कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छ : सञ्चारमन्त्री खरेल

6

काठमाडौँ, २८ कात्तिक । एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा दक्षिण कोरियाको राजधानीमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृत्रिम बौद्धिकता (एआई)को प्रवर्द्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको बताउनुभएको छ ।

‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उहाँले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताउनुभएको हो । साथै उहाँले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई उपयोगी हुने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलको निजी सचिवालयका अनुसार सेन्टरका गतिविधिबारे जानकारी लिएपछि उहाँले भन्नुभयो, “कोरियाको एआई स्मार्ट सिटी सेन्टरबाट नेपालको एआई केन्द्रलाईं अझ सुदृढ गर्न ज्ञान मिलेको छ । यसबाट हालै हाम्रो देशमा स्थापना भएको केन्द्रलाई सबल बनाउन टेवा पुग्ने छ ।”

सञ्चारमन्त्री खरेलले केन्द्रलाई प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । साथै उहाँले एआईका माध्यमबाट प्राप्त अवसर, राष्ट्रनिर्माणमा यसको अधिकतम उपयोग र भविष्यबारे विज्ञहरूसँग परामर्श गर्नुभयो । सञ्चारमन्त्री खरेलले ‘डिजिटल नेपाल’ र ‘डिजिटल ट्रान्सफरमेसन’का लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...