- आकांक्षा धामी
काठमाडौँ, ८ वैशाख । हेमन्त कान्छा रसाइली अर्थात् सारंगी वादक । लोकप्रिय गायक । मौलिक गीतका सर्जक । कुशल संगीतकार । परिचय अनेक छन् । त्यसैले उहाँ बहुप्रतिभाशाली हुनुहुन्छ । तीमध्ये एउटा परिचय मिठो लाग्छ उहाँलाई–‘सारंगी वादक हेमन्त कान्छा रसाइली’ । उहाँको लगाव गायनमा थियो, भविष्य सारंगी बन्यो र सारथी पनि ।
उहाँले सारंगीको जगेर्ना गर्नुभएको छ भने सारंगीले उहाँको भविष्य जगेर्ना गरिदिएको छ । सारंगी जति रेट्छन्, उति तिखारिँदो छ भविष्य । भन्छन् ‘मेरो करिअरको सुरुवात गायनबाट भयो । तर, सफलताको श्रेय सारंगीलाई दिन्छु । मेरो चिनारी यही हो । मेरो साथी र जिन्दगी नै सारंगी हो ।’
हेमन्तले संघर्षका ती दिनहरु सम्झिए, जतिबेला उनीसँग केवल दुई विकल्प थिए । ०५८/५९ सालतिरको कुरा हो । एकदिन ठमेल बजारतिर डुल्दै थिए । सानैदेखि गीत÷संगीतमा लगाव राखेका उहाँको नजर सारंगीतिर पर्यो ।
चार सय रुपैयाँ तिरेर नयाँ सारंगी किने । कहिले रातको १२ बजेसम्म बजाउँथे त कहिले बिहान चारै बजे उठ्थे र समाउँथे सारंगी । तपस्या गरेजत्तिकै, लगाव झन् बढ्यो । आफूप्रतिको त्यो कठोर तपस्याले सारंगी प्रभावित भयो र उहाँलाई चिन्यो । तर, विडम्बना, हेमन्तले चिनेनन् ! गायकीको भूत उहाँमा सवार थियो ।
०६२/६३ सालतिर ‘काँचो सुन्तला’ गीतमा उहाँ आफैँले बजाउनुभएको थियो सारंगी । त्यसपछि २०/२५ वटा गीतमा बजाउनुभयो । त्यतिबेला अलिकति लाज लाग्यो । ‘धुन पो बिगारेँ’ कि भन्ने डर भयो, टुंगियो सारंगीसँगको यात्रा !
‘गायक नै बन्छु’ भन्ने अठोटका साथ यताउति भौतारिए, गाए पनि । गाएका सबै गीतबाट राम्रो प्रतिक्रिया त पाए तर सफल हुन सक्नुभएन । जति उहाँले सोचेका थिए । जिविकोपार्जन गर्नैै कठिन भयो ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘म सारंगी वादक कसरी भए यसको लामो कहानी छ । सारंगीप्रतिको लगाव, झुकाव, सारंगीले जितेको मन र धुनले लोभ्याएको मन साथै ति पलहरु अविश्मरणीय छन् । खासगरी म गायक नै बन्छु भनेर सांगीतिक क्षेत्रमा होमिएको मान्छे हुँ । म काठमाडौँ २०५४/५५ सालतिर आएको हुँ । पारिवारिक माहोल गायनमा चाहिँहोइन । बाजे, बुबा हाम्रो पुर्खा कसैले पनि सारंगी बजाउनु भएन । त्यसैले बाल्यकालमा गीत संगीतप्रति धेरै नै लगाव थियो । पहिला जब मैले क्यासेटमा सारंगीको धुन सुनेँ तब मात्र मलाई लोभ्यायो । व्यवसायिक रुपमा बजाउँछु भन्ने सोच थिएन । गायक नै बन्छु भनेर धेरै वर्ष म भौतारिए । दोहोरी साँझमा काम गरें । धेरै वर्षदेखि संघर्ष गर्दै आएँ । साथ, सहयोग एवम् लगानी कसैबाट मिल्न सकेन ।’
यसैगरी उहाँले भविष्य अन्धकार लाग्न थालेपछि हात लागे दुई विकल्प । सारंगी बजाउने या विदेश जाने । त्यसबेला सारंगी फेरि किनारा लाग्यो । रोजाईंमा पर्यो ‘वैदेशिक रोजगार’ ।
उहाँले संघर्षका कथाहरु सुनाउने क्रममा भन्दै जानुभयो–‘जापानमा भविष्य राम्रो छ’ भन्ने सुनेका थिएँ, त्यतै जाने तयारी थाले ।’ सोचेका थिए, ‘जापानमा सारंगी बजाएर अथवा सिकाएर भएपनि ज्यान पाल्छु ।’ तर, सोचेजस्तो भएन, पैसा फस्यो । ‘प्लान चौपट’ । न यता न उता १’ उहाँले भन्नुभयो, ‘म सँग नजिकको कम्पनी नभएका कारण र कुनै आधार नभएकाले गायक बन्न सकिन । दोहोरी साँझमा काम गर्दै आएको पैसाले एल्बम निकाल्ने साथै जिविकोपार्जन पनि गर्ने भन्दै अगाडि बढ्दै गए ।’
जापान जाने लहड २०६९/७०/७१ को बीचमा हो । गीत गाएर जिविकोपार्जन गर्न सकिँदैन, बाँच्न सकिँदैन र भविष्य निर्धारण हुँदैन भनेर विदेशिने सोचेको उहाँले बताउनुभयो ।
‘त्यसबेला जापानीज भाषा पनि सिकेँ । लाग्ने खर्च पनि जोहो गरेँ । तर दलालीहरुले पैसा हिनामिना गरे । भिसा पनि लागेन, त्यसपछि म हैरान भएँ,’ उहाँले विगत सुनाउनुभयो ।
हेमन्त कान्छाले सारंगीमार्फत् अहिलेसम्म १६ हजार गीतमा वाद्यवादन गरिसक्नुभएको छ । जसमा उनका धेरै सुपरहिट गीतहरु पनि पर्छन् । ‘सिक्दै जानेक्रममा मैले सम्राट आइडलका रुपमा झलकमान गन्दर्वलाई लिएँ । जसले मलाई यहाँसम्म पुर्यउन ठुलो मद्धत पुर्यायो । दुःखका दिन त छँदैछन् तर पनि सारंगी वादकका रुपमा १६ हजार गीतमा धुन दिए । जसमा धेरै सुपरहिट गीतहरु छन्,’ उहाँले अगाडि भन्नुभयो,‘सारंगी वादन कठिन काम हो । सिक्नका लागि तपस्या नै गर्नुपर्छ । गहिराइमा डुब्नुपर्छ । जोकोहीले सारंगी बजाउन सक्दैन ।’
यसैगरी हेमन्तले आफूले जस्तै सारंगी बजायो भने सारंगीको जगेर्ना गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सारंगी कहिल्यै नमर्ने बाजा हो । हामीले नबजाएसम्म, नसुनेसम्म यसको जगेर्ना हुँदैन । नयाँ पिँढीलाई प्रोत्साहन गर्नुपर्छ । यस्ता गीत र बाजाको संरक्षण यसै हुन्छ । सारंगीलाई राष्ट्रिय बाजा घोषणा गरेर राज्यले सारंगी वादकहरुलाई संरक्षण गर्न आवश्यक छ ।’
यसैगरी हेमन्त कान्छाले आफ्नो गरिखाने भाँडो भनेको सारंगी भएको बताउनुभयो । उहाँले नाङ्गो शरीर, भोको पेट र इच्छा चाहना पूरा गर्ने सारंगी नै आफ्नो जिन्दगी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मौलिक बाजा मादल, सनाइ, सारंगी सुनिरहनुभएकै छ । केही बाजाहरु लोप भइरहेका छन् । सारंगी पछिल्लो समय माथिल्लो स्तरमा आइसकेको छ । पहिला लोप हुने अवस्थामा पुगेको थियो । प्रत्येक गीत, प्रत्येक घरमा सारंगीको प्रयोग हुँदा अवस्था फेरिएको छ ।’
गीत गाउने आफ्नो सपना मात्र भएकाले यसलाई पार्ट टाइमका रुपमा लिएको उहाँले सुनाउनुभयो । ‘मेरो पेसा वा गरिखाने भाँडो भनेको सारंगी नै हो । मेरो नाङगो शरीर ढाक्ने, भोको पेट र इच्छा चाहना पूरा गर्ने यही हो,’ उहाँले भन्नुभयो ।
सुरुमा बजाएको ‘लै लै लै लै…सारंगी रोयो’ भन्ने गीत दिनेश राउतको निर्देशनमा र उदयराज पौडेलको एरेन्जरमा सारंगीको धुन दिएको र पछि चलचित्रमा बजाउन थालेको उहाँले बताउनुभयो ।
सङ्घर्षको समयमा सपोर्ट नगर्ने व्यक्तिहरुकै कारण आफू यहाँसम्म आइपुगेको हेमन्त गर्वका साथ भन्नुहुन्छ। सबैले इग्नोर गरेकाले थप मेहनत गर्ने सौभाग्य मिलेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सफलता पाउँछु भनेर काम गरिँदैन । कुनै पनि काम म त्यो ठाउँसम्म पुग्छु भनेर योजना बिना त चल्दैन । जीवन चल्न योजना चाहिन्छ । यतिनै गीतमा धुन भरौँला भन्ने थिएन । तर, कठोर संघर्ष गर्दै जाँदा हुँदोरहेछ । सङ्घर्षको समयमा सपोर्ट नगर्ने व्यक्तिहरुका कारण हालको अवस्थामा छु । किनभने सबैले वाह वाह गरेको भए, सपोर्ट सपोर्ट गर्ने र एल्बम निकाल्न सहयोग गरेको भए यहाँसम्म आइपुग्ने थिइन । जसले मलाई इग्नोर गर्नुभयो उहाँहरुकै कारण म यहाँ आइपुगेको छु ।’
हेमन्त कान्छा सारंगी वादकको रुपमा विदेशतिर जान नपाएको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सारंगी बादनमा भन्दा पनि गायनका लागि भर्खरै युके गए । धेरै पहिला दुबई गएको थिए । मेरो प्रतिभा प्रष्फुटन नभएर होला कि कन्सर्टहरुका लागि विदेशतिर जान पाएको छैन ।’ नेपाल न्यूज बैंक