काठमाडौँ, ३० कात्तिक । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगको आजको बैठकको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आयोगको वेवसाइट www.election.gov.np मा र नेपाल राजपत्रमा प्रकाशन गर्ने गरी सार्वजनिक गरिएको हो ।
पहिलो निर्वाचित हुने प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार विसं २०८२ माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम विसं २०८२/०८/२० गतेदेखि सञ्चालन हुने छ । सो कार्यक्रमअनुसार मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्ने, मङ्सिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्ने र माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।