मुगु, १८ फागुन । हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड अन्ततः सञ्चालनमा आएको छ । यो सडकखण्ड भुलभुले र सात मोड क्षेत्रमा हिउँ जम्नुका साथै पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको थियो ।
सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने पर्यटकीय मार्ग प्रभावित भएको थियो । तर, सडक डिभिजन जुम्ला, प्रहरी, र स्थानीयको सक्रियताले सडक खुला भएको छ ।
मेसिन र जनशक्ति परिचालन गरी भुलभुले, सात मोड र जिअ भिड क्षेत्रको हिउँ र पहिरो हटाइएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताउनुभयो ।
उहाँका अनुसार यो सडक खुलेसँगै मुगुका बासिन्दा र रारा जाने पर्यटकलाई आवतजावतमा ठुलो सहजता भएको छ ।
प्रहरी चौकी गोठिज्युलाबाट खटिएको टोली र स्थानीयले जिअदेखि भुलभुलेसम्मको करिब ४ किलोमिटर क्षेत्रमा पहिरो पन्छाउन महत्त्वपूर्ण योगदान गरेका थिए ।
सडक सुचारु भएपछि पर्यटक र स्थानीयलाई ठुलो राहत मिलेको प्रहरी नायब उपरिक्षक छेदिलाल कामतीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो टोलीले रातदिन नभनी काम गरेको छ ।’
सडक अवरुद्ध हुँदा रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू समस्यामा परेका थिए । सडक सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि र स्थानीयको दैनिकी सहज बनेको छ ।
जुम्ला र मुगुका प्रहरी, प्रशासन, सडक डिभिजन कायालयको पहलमा बन्दा सडकमा २ फुटभन्दा बढी आएको हिउँ पन्छाएर सडक सञ्चालनमा आएको मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताउनुभयो ।