काठमाडौँ, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल परिस्थितिमा पनि सत्य र न्यायप्रति अटल रहेन प्रतिवद्धता जनाउनुभएको छ ।
बुधबार चाइना मिडिया ग्रुपसँगको एक विशेष अन्तर्वार्तामा उहाँले आफ्नो राजनीतिक करियर र व्यक्तिगत जीवनका बारे खुलेर आफ्ना धारणाहरु राख्नुभएको थियो । त्यसक्रममा उहाँले किशोर अवस्थामा आफू हजुरआमा र अन्य अभिभावकहरू साथै शिक्षकहरूबाट सत्यको अनुसरण गर्नुपर्छ सिकेको उल्लेख गर्नुभएको छ ।
‘हरेक पटक सत्यको जित हुँदैन, तर अन्त्यमा सत्यको जित हुन्छ,’ उहाँले भन्नुभयो । अन्तरवार्ताका क्रममा ओलीले आफूले राजनीतिक यात्रा सुरु गर्दा निकै अन्धकारपूर्ण अवस्था रहेको र संघर्ष गर्नुपरेको एवम् संघर्षको नेतृत्व गरेपछि राजनीतिक परिवर्तन ल्याएको उल्लेख गर्नुभयो ।
सो क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रस्ताव गरेका तीनवटा विश्वव्यापी पहलको अन्तरसम्बन्ध विश्व शान्ति र सुरक्षा हासिल गर्नु रहेकाले त्यसले आर्थिक विकासको महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले विश्वमा शान्ति र समृद्धि अपरिहार्य भएको उल्लेख गर्नुभयो ।
आर्थिक विकासका लागि आर्थिक सुरक्षा जरुरी छ । भोका जनताले केही गर्न सक्दैनन् । आर्थिक समृद्धि पहिलो हो। हामी जनतालाई खुसी बनाउन चाहन्छौँ । सुखी, संसारका प्रत्येक व्यक्तिले आफू सुरक्षित छ भनी महसुस गर्नुपर्छ । समाजमा समानता हुनुपर्छ । त्यसका लागि चीनको प्रयास सकरात्मक छ,’ अन्तरवार्ताका क्रममा उहाँले भन्नुभयो ।
त्यस्तै, उहाँले साझा मूल्यमान्यता र समझदारीका आधारमा एकताबद्ध भएर नेपाल–चीन मित्रता अझै प्रगाढ बनाउनुपर्ने उल्लेख गर्नुभयो । ‘हाम्रो नारा र नीति ‘सबैसँग मित्रता र कसैसँग शत्रुता छैन’भन्ने हो । नेपाल सार्वभौम र राजनीतिक रूपमा स्वतन्त्र देश हो । हामी हाम्रो आन्तरिक र बाह्य नीतिहरू निर्णय गर्न स्वतन्त्र छौं ,’ उहाँले भन्नुभयो ।
नेपाल र चीनको मित्रता पुरानो भएको उल्लेख गर्दै ओलीले दुई देशबीचको मित्रता निरन्तर विकसित, गहिरो, फराकिलो हुँदै गइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले चीनको विकास पूर्ण र व्यापक बन्दै गएकाले शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलगायत विभिन्न क्षेत्रमा चीनले बहुआयामिक सफलता हासिल गरेको औंल्याउनुभयो ।
अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको ढाँचाभित्र नेपालले गरेको सम्झौताले दुई देशको विकास रणनीतिको प्रतिवद्धतालाई सुदृढ बनाउने पनि बताउनुभयो ।
‘यस पटक हामीले बिआरआई कार्यान्वयन ढाँचामा हस्ताक्षर गर्यौँ । र यो एक धेरै महत्त्वपूर्ण सम्झौता हो, जुन छाता सम्झौता जस्तै हो । जसअन्तर्गत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, सबै क्षेत्रहरू समेट्ने धेरै परियोजनाहरू हुनेछन् । र स्वास्थ्य, र पूर्वाधार, विकास क्षेत्र पनि समेटिनेछन्,’ उहाँले भन्नुभयो ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ओलीले गत सोमबारदेखि चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किसक्नुभएको छ । भ्रमणका क्रममा उहाँले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सन् २०२५ मा पूरा हुने भएकाले सो अवसरमा विशेष समारोहको आयोजना गरिने पनि बताउनुभयो ।