- प्रमिला कार्की
काठमाडौँ, ३ जेठ । मानव शरीरमा रगतको प्रवाह सामान्यतया सिस्टोलिक ब्लड प्रेसर १४० एमएमएचजीभन्दा धेरै र डायलोस्टिक ब्लड प्रेसर ९० एमएमएचजीभन्दा बढी भएमा उच्च रक्तचाप भएको मानिन्छ । विश्वव्यापीरूपमा यसले प्रत्येक ८ वयस्क जनसंख्यामा एक जनालाई असर गर्छ । सामान्यतया बढ्दो उमेरसँग सम्बन्धित उच्च रक्तचाप अहिले युवा पुस्तामा धेरै बढेको छ ।
अस्वस्थकर खानपिन, शारीरिक गतिविधि कम र अत्यधिक मानसिक तनाव लिएको कारण नै युवा उमेरमै उच्च रक्तचापको समस्या बढ्दै गएको वीर अस्पतालको मुटु रोग विशेषज्ञ डा.दीपक मिश्र बताउनुहुन्छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले धुम्रपान युवा पुस्तामा फेसनको रुपमा आएको भन्दै यसरी निकोटीनको प्रयोगले पनि युवाहरुमा उच्च रक्तचापको समस्या बढी देखिन थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘सुर्तीजन्य, मदिराजन्य पदार्थको सेवन, शारीरिक क्रियाकलाप कम गर्ने अखाद्य वस्तुहरुको प्रयोग बढी गर्दा युवाहरुमा पनि उच्च प्रेसर देखिने गरेको छ । कलिलो उमेरमा नै देखिनुको मुख्य कारण खानपिन र सहरिया जीवनशैली हो । विकासको नाममा सबै गाउँबाट सहर आए एउटा चोकबाट अर्को चोकमा जान पनि सवारी साधन चाहिने भएकाले शारीरिक क्रियाकलाप घट्दो छ । बच्चाहरु चौरमा गएर खोल्ने अवस्था पनि छैन । घरमा नै मोबाइलमा नै हेर्ने गर्छन् । त्यसपछि जंगफुड र धुम्रपान सेवन गर्ने फेसनको रुपमा युवाहरुले अपनाइरहेका छन् ।’
डा.मिश्रले पछिल्लो समय शैक्षिक, आर्थिक विषय र आफ्नो भविष्यलाई लिएर धेरै तनाब लिनु पनि युवाहरुमा उच्च रक्तचाप बढ्नुको प्रमुख विषय बनेको बताउनुभयो । उहाँले आफू डाक्टर हुँदैगर्दा ३० देखि ३५ भन्दा कम उमेर समूहमा उच्च रक्क्तचापको बिरामी विरलै देखिने गरेको भन्दै अहिले निकै नै बढेको अनुभव सुनाउनुभयो ।
‘सबैमा भित्र लुकेको एउटा समस्या छ त्यो भनेको तनाव हो । स्कुलमा गयो स्कुलमा नै शिक्षाले गर्दा तनाब छ, कलेजमा आउँदा आफ्नै लेबलको प्रतिस्पर्धा प्रोफेसनल लाइफमा कसरी जाने भन्नेछ । करियरलाई कसरी राम्रो बनाउने भन्ने कुराको आफ्नै तनाब छ । आर्थिक रुपले पनि हुन्छ । दैनिक रुपमा ओपीडिमा देखिने बिरामीमा ३० देखि ३५ भन्दा कम उमेरका उच्च रक्क्तचापको बिरामी धेरै देखिन थालेको छ । म डाक्टर हुने बेलातिर यो उमेर समूहको बिरामी विरलै लेख्न पाइन्थ्यो । तर, अहिले धेरै बढेको छ । यसको अफिसियल सर्वे चाहिँ हुन जरुरी छ । तर, युवामा बढ्दो क्रम चाहिँ छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै, उहाँका अनुसार नेपालमा उच्च रक्तचापको बिरामीको संख्या दिनानु दिन बढ्दै गइरहेको छन् । उहाँले लैङ्गीक रुपमा महिलाभन्दा पुरुषमा बढी उच्च रक्तचापको समस्या देखिएको जानकारी दिनुभयो ।
‘अलि बढी उमेरहरुमा पनि निकोटिनको प्रयोग बढेर गयो । त्यसले गर्दा चाँडै प्रेसर बढ्ने गर्दा मुटुमा समस्याहरु देखिने गरेका छन् । नेपालमा उच्च रक्तचापको बिरामी दिनानुदिन बढ्दै गइरहेका छन् । विश्वभरि नै बिरामीको जनसंङ्ख्या थपिँदै गइरहेको छ । पुरानै बिरामी पनि छन् । युवा पुस्तामा उच्च रक्तचापको समस्या थपिएको हुनाले विश्वभरि नै बढिरहेको छ । त्यसबाट नेपाल अछुत बस्न सक्दैन,’उहाँले भन्नुभयो,‘नेपालमा पनि प्रत्येक दिन उच्च रक्तचाप बढिरहेका छन् । मेडिकलको रुपमा उमेर बढ्दै गएपछि भन्दा पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । तर, लैङ्गीक रुपमा महिलाभन्दा पुरुषमा बढी देखिन्छ । कसैको वंशानुगत पनि हुन्छ । अलि बढी उमेरहरुकोमा पनि निकोटिनको प्रयोग बढेर गयो । त्यसले गर्दा चाँडै प्रेसर बढ्ने मुटुमा आउने समस्याहरुपनि त्यहाँबाट आउने भएको हो ।’
३८ प्रतिशतलाई प्रेसरको रोग देखिएको छ । त्यसमा २३ प्रतिशत जति चाहिँ पुरुषमा र १७ प्रतिशत महिलामा देखिएको छ । पुरुष या महिला जसलाई प्रेसर देखिएको भएता पनि त्यसमा जम्मा पाँच प्रतिशत मात्र रोकथाम देखिएको विगतको सर्वेले देखाएको छ ।
सबैभन्दा बढी ४० देखि ६० सम्मको उमेर समूहका मानिसमा उच्च रक्तचापको समस्या देखिने गरेको उहाँ बताउनुहुन्छ । तर, स्वास्थ्यको दृष्किोणले हेर्ने हो भने युवामा समस्या बढ्नु चिन्ताको विषय रहेको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो,‘अझै पनि ४० भन्दा माथिको उमेर समूहमा नै बढी समस्या देखिएको छ । तर, यसलाई फरक स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने युवामा बढ्नु चिन्ताको विषय हो । तर, बढी समस्या देखिने त ४० देखि ६० सम्मको उमेरमा नै हो ।’
मुख्यतः उच्च रक्क्तचापले शरीरको मुख्य अंगहरुलाई असर गर्ने गर्दछ जसको कारण उच्च रक्क्तचापले ज्यानै जाने जोखिम बढी हुने गर्दछ । मुटु, मस्तिष्क, आँखा, मृगौला र नसा जस्तो रगत सञ्चालन हुने अंगमा प्रेसरले टार्गेट गर्ने कारण मृत्युको जोखिम रहेको डा.मिश्र बताउनुहुनछ ।
यसमा थप्दै उहाँले भन्नुभयो,‘प्रेसरले शरीरका मुख्य अंगहरुलाई असर गर्छ । मुटु, मस्तिष्क, आँखा, मृगौला र नसाहरुलाई असर गर्ने नै भयो । रगत सञ्चालन जहाँ–जहाँ हुन्छ त्यहाँ यसले टार्गेट गर्छ । प्यारालाइसिस भयो भने ज्यानलाई खतरनाक हुन्छ । कसैले हृदघात भयो भने मुटुको चाल बिर्गेर प्राणघातक बन्ने नै भयो । लामो समयदेखि प्रेसर छ भने मृगौलामा असर गर्छ । यस्ता कुराले गर्दा प्रेसरले ज्यान नै जाने जाखिमको साथै परिवार, समुदाय र सिंगो देशलाई नै आर्थिक भार पार्ने काम गर्छ ।’
साथै उच्च रक्क्तचापलाई ‘साइलेन्ट किलर’ पनि भन्ने गरेको पाइन्छ । उच्च रक्क्तचापलाइ किन ‘साइलेन्ट किलर’ भनिन्छ भन्ने प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो,‘यदी कोही मानिसमा लक्षण छैन । काम गरेर दिनभरि घर गएको छ । प्रेसर हाइ छ, तर लक्षणहरु केही देखिएको छैन । यस्तो अवस्थामा अचानक हृदयघात भयो भने साइलेन्टली त्यसले किल गर्यो नि । अचानक ठुलो पक्षघात भएर फर्किनै नसक्ने अवस्थामा आयो भने यसरी हिजोसम्म साइलेन्ट थियो नि केही थाहा थिएन । सुतेर बिहान उठ्दा मान्छे छैन वा हिजोसम्म केही थिएन तर आज मान्छे छैन भने त्यो साइलेन्ट किलर भनिन्छ ।’
उहाँको अनुसार टाउको दुख्ने, आँखा अगाडि धमिलो देखिने, छाती भारी हुने, धड्कन बढ्ने र सास फेर्न अप्ठ्यारो हुने जस्ता सामान्य लक्षण उच्च रक्क्तचाप हुँदा देखिने गर्दछ्न् ।
नियमित रुपमा आफ्नो ब्लड प्रेसरको निगरानी बढाउने आफ्नो तौल कति छ, कोल्डस्टोर कति छ, सुगर कति छ भन्ने चाहिँ थाहा पाउने र सहरीया जीवनशैली त्यागि अध्यात्मिक चिन्तनमा फर्किएर उच्च रक्क्तचापबाट जोखिन उहाँले सुझाउनुभयो ।
उहाँले भन्नुभयो,‘लक्षण हुँदामात्र होइन । नहुँदा पनि रेगुलर आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ । प्रेसर जाँच गर्नुपर्छ । लक्षणमा चाँही टाउको दुख्ने, आँखा अगाडि धमिलो देखिने, छाती भारी हुने, धड्कन बढ्ने र सास फेर्न अप्ठ्यारो हुने जस्ता सामान्य लक्षण हुन्छ । तर, यी लक्षण भने अरु रोगमा पनि देखिन्छन् । यसबाट जोगिन नियमित रुपमा आफ्नो ब्लड प्रेसरको निगरानी बढाउने गर्नुपर्छ । आफ्नो तौल कति छ, कोल्डस्टोर कति छ सुगर कति छ भन्ने चाहिँ थाहा पाउनुपर्यो र आफ्नो सहरीया जीवनशैली त्याग्नुपर्छ । अध्यात्मिक चिन्तनमा फर्कनुपर्छ । ’
यसैगरी मुटु विशेषज्ञ डा.मिश्रले नेपाली समाजमा मुटु रोगसम्बन्धी जोखिम घटाउनको लागि जीवनशैलीमा आमूल सुधार गर्नुपर्ने औँल्याउनुभयो । उहाँले पूर्वदर्शन र आध्यात्मिक चिन्तनमा फर्कनु आवश्यक रहेको उल्लेख गर्दै शुद्ध, सात्विक तथा शाकाहारी भोजनले नै शरीर र मनलाई स्वस्थ राख्न सक्ने विचार व्यक्त गर्नुभयो ।
डा.मिश्रले हाल देखिएको उच्च तनाव, अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीले मानिसमा मुटु रोगको जोखिम बढाइरहेको भन्दै यस्ता कारणहरूबाट बच्नुपर्नेमा जोड दिनुभयो ।
‘तनाव र चिन्ताले शरीर र मनमा नकारात्मक असर पार्दछ,उनले भने, ‘हामीले खानपानको शुद्धीकरण गर्नुपर्छ । सकेसम्म बाहिरको खाना नखाने बानी बसाल्नुपर्छ । पूर्वीय दर्शनअनुसार आध्यात्मिक चिन्तनमा फर्कनुपर्छ । आध्यात्मिक शुद्ध शाहाकारी खाना खाऔँ । धेरै स्ट्रेस लिएर धेरै तनाब लिएर बस्नु उचित छैन । यसले आफूलाई पनि समाजलाई पनि परिवारलाई पनि खानेकुरामा शुद्धीकरण गरौँ । बाहिरको खानेकुरा सकेसम्म खाने बानि हटाऔँ ।’
उहाँले सुर्तीजन्य पदार्थ र मदिरा सेवन पूर्णरूपमा बन्द गर्नसमेत सबैमा आग्रह गर्नुभयो । ‘कतिपय स्थानमा अल्कोहलको सानो मात्रालाई सुरक्षित भनिन्छ,’उहाँले भन्नुभयो, ‘तर, त्यो अस्थायी कुरा हो, दीर्घकालीन असर निकै गम्भीर हुन सक्छ । अल्कोहलसँगै सेवन गरिने चिल्लो परिकारले मुटुमा नकारात्मक असर पुर्याउँछ ।’
डा.मिश्रका अनुसार मुटु रोगबाट जोगिनका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्नु अत्यावश्यक छ । उहाँले विद्यालय तहबाटै स्वास्थ्य शिक्षा सुधार गर्दै विद्यार्थीलाई सुरुमा नै सही जीवनशैली अपनाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, निकोटिन र मदिरा प्रयोगविरुद्ध सरकार स्तरबाटै कडा कदम चाल्नुपर्ने डा.मिश्रको धारणा छ । उहाँले सार्वजनिक स्थानहरूमा पार्क, व्यायामस्थल र वाकिङ्ग ट्रयाक जस्ता पूर्वाधार विकास गरेर जनस्तरमै स्वास्थ्यप्रति सजगता बढाउन सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय, प्रदेश र संघीय सबै तहबाट एउटा साझा नीति आवश्यक छ ।’
नेपाल सरकारले हाल मुटु रोगका बिरामीहरूका लागि विशेष प्राथमिकता दिँदै आर्थिक प्याकेजसमेत ल्याएको भन्दै डा.मिश्रले त्यसको प्रशंसा गर्नुभयो । उहाँका अनुसार अहिले नेपालमा अधिकांश मुटु रोगहरूको उपचार गर्न सक्ने क्षमता विकास भइसकेको छ ।
प्रेसरका बिरामीमा सबैभन्दा ठुलो समस्या नियमित औषधि सेवन नगर्नुभएको उल्लेख गर्दै डा.मिश्रले स्थानीय तहबाटै जनचेतनामूलक तालिम र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । ‘प्रेसरको औषधि धेरै महँगो छैन,’ उहाँले भन्नुभयो, ‘तर नियमित रूपमा नखाइदिनाले अवस्था बिग्रन सक्छ । त्यसैले समयमा औषधि सेवन गर्न सबैलाई अनुरोध गर्दछु ।’ -नेपाल न्यूज बैंक