एभरेष्ट महिला भलिबल लिग : मधेस, ललितपुर र कर्णालीको जित

24

कास्की, २२ भदौ । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा शनिबार सम्पन्न खेलमा मधेस, ललितपुर र कर्णाली विजयी भएका छन् ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न तेस्रो खेलमा मधेस युनाइटेडले घरेलु टोली पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । मधेसले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ ले जित निकाल्यो । मधेसको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो ।

श्निबारै भएको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । ललितपुरले काठमाडौँलाई २५–१९, २५–२३, २५–२१ ले हरायो । ललितपुरको यो लगातार दोस्रो जित हो ।

यसैगरी, शनिबारको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३–१ को सेटले पराजित गरेको थियो । पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित निकाल्यो ।

लिगको तेस्रो दिन आइतबार दुई खेल हुने छन् । पहिलो खेल मधेस युनाइटेड र काठमाडौँ स्पाईकर्सबीच दिउँसो २ बजेदेखि सुरु हुने छ । आइतबारको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबीचको खेल साँझ ४ बजेदेखि सुरु हुने छ ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौ २८ गतेसम्म सञ्चालन हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...