एनआरएनए एकताका लागि लचक छौँ : डा.बद्री केसी

15

काठमाडौँ, २५ असोज । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित सन् २००३ मा सुरु गरिएको गैरआवासीय नेपाली अभियानले आज २२ वर्ष पूरा गरेको छ ।

यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) एक समूहका अध्यक्ष डा.बद्री केसीले प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको उपलब्धिहरू र आगामी कार्यदिशाबारे जानकारी दिनुभएको छ ।

डा.केसीका अनुसार, २२ वर्षको अवधिमा संघले ९० भन्दा बढी देशमा औपचारिक सञ्जाल विस्तार गरी विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्न सफल भएको छ । यद्यपि, विगत केही समयदेखि देखिएको संस्थागत असहजतालाई समाधान गर्न संघ आन्तरिक संवाद र सहमतिको प्रक्रियामा छ ।

“संघलाई पुनः एकताबद्ध गर्दै १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु हाम्रो साझा दायित्व हो,” प्रेस विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय अभियानको फरक धारमा रहेका समूहहरुसँग छलफलको क्रममा ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सहमतिमा पाँच सदस्यीय स्टेरिङ कमिटी गठन गर्ने प्रस्तावमा सहमति नजिकिएको छ । उक्त कमिटीले आगामी तीन महिनाभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने योजना अघि सारिएको छ ।

संघले सबै पक्षलाई संवादमा आउन आह्वान गर्दै संस्थागत एकता कायम गर्न लचकता अपनाइरहेको जनाएको छ । अध्यक्ष केसीले फरक धारमा रहेका साथीहरूप्रति संवादका ढोका खुला रहेको समेत उल्लेख गर्नुभएको छ ।

एनआरएनएले हालैका वर्षहरूमा नेपालको सामाजिक तथा आर्थिक विकासमा गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीको सदुपयोग गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा जलविद्युत, बैंकिङ, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य लगानी भित्रिएको जनाइएको छ ।

संघले ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’ सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जानकारी पनि दिएको छ । सो फण्डलाई कार्यान्वयन गर्न सरकारले नौं वटा कानुन संशोधन गरेर सहजीकरण गरेको हो । साथै, साना तथा मझौला गैरआवासीय लगानीकर्तालाई समेत समेट्ने प्रयास भइरहेको संघले जनाएको छ ।

अध्यक्ष डा.बद्री केसीले गैरआवासीय नेपाली संघलाई आजसम्म ल्याउन योगदान दिने सम्पूर्ण गैरआवासीय नेपाली, नेपाल सरकार, सरोकारवाला संस्था, सञ्चार क्षेत्रलगायत सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...