एनपिएलमा आज दुई खेल हुँदै

5

काठमाडौँ, २ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुवात गर्ने हुने छ ।

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्ने छन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहने छन् । यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुवात गरेको छ । जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले एक करोड १० लाख रूपैयाँ पाउने क्यानले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...