काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुने आन्दोलनमा भएको हिंसात्मक घटनामा संलग्न जोकोहीलाई कडा प्रशासनिक कारबाही गरिने बताउनुभएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले घटनामा संलग्न जुनसुकै कभरमा बसे पनि कडा प्रशासनिक कारबाही गर्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो,‘शुक्रबार तीनकुनेमा भएको शान्तिपूर्ण आन्दोलन भनिएकोमा आपराधिक घटना सुरु गरियो । आगजनी गरियो । । मानिसलाई घरभित्रै थुनेर बाहरिबाट ताल्चा लगाएर जिउँदै जलाएर हत्या गरियो । प्रहरीको बन्दुक खोस्ने, कुटपिट गर्ने ढुंगामुडा, तोडफोड, लुटपात जस्ता अपराधिक घटना गरियो । अन्य आतंककारी काम समेत भयो । यी सबै निन्दनीय र खेलजनक क्रियाकलाप हुन् । यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होस्, जुनसुकै कभरमा किन नहुन कडा प्रशासनिक कारबाही हुन्छ ।’
साथै उहाँले यसका योजनाकार को हुन् र को को संलग्न छन् भन्ने विषयमा सरकारले छानबिन र अनुसन्धान गरिरहेको पनि संसदमा जानकारी गराउनुभयो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले समाज विथोल्न लागिपरेका दुर्गा प्रसाईलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोकेर हिंसात्मक क्रियाकलापको लागि खटाएको पनि उहाँको भनाइ छ ।
साथै ज्ञानेन्द्रले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ ।
उहाँले भन्नुभयो,‘यसका योजनाकार को हुन् र को को संलग्न छन् । सरकारले यस विषयमा छानबिन र अनुसन्धान गरिरहेको छ । चैत्र १४ गते समाज विथोल्न लागिपरेका एकजना व्यक्तिलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोक्नुभयो र हिंसात्मक वारका लागि खटाउनुभयो । प्रारम्भिक अध्ययनले स्पष्ट पार्छ । पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको छ ।’