सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्दका कार्यकर्ताबीच दोहोरो भिडन्त

316

चैनपुर । सङ्खुवासभाको चैनपुर नगरपालिका-४ मैदानेमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको माओबादी कार्यकर्ता र प्रहरीबीच आइतबार दोहोरो भिडन्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यकाअनुसार दिउँसो ३ बजेदेखि माओवादी कार्यकर्ता र प्रहरीबीच दोहोरो भिडन्त भएको हो । जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राई समेत ३ जना मैदानेमा लुकेर बसेको अवस्थामा गस्तिमा रहेको प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले केही राउन्ड गोली चलाएको थियो भने माओवादीका कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

ती कार्यकर्ताको साथबाट प्रहरीले विस्फोटक सामाग्री बरामद गरेको छ । त्यस क्षेत्रमा आइतबार साँझबाट दोहोरो भिडन्त रोकिएको छ । प्रजिअ आचार्यका अनुसार दोहोरो भिडन्तपछि उनीहरु जंगलतिर भागेको बताए । उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

यसअघि पनि मैदानेमा २ पटक सुरक्षाकर्मी र माओवादीबीच भिडन्त भइसकेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...