लागुऔषध नियन्त्रण गर्न  विभाग स्थापना गरिने

19
काठमाडौँ, १२ असार । सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार आगामीवर्षमा सो विभाग स्थापना गरिने छ ।
सो कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी वर्षमा छुट्टै विभाग स्थापना गर्न लागेको बताउनुभयो  । उहाँले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
“हामी लागुऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ,” गृहमन्त्री लेखकले भन्नुभयो, “गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रम अघि बढाएको छ ।”
लागु औषध सेवन दुर्व्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइमलगायतका घटना हुने गरेको बताउनुभयो । “मुख्य विषय भनेको यसको रोकथामन हो । जनचेतना महत्वपूर्ण विषय हो । लागु औषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढङ्गले प्रभावित गरेको छ,” लेखकले भन्नुभयो, “लागुऔषध नियन्त्रणका लागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामूलक कार्यक्रम आवश्यक छ ।”
लागुऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताउनुभयो । “एक लाख ३४ हजार जना लागुऔषध सेवनककर्ता रहेको तथ्याङ्क छ । समाज नराम्रोसित प्रभावित हुँदै छ,” उहाँले भन्नुभयो,“मुलुकभरका कारगाराका कैदीबन्दीमध्ये दोस्रो ठुलो सङ्ख्यामा लागुऔषध दुर्व्यसन, ओसारपसार, भण्डार गर्नेको सङ्ख्या छ । यसबाट पनि यसको अवस्था प्रष्ट हुन्छ ।”
दिवसका अवसरमा आयोजित कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाल निकाय, सरकारी तथा गैरसरकारी संस्थाको सहभागिता रहेको थियो ।
Share This:
सम्बन्धित खबर
Loading...