आगोले खण्डहर भएको भवनमै सुरू भयो मधेस प्रदेश सभा बैठक

13

जनकपुर, ७ असोज । जेनजी आन्दोलनको क्रममा आगोले खण्डहरमा परिणत भएको मधेस प्रदेश सभा भवनबाट पुनः प्रदेश सभाको बैठक सुरु भएको छ ।

कतैकतै टालटुल त कतै आगोको धुँवाले कालो परेको भित्ता मर्मतको क्रममै रहँदा मंगलबार (आज)देखि छैठौँ अधिवेशनको बैठक सुरु भएको छ ।

आजको बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र उहाँकै पार्टीका अन्य सांसदहरु दुई कितामा बाँडिएको देखापरेको छ ।

मुख्यमन्त्री सिंहबाहेकका जनमतका प्रदेशसभा सदस्यहरु प्रतिपक्षतर्फ बसेका छन् । जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री सतिश सिंहले फेसबुकमार्फत् राजिनामा घोषणा गर्नुभएको थियो । तर, प्रदेश प्रमुख कार्यालयमा आधिकारिक राजीनामा पत्र बुझाउनुभएको थिएन ।

पछि उहाँले संघीयता बचाउनका निम्ति राजीनामा घोषणा गरेको अभिव्यक्ति दिनुभएको थियो । सो पछि जनमत पार्टी मधेस प्रदेशका दलका नेता महेश यादवले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोध्नुका साथै मुख्यमन्त्रीसहित प्रदेशमा रहेका सम्पूर्ण जनमतका नेतालाई फिर्ता बोलाइएको पत्र प्रदेश प्रमुखलाई बुझाउनुभएको थियो । त्यसपछि मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रतिक्रिया दिँदै आउनुभएको थियो ।

जनमत पार्टीका दलका नेता महेश यादवले सभामुख रामचन्द्र मण्डललाई आफूहरू प्रतिपक्षमा बस्ने भनेपछि उहाँले सोहीअनुसार सिटको व्यवस्थापन गराउन लगाउनुभएको थियो । तर, मुख्यमन्त्री सिंह भने सत्ता पक्षमा रहेका अन्य दलहरुसहितको स्थानमा बस्नुभएको थियो ।

आजको बैठकमा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभ कामनासहित मृत्यु भएकाहरुप्रति शोक प्रस्ताव पेस गरिएको थियो । टेबुलको अभावमा सभामुख मण्डलले हात उठाएर प्रस्तावमा समर्थन जनाउन आदेश दिनुभएको थियो । मधेस प्रदेश सभाको अर्को बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...