नयाँ पर्यटकीय गन्तव्य दुधेखोलाको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरू

6

म्याग्दी, ७ जेठ । बेनी नगरपालिका वडा नम्बर २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरू भएको छ । निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामकरण गरिएको छ ।

सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा पर्यटकको आगमन बढ्दै गएपछि उनीहरूको सुविधाका लागि पार्क निर्माण गर्न थालिएको हो ।

बेनी नगरपालिकाको एक लाख ५० हजार लगानीमा पहिलो चरणमा जमिन सम्म्याउने काम सम्पन्न भएको झरना लभ्ली पार्क निर्माण समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

“सदरमुकाम नजिकै नयाँ पर्यटकीयस्थलका रूपमा विकास भएको कोप्रे झरनामा आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न बगैँचासहितको आकर्षक पार्क बनाउन लागिएको हो । बस्नका लागि आराम कुर्सीसहित ससाना केटाकेटी, युवायुवती र वृद्धवृद्धाहरूका लागि अनुकूल हुने संरचना निर्माण गर्ने योजना छ”, अध्यक्ष कार्कीले भन्नुभयो ।

“चालु आर्थिक वर्षमा नगरपालिकाले जमिन सम्म्याउनका लागि मात्र बजेट विनियोजन गरेकाले उक्त बजेटको परिधिमा रही काम सुरु गरेका हौँ, आगामी आर्थिक वर्षमा पार्क निर्माण कार्यलाई पूर्णता दिन्छौँ”, कार्कीले भन्नुभयो ।

पर्यटकको आगमन बढेसँगै उनीहरुलाई आराम गर्ने ठाउँको अभाव देखिएपछि कार्कीले आफ्नै निजी लगानीमा सत्तल र चौतारीसमेत निर्माण गर्नुभएको छ ।

कोरोनाकालमा पत्ता लागेको कोप्रे झरनामा त्यसपछिका वर्षहरूमा चहलपहल बढ्दै गएको हो । हाल उक्त स्थानमा दैनिक पचासदेखि दुई सय जना पर्यटक आउने गरेका स्थानीय पुरन घिमिरेले बताउनुभयो । उहाँका अनुसार शनिबार र बिदाका अन्य दिन कर्मचारी, व्यापारीलगायत पनि त्यहाँ रमाउन जाने गरेका छन् ।

शिरानमा घना जङ्गल, पुछारमा नागबेली परेर बगेको म्याग्दी नदी, बीचमा कलकल बग्ने दुधेखोला गाउँको बेनी–बगरफाँट–भकिम्ली सडक नजिक अवस्थित यो झरना नजिक पार्क बनेपछि युवायुवती र बालबालिकामात्र नभइ जोकोहीका निम्ति मनोरञ्जनस्थल बन्ने बेनी नगरपालिका–२ बगरफाँटका युवा सज्जन जिसीले बताउनुभयो ।

खासगरी त्यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिस फोटो र भिडियो पुग्ने गरेका छन् । यो स्थान पछिल्लो समय बेनी बजारका बासिन्दाका लागि ‘मर्निङ वाक’ गर्नेको नयाँ गतव्य पनि बनेको छ । कोप्रे झरना पुग्दा आफूलाई आनन्द भएको मङ्गलाघाटका रमेश फगामीले बताउनुभयो ।

हिउँदमा केही सानो देखिने यो झरना वर्षामा भने निकै आकर्षक हुन्छ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’ पनि भन्छन् । भीरपहराबाट खस्ने झरना देख्दा मन नै फुरुङ्ग हुन्छ । घाम लागेका बेला इन्द्रेणी पर्ने झरनालाई हेँरिरहुँजस्तो लाग्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकसँग अनुभव छ । यो झरना अङ्ग्रेजी अक्षर भी आकारको छ ।

सदरमुकाम बेनीबजारदेखि उत्तरतर्फ म्याग्दी नदी, पूर्व र पश्चिमतर्फको हरियाली फाँट, दक्षिणतर्फ घना जङ्गल रहेको यो ठाउँ प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ । यसलाई आन्तरिक पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

कोप्रे झरनाका नजिक पानी उड्ने छहरा, १२६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारो, बगरफाँटमा तीन रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि निर्माण गरिएको आकर्षक देवीको मन्दिर, शिवालय, गुफालगायतका धार्मिक तथा पर्यटकीयस्थल पनि छन् । त्यहाँ पुग्ने प्रकृतिप्रेमी पार्क घमेर फर्कन वडाध्यक्ष कार्कीको विश्वास छ ।

Share This:
सम्बन्धित खबर
Loading...