हेटौँडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ

76

हेटौँडा, २४ असोज । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित चार्जिङ स्टेसन अगाडिबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको छ ।

शुक्रबार बिहान ४ः१० बजे वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा उक्त सामानहरू फेला पारिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडीका चालक रौतहट बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदीप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको छ ।

गाडीको पछाडि ढालाभित्र लुकाएर राखिएका १३० थान साडी, ६९६ थान कुर्ता, १७५ थान टप्स, र १ हजार १ थान कपडाका थानहरू बरामद गरिएको छ, जसको मूल्य लगभग १४ लाख रुपैयाँ अनुमान गरिएको छ । त्यसैगरी, झण्डै २० लाख रुपैयाँ बराबरको प्रतिबन्धित झिरझिरे पटका समेत फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...