‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक भयो : सञ्चारमन्त्री खरेल

7

काठमाडौँ, २६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताउनुभएको छ । गणतन्त्र कोरियाको सिओलमा आज आयोजित ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ लाई सम्बोधन गर्दै उहाँले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गनुभयो ।

उहाँले भन्नुभयो, “डिजिलट लिडर्सिप फोरम एकदमै उपलब्धिपूर्ण र सफल भएको छ, यसले आगामी दिनमा डिजिटल नेपालको अवधारणामा आधारित भएर डिजिटल नेपालको रूपमा अगाडि बढाउन तथा एआईमैत्री नेपाल बनाउन फोरम फलदायी भएको छ ।”

सञ्चारमन्त्री खरेलले नेपालले डिजिटल तथा एआई ट्रान्सफरमेसनसम्बन्धी नीति बनाएर संरचनागतरूपमा काम अगाडि बढाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालले विशेषगरी डिजिटल तथा एआई ट्रान्सफरमेसनको सन्दर्भमा एआई नीति बनाएको छ । राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको तथा एआई काउन्सिल पनि गठन गरिरहेको छ । डिजिटल नेपालको रोडम्यापको मस्यौदा तयार गरिएको जानकारी फोरमलाई गराइएको छ ।”

सञ्चारमन्त्री खरेलले कोरियन सरकार, विश्व बैंकलगायत अन्य विभिन्न साझेदार संस्थाहरूसँग नेपाल सरकारको तर्फबाट आगामी दिनमा सहकार्य गर्ने प्रस्ताव फोरममा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी कोरियन सरकार र विश्व बैंकलगायत साझेदार संस्थाको तर्फबाट पनि नेपाल सरकारसँग डिजिटल र एआई ट्रान्सफरमेसनको लागि आगामी दिनमा सहकार्य र साझेदारिताका साथ अघि बढ्ने समझदारी बनेको छ ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “डिजिटल र एआई विषयमा साझेदारी भन्नाले विभिन्न आर्थिक साझेदारी क्षमता अभिवृद्धि गर्न, ‘एक्सपोजर भिजिट’, ‘ज्ञान आदानप्रदान’ लगायतका विषयमा आगामी दिनमा साझेदारी गर्ने र नेपाललाई सहयोग गर्ने कुराकानी भएको छ ।”

समूहगत सत्रको छलफलमा पनि सञ्चारमन्त्री खरेलले नेपालको प्राथमिकता, साझेदार संस्थासँगको सहकार्य एवम् साझेदारिताका विषयमा धारणा राख्नुभएको थियो । त्यसक्रममा कोरिया सरकार र त्यहाँको नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआइए)बीच पनि आपसी सहकार्य र सझेदारीताका विषयमा परामर्श भएको थियो ।

फोरममा दक्षिण कोरिया लागि नेपालका राजदूत डा.शिवमाया तुम्बाहाम्फेलगायत सहभागी हुनुहुन्थ्यो । फोरममा सहभागी हुन सञ्चारमन्त्री खरेल मङ्गलबार कोरिया जानुभएको थियो । कोरियाको विज्ञान र आइसिटी ९एमएसआइटी० मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।

सञ्चारमन्त्री खरेलका साथमा उहाँका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया जानुभएको छ । फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसनः स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोवल कोअपरेशन फर सस्टेनेवल डिजिटल फ्युचर विषयमा दुई सत्रहरू सञ्चालन भएका छन् ।

डिजिटल र एआई ट्रान्सफर्मेसनः एसडिजीहरू र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषयअन्तर्गत फोरममा ‘एचिभिङ द एसडीजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपालसहित विभिन्न देशका मन्त्री, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार, सरकारी प्रतिनिधि तथा एसिया प्रसान्तका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तर्राष्ट्रिय संस्थाहरू पनि सहभागिता रहेको छ । मन्त्री खरेल यही कात्तिक २९ गते स्वदेश फर्कनुहुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...