सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेका छौँ : मुख्यमन्त्री शाह

22

कैलाली, १३ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घ सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको प्रदेश कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा उहाँले भन्नुभयो, “विभिन्न सङ्घसंस्थालाई जोडेर हामी अगाडि बढ्न चाहन्छौँ, यहाँ लगानी मैत्री वातावरण बनाउन चाहन्छौँ, त्यसका लागि प्रक्रिया, छलफल अगाडि बढाएका छौँ ।”

मुख्यमन्त्री शाहले निजी क्षेत्रलगायत सबैलाई सुदूरपश्चिममा धेरै सम्भावना रहेकाले लगानीकर्तालाई सुरक्षाको ‘ग्यारेन्टी’ गराउने बताउनुभयो । उहाँले निजी क्षेत्रको अनुभव पनि सरकारले प्राप्त गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार र निजी क्षेत्र साझेदारीका साथ अगाडि बढौँ भन्ने आग्रह गर्दछु, यस्तै हरेक कुरामा सँगै अगाडि बढेर जाने विश्वास मैले लिएको छु ।”

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका केन्द्रीय अध्यक्ष राजेशकुमार अग्रवालले परिसङ्घले देशको समग्र अर्थतन्त्रको विकासका लागि पहल गर्दै आएको बताउनुभयो । उहाँले परिसङ्घले नेपाली उत्पादित वस्तु नेपाली तथा विदेशी बजारमा पुर्‍याउन सहयोग गर्दै आएको बताउनुभयो ।

युवा उद्यमी प्रवर्द्धन तथा प्रोत्साहन गर्ने खालका गतिविधि परिसङ्घले गर्दै आएको उहाँको भनाइ छ । आज नै परिसङ्घको रमणचन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सुदूरपश्चिम प्रदेश समिति गठन भएको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...