काठमाडौँ, ३ वैशाख । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आफू कांग्रेस र कम्युनिस्ट गुणले नयाँ मान्छे भएको बताउनुभएको छ ।
बुधबार कांग्रेस नेता स्व.चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उहाँले राजनीतिक जीवनको सुरुवातमा कांग्रेस निकट रहेको हुनाले आफू कांग्रेस र कम्युनिस्ट दुवै भएको बताउनुभयो ।
‘शेरबहादुरलगायत साथीहरुलाई सुनाउन चाहान्छु म त सामान्तवाद निरङ्कुशता राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे त्यसैले ३३ सालसम्म म कांग्रेस निकट रहे,’ उहाँले भन्नुभयो ।
कांग्रेस र कम्युनिस्टहरु भनेको लोकतन्त्रको दुई हाँगा भएको भन्दै उहाँले कांग्रेस र कम्युनिस्टहरुले लिएको विचार अपुरो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसले निजी स्वतन्त्रका मात्र कुरा गर्ने र कम्युनिस्टहरुले समानतामा मात्र जोड दियो त्यो अपुरो थियो । तर, हुनुपर्ने निजी स्वतन्त्रता साथै समानतामा भन्ने मेरो बुझाई हो । त्यसैले अलिकति कांग्रेस, अलिकति कम्युनिस्ट हो त्यसैले म दुईवटै गुण भएको अलिकति अगाडि बढेको नयाँ मान्छे हो ।’
उहाँले चन्द्रप्रसाद न्यौपानेसँग लोकतान्त्रिक कुराहरू सिक्न पाएको पनि बताउनुभयो ।