काठमाडौँ, ५ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन् ।
अपराह्न ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन् ।
पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रितराज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् ।
सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन् ।
एनपिएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुई–दुई अंक जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाण्डु गोर्खाज र चितवन राइनोजको समेत दुई–दुई अंक छ । जनकपुर, पोखरा र कर्णाली भने अंकबिहीन छन् । पोखरा आज दुई अंक जोड्दै प्रतियोगितामा पुनरागमन चाहन्छ भने अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम दोस्रो जितको खोजीमा हुने छ ।
एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरू भएको एनपिएल २७ गतेसम्म सञ्चालन हुने छ ।
एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । एनपिएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेञ्चाइज टोलीले प्रतिस्पर्धा गर्दै छन् ।