शैलुङको जङ्गलमा रङ्गीचङ्गी गुराँस

13

रामेछाप, २८ चैत । ‘धर्तीको स्वर्ग’ भनेर चिनिने शैलुङ अहिले बेहुली जस्तै बनेको छ । शैलुङको जङ्गलमा फुलेका विभिन्न जातका गुराँसको कारण शैलुङ रङ्गीचङ्गी बनेको छ । नेपालमा पाइने ३१ प्रजातिका गुराँसमध्ये २१ भन्दा बढी जातका गुराँस शैलुङको जङ्गलमा पाइने स्थानीय दावासङ्बु शेर्पा बताउनुहुन्छ ।

शैलुङमा लालीगुराँस, चिमल लगायतका विभिन्न जातका गुराँस फुल्ने गर्दछन् । यहाँको जङ्गलमा चैत लागेपछि फुल्ने विभिन्न जातका गुराँस र चिमलले वैशाख महिनाभरि शैलुङको जङ्गललाई ढकमक्क बनाउँछ । यो सिजनमा शैलुङ घुम्न आउने पर्यटकका लागि गुराँसको फूल मुख्य आकर्षण हो । गुराँसका विभिन्न जातका फूलका साथै प्राकृतिक दृश्यावलोकन गर्न चाहनेका लागि शैलुङ भ्रमणको यो सिजन अति उपयुक्त सिजन हो ।

दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ जान अहिले रामेछाप र दोलखा दुवैतर्फबाट सडक छ । दोलखाको ढुङ्गे, देउराली हुँदै शैलुङ पुग्न सकिन्छ भने रामेछापको दोरम्बा हुँदै खोलाखर्क निस्किएर पनि शैलुङ पुग्न सकिन्छ ।

काठमाडौँबाट रामेछापको बाटो प्रयोग गरी शैलुङ जान चाहनेले दुईवटा बाटो प्रयोग गर्न सक्छन् । एउटा काभ्रेको चौँरी हुँदै रामेछापको लखनपुर निस्किएर शैलुङ जान सकिन्छ भने अर्को बिपी मार्गबाट सित्खाको पुल तरेर खाँडादेवी गाउँपालिकाको गोगनपानी निस्किएपछि त्यहाँबाट गाल्पा, दोरम्बा हुँदै शैलुङ पुग्न सकिन्छ ।

रामेछापको सदरमुकाम मन्थलीबाट पनि गोगनपानी, गाल्पा, दोरम्बा हुँदै शैलुङ जान सकिन्छ । त्यस्तै, मन्थलीबाट फुलासी, डडुवा कुखुरे आहाल हुँदै दोरम्बा निस्किएर पनि शैलुङ पुग्न सकिन्छ ।

धार्मिक हिसाबले शैलुङ हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल हो । हिन्दुहरू यस क्षेत्रलाई शिवको तपोभूमिको रूपमा लिन्छन् भने बौद्धधर्मावलम्बी बुद्धले पाइला टेकेको ठाउँको रूपमा लिने गर्छन् । किंवदन्तीअनुसार सङ्गेमारमति बुद्धले शैलुङमा आइ तपस्या गरेर ज्ञान प्राप्त गरेका थिए । स्थानीय तामाङ भाषामा थुम्कालाई लुङ भनिने भएकोले सो क्षेत्रमा सयवटा थुम्का रहेकाले शयलुङ हुँदै शैलुङ नाम रहन गएको भन्ने भनाइ छ ।

सामुद्रिक सतहबाट ३२ भन्दा माथिको उचाइमा रहेको शैलुङ प्राकृतिक रूपमा बनेका सयौँ थुम्काले सिँगारिएको छ । यहाँबाट देखिने हिमश्रृंखलाको दृश्य निक्कै मनमोहक छ ।

सडक सञ्जालमा जोडिएपछि अहिले शैलुङ घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढेको छ । रामेछापको खोलाखार्क, दोलखाको कालापानी लगायतको क्षेत्रमा पर्यटकलाई बस्नका लागि सुविधा सम्पन्न होटेलहरू पनि बनेकाले शैलुङको यात्रा सहज बनेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...