काठमाडौँ, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सत्तामा रहेका दलहरु काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गर्नुभएको छ ।
एकीकृत समाजवादीको ७६औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा (माओवादी केन्द्र)सम्मको आलोचना गर्नुभयो ।
‘यत्रो आन्दोलन चलिरहेको छ । निरो बाँसुरी बजाएर बस्नुभएको छ, कमरेड ओली । वैशाख ११ गते आइलभयू केपी बा भन्ने रे १ कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो र,’उहाँले अगाडि भन्नुभयो, ‘सारा संकटले देश डुब्दैछ । उनलाई नाम चाहिएको छ । एक लाख मान्छे जम्मा भएर ‘केपी बा’ भनिदिऊन् भन्ने अपेक्षा गर्नुभएको छ । त्यो तहमा पुग्ने नेताका लागि, यो तहको आकांक्षा हुनु देशको दुर्भाग्य होइन ?’
साथै उहाँले शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको बताउनुभयो । उहाँले देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गर्नुभयो ।
यसैगरी नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देश समाजवादी दिशातर्फ रुपान्तरण नहुँदा जनताहरुमा निराशा बढेको बताउनुभयो । उहाँले अहिले देशमा विभिन्न वर्ग र तहका जनताहरुमा असन्तुष्टि बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो देशमा जुन रुपान्तरण गर्नुपर्थ्यो त्यो भएको छैन । नयाँ ढंगले देशको स्थिति विश्लेषण हुनुपर्ने हो । नयाँ नीति, नियम निर्माण गर्नुपर्ने हो । विस्तारै यो देशलाई समाजवादी दिशातर्फ रुपान्तरण गर्नुपर्ने थियो तर त्यो कुराहरु केही पनि हुन सकेको छैन । जसका कारण जनताहरुमा निराशा बढेको छ, आक्रोश बढेको छ । र जनता विभिन्न आन्दोलनमा उत्रिन थालेका छन् । शिक्षकहरु आन्दोलनमा छन् । विभिन्न वर्गका जनताहरु अहिले आन्दोलनमा छन् । यो आन्दोलनको दायरा प्रत्येक दिन बढिरहेको छ । विभिन्न वर्ग, तह असन्तुष्ट भएका छन् ।’