगामी वैशाखदेखि प्राङ्गारिक मल उत्पादनको सुरुवात गर्ने गरी नगरपालिकाले मल कारखाना निर्माण गरिरहेको छ ।

बाँसगढी नगरपालिका वडा नम्बर ४ मदाहानजिक रहेको गौशालाको छेउमा प्राङ्गारिक मल कारखाना निर्माणाधीन रहेको छ । नगरपालिकाको तीन करोड र प्रदेश सरकारको एक करोड गरी जम्मा चार करोडको लगानीमा प्राङ्गारिक मल कारखाना निर्माण थालिएको हो ।

२०८१ फागुनदेखि निर्माण सुरू गरिएकोमा आगामी चैत महिनासम्म निर्माण सम्पन्न हुने छ । आगामी वैशाखदेखि उत्पादन सुरु गरी धान र मकैको सिजनमा कृषकहरूलाई मल उपलब्ध गराउने योजना रहेको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले बताउनुभयो ।

नगरपालिकाभित्र कृषकहरूलाई सहुलियत मूल्यमा मल उपलब्ध गराउने र मल बचेमा अरु छिमेकी नगरपालिकामा पनि बिक्री गर्ने उहाँले बताउनुभयो ।

कारखानाका लागि आवश्यक पर्ने गोबर गौशालाबाट उपलब्ध हुने, गौशालाले नपुगेको गोबर विभिन्न फर्मबाट खरिद गरिने योजना छ । थप कच्चा पदार्थका लागि विभिन्न सामुदायिक वनबाट झारपात ल्याएर मल बनाउने योजना रहेको नगरप्रमुख खड्काले बताउनुभयो ।

कारखाना सञ्चालनपछि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा युवाहरूले रोजगारी पाउने छन् । घरगाउँमा खेर गइरहेका, सामुदायिक वनमा रहेका घाँस र झारपात संकलन गरेर कारखानामा बिक्री गरेर पनि नगरबासी स्वरोजगार बन्ने छन् । बाँसगढी नगरपालिकामा उत्पादन हुने कुहिने फोहोर पनि संकलन गरेर कारखानामा खपत गरिने उहाँले बताउनुभयो ।

कारखाना नगरपालिका, नगरपालिकाभित्रका सहकारी र नगरबासीहरू मिलेर सञ्चालन गर्ने योजना बनाइएको छ । “सञ्चालनका लागि कार्यविधि समेत बनाउँदै छौँ,” नगरप्रमुख खड्काले भन्नुभयो, “कार्यविधि बनाएर व्यवस्थीत रुपमा कारखाना चलाउने योजना रहेको छ।” सुरुमा दैनिक पाँच हजार मेट्रिक टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना रहेको छ ।

नेपाल सरकारले पठाउने रासायनिक मलमा मात्र भर पर्दा कृषकहरूले दुःख पाइरहेका छन् । पर्याप्त मात्रामा रासायनिक मल नहुँदा खाद्यन्न उत्पादन घट्दो छ । पछिल्लो समयमा गाईवस्तु पाल्ने कृषक कम हुँदै गइरहेका र प्राङ्गारिक मलको अभावले खेतबारीको गुणस्तर घट्दै गइरहेको हुँदा कारखाना स्थापना गरि मल उत्पादन गर्न लागिएको बाँसगढी नगरपालिकाकी नगर उपप्रमुख इन्दिरा चौधरीले बताउनुभयो ।

उहाँले मल कारखाना स्थापना गर्नुको मुख्य उद्देश्य भनेको कृषकलाई आग्र्यानिक खेतीतर्फ आर्कषित गर्नु पनि हो । मल उत्पादनपछि विस्तारै अर्गानिक विषादीहरू पनि उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्राङ्गारिक मल कारखाना सञ्चालन भएपछि नगरपालिकाभरी मलको अभाव नहुने र नगरबासीलाई रोजगारी पनि हुने बाँसगढी नगरपालिका वडा ४ मदाहाका भगवती थारूले बताउनुभयो ।

“लामो समयपछि नगरपालिकाले राम्रो काम गरेको छ,” उहाँले भन्नुभयो, “अब नगरपालिका आग्र्यानिक कृषी खेतीतर्फ अगाडि बढ्छ कि भन्ने आशा जागेको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...