- आकांक्षा धामी
काठमाडौँ, १७ कात्तिक । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले सहिद परिवारको माग तत्काल सम्बोधन गर्नुपर्ने चेतावनी दिनुभएको छ । उहाँले प्रधानमन्त्रीले सहिद परिवारका माग दुई–तीन महिनाभित्र सम्बोधन गर्ने आश्वासन दिएको जानकारी आएको भन्दै त्यसलाई अस्वीकार गर्दै १५ दिनभित्र माग पूरा नगरे सडक संघर्षमा उत्रिने घोषणा गर्नुभएको छ ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै चौलागाईंले भन्नुभयो, “प्रधानमन्त्रीले दुई–तीन महिनाभित्र माग पूरा गर्छु भन्नु भयो रे भन्ने सुनेको छु । तर, त्यो कुरा हामी सहिद परिवारले मान्दैनौँ । दुई–तीन महिना पर्खने स्थिति छैन । सरकारले अब १५ दिनभित्र हाम्रो माग सम्बोधन गर्नुपर्छ ।”
उहाँले धेरैजसो सहिद परिवारहरू अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । “कसैको घरमा सुत्केरी छ, कोही बुढाबुढी मात्रै छन्, कोही कमाएर बेलुकी खाने परिवार छन्,” चौलागाईंले भन्नुभयो, “यस्ता परिवारहरूलाई दुई–तीन महिनासम्म पर्ख भन्नु अन्याय हो ।”
चौलागाईंले प्रधानमन्त्री र गृह मन्त्रालयलाई १५ दिनको अल्टिमेटम दिँदै भन्नुभयो, “यदि सरकारले यो अवधिभित्र माग सम्बोधन गरेन भने सहिद परिवारहरू सडकमा आउँछन् । आजदेखि १५ दिनभित्र ज्ञापनपत्र पनि बुझाउँछौँ ।”
सहिद परिवारको मुख्य मागहरू यसप्रकार छन्ः
प्रत्येक सहिद परिवारका सदस्यलाई स्थायी रोजगारीको व्यवस्था गर्नुपर्ने ।
सहिद परिवारका बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क पढाइको व्यवस्था गर्नुपर्ने ।
स्वास्थ्य उपचारमा आजीवन निःशुल्क सेवा सुनिश्चित गर्नुपर्ने ।
सहिद स्मृति पार्क निर्माण लगायतका अन्य संरचनात्मक योजनाहरू क्रमशः कार्यान्वयन गर्नुपर्ने ।
चौलागाईंले केही मागहरूमा सरकार गम्भीर देखिएको उल्लेख पनि गर्नुभयो । “क्षतिपूर्ति १५ लाख दिने निर्णय भएको छ । सहिदलाई सम्मानपूर्वक अन्त्येष्टि गरियो, आधा झण्डा झुकाइयो । यी कुरा राम्रो भए तर अझै मुख्य मागहरू अधुरै छन्,” उहाँले भन्नुभयो ।
उहाँले सहिद परिवारबीच देखिएको असमझदारीप्रति पनि असन्तुष्टि जनाउनुभयो । “अब कुनै व्यक्तिगत स्वार्थ वा पदलोभका लागि लड्ने समय होइन, सबै सहिद परिवार एक ढिक्का भएर सरकारसँग माग सम्बोधनको दबाब दिनुपर्छ,’ चौलागाईंले भन्नुभयो ।
आर्थिक फन्डको पारदर्शिताबारे पनि प्रश्न उठाउँदै उहाँले भन्नुभयो, “सहिद परिवारको नाममा आएको पैसाको स्पष्ट विवरण हुनुपर्छ । आधिकारिक बैठकमा छलफल बिना कसैले एक्लै निर्णय गर्न मिल्दैन ।”
यसैगरी चौलागाईंले केही सहिद परिवारका प्रतिनिधिहरूले सरकारसँग ‘व्यक्तिगत लाभका लागि’ वार्ता गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सहिद परिवारको माग व्यक्तिगत होइन, सामूहिक हो । कुनै एक जनाको साइनमा सरकारसँग कुरा गरेर सहिद परिवारलाई भुल्याउने काम स्वीकार्य छैन ।”
उहाँले सरकार र सम्बन्धित निकायहरूलाई आधिकारिक प्रतिनिधित्वको स्पष्टता कायम गर्न आग्रह गर्नुभयो । “जो व्यक्ति अध्यक्षको हैसियतमा माग लिएर जान्छ, ऊ कुन तहको सहिद परिवार हो,” उहाँले भन्नुभयो, “पहिलो, दोस्रो वा तेस्रो भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।” चौलागाईंले यो सरकार हाम्रै रगतले बनेको भन्दै सहिद परिवारको साधारण मागलाई पनि पूरा गर्न दुई–तीन महिना पर्खाइ दिनु अन्याय हुने बताउनुभयो । -नेपाल न्यूज बैंक