काठमाडौँ, १९ मंसिर । काठमाडौँको केशर महलमा केशर पुस्तकालय, नेपालका राणा प्रधानमन्त्री केशर शमशेर राणाद्वारा १९४९ मा स्थापना गरिएको हो । पुस्तकालय ऐतिहासिक र सांस्कृतिक महत्त्वको सार्वजनिक पुस्तकालयको रूपमा परिचित छ । नेपाली साहित्य, इतिहास, संस्कृति, र पुरातात्त्विक अध्ययनका लागि महत्त्वपूर्ण स्रोत मानिने केशर पुस्तकालयमा प्राचीन पाण्डुलिपिहरू, ऐतिहासिक दस्तावेजहरू, र नेपाली तथा विदेशी भाषाका पुस्तकहरूको विशाल संग्रह छ ।
यसमा विशेषतः पुराना हस्तलिखित ग्रन्थहरू, ऐतिहासिक सामग्री, दुर्लभ नेपाली साहित्यिक कृतिहरू, तथा भारत, चीन र युरोपका पुराना पुस्तकहरूको संग्रह उपलब्ध छन् । तथापि, २०७२ सालको विनाशकारी भूकम्पले पुस्तकालयको संरचनालाई तहसनहस बनाएको थियो । त्यसपछि यसको पुनर्निर्माण र संरक्षणका लागि विभिन्न पहलहरू गरिएका छन् । अहिलेको केशर पुस्तकालय नयाँ प्रविधि र संरचनात्मक परिमार्जनसहित स्थापित छ । यसै सन्दर्भमा, नेपाल न्यूज बैंकका तर्फबाट सुस्मिता बानियाँले केशर पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलासँग पुस्तकालयको वर्तमान अवस्था, भएका परिवर्तनहरू र संरक्षणका लागि भएका प्रयासका विषयमा कुराकानी गर्नुभएको छ ।
केशर महल पुस्तकालयको भौतिक संरचनामा परिवर्तन आएको छ । पुस्तकालय सञ्चालन गर्न र पाठकहरुलाई यसले कस्तो मद्धत पुर्याएको छ ?
भूकम्पबाट क्षतिग्रस्त बनेको संरचना निर्माणकै क्रममा छ, पूरा भइसकेकै छैन । हस्तान्तरण गरिएकै छैन । ठेक्काको समयावधि यो वर्षभरि नै छ । यसको पुनर्निर्माणको सम्झौता २०८१ चैत मसान्तसम्म हो । प्राप्त जानकारी अनुसार वैशाखको १ गते चाहिँ सबै काम पूरा गरेर हामीलाई हस्तान्तरण गर्ने कुरा छ । त्यसपछि सेवा दिन सहज हुन्छ र पाठकहरुलाई पनि बढीभन्दा बढी पुस्ताकलय प्रयोग गर्ने अवसर मिल्छ । अहिले भने सामान्य अवस्थामै चल्दै छ ।
केशर पुस्तकालय एउटा ऐतिहासिक म्युजियम पनि हो । यसको अवलोकनका लागि नयाँ के व्यवस्था छ ?
विसं. २०७२को भुकम्प अगाडि पुस्ताकलय र संग्रालय दुवै थियो । तर, भूकम्पमा यहाँका भवनहरु भत्किएपछि प्रवलीकरण गरी अहिले यहाँ सरेका हौँ । तथापि, हामीले त्यतिखेरका पुरातात्त्विक सामग्री सम्भव भएसम्म पुरानो केशरमहल जस्तो अवस्थामा थियो त्यस्तै अवस्थामा राख्ने कोसिस गरिरहेका छौँ । तर, अलिकति प्रावधिक अफ्ठ्यारो छ । केशरमहल भवन प्रवलीकरण गर्दा भित्तामा चाहिँ फलामको जाली र रडहरु राखिएको छ । त्यसैले जहाँ पाए त्यहीँ ड्रिल गर्न सक्दैनौँ । कतिपय सामग्रीहरु चाहिँ झुन्डाउनुपर्ने छ । त्यो साम्रगीहरुका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने छ । वैकल्पिक व्यवस्था गर्दा पुरानो जस्तो थियो त्यस्तै चाहिँ गर्न नसकिने होकी भन्ने छ । प्राविधिक अफ्ठ्यारो छ । त्यस्तो भयो भने महत्त्वपूर्ण सामग्रीहरुलाई एउटा हलमा ग्यालरीको रुपमा प्रयोग गरी त्यसैलाई पुस्तकालय र संग्रालयका रुपमा सेवा दिने सोच छ ।
पुस्तकालयको ऐतिहासिक पक्षबारे केही जानकारी छ ?
केशर महल पुरातात्तिव्क महत्त्वको भवन हो । करिब एकसय वर्ष पुरानो भइसकेको भएर यस भवनलाई विनिर्माण गरेर, नयाँ भवन बनाउन नमिलेकाले यसलाई पुरानो भवन जस्तो छ त्यस्तै गरी प्रवलीकरण गरिएको छ । केशर शम्शेर विक्रम सम्वत् १९४८ साल पुषमा जन्मनुभएको रहेछ र उहाँ १६ वर्षको हुँदा सन् १९०६ मा बुवासँग बेलायत जानुभएको रहेछ । सो समयमा बेलायतमा पुस्ताकलय संग्रालयको व्यवस्था देखेपछि नेपालमा पनि गर्न पाए हुन्थ्यो भन्ने लागेर सन् १९०९ मा बेलायतबाट नेपाल उहाँ फर्किनुभएको इतिहास छ । बेलायतबाट फर्किएपछि बेलायतमा प्रकाशित पुस्तकहरु पनि नेपाल ल्याउने प्रबन्ध मिलाउनु भएको र पछि यसलाई पुस्ताकालय र संग्रालयका रुपमा विकसित गर्नुभएको पाइन्छ ।
उहाँको देहावसनपछि उहाँकै परिवारले नेपाल सरकारलाई महल २०२४ सालमा हस्तान्तरण गर्नुभएको रहेछ । २०२६ सालदेखि पुस्कालय केशर शम्शेरकै नाममा केशर पुस्ताकलयका रुपमा सञ्चालनमा ल्याइएको हो । अहिले केशर पुस्ताकलयमा ६५ हजारभन्दा बढी पुस्तकहरु छन् । त्यसमा केशर शम्शेर आफैँले त्यतिबेला संकलन गर्नुभएका लगभग २८ हजार पुस्तकहरु छन् । रसबै पुस्तक केशरशम्शेरले सबै पढिसक्नुभएको र कुन पुस्तकमा के छ भनेर पनि उहाँलाई जानकारी थियो भन्ने गरिन्छ । त्यसैले त्यो समयमा केशर शम्शेरलाई ‘इन्साइकोपेडिया’ पनि भन्ने गरिन्थ्यो ।
तपाईंले केशर शम्शेरका बारेमा कुनै रोचक कुरा वा किस्सा सुन्नुभएको छ ?
केशर शम्शेर ज्योतिष पनि हुनुहुन्थ्यो । उहाँलाई लगभग आफ्नो (केशर शम्शेर आफ्नो) स्वर्गारोहण हुन्छ भन्ने पनि पहिल्यै थाहा थियो भनेर भन्ने गरिन्छ । उहाँले भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई असाध्यै मान्नुहुन्थ्यो रे । उहाँले पुस्ताकालयमा बसेर पढिरहँदा अकस्मात जवाहरलाल नेहरुको मृत्यु भएको समाचार सुन्नु भएपछि एक खालको झड्का लागेको र उहाँ बिरामी हुनुभएको थियो रे । बिरामी भएको करिब सात आठ दिनपछि उहाँको देहावसन भएको भनिन्छ । केशर शम्शेर आफैँ पनि अध्यनशील भएकाले जवाहरलाल नेहरुको सिद्धान्तलाई मान्नुहुन्थ्यो ।
उहाँ बेलायत गएर आएपछि पुस्ताकलय बनाएको, नेहरुको मृत्युको खबरले आठ दिनसम्म बिरामी पनि पर्नुभएको कुरा गर्नुभयो । वास्तवमा उहाँले पुस्तकालय आफू पढ्का लागि बनाउनुभएको हो कि कोहीबाट प्रभावित भएर बनाउनुभएको हो, के लाग्छ ?
खासमा कुरा चाहिँ के हो भने केशर शम्शेर त्यतिबेलाको राणा परिवारको प्रधानमन्त्रीको सुपत्र भएर जन्मनुभयो । तथापि, पुस्ताकलय स्थापना गर्नको लागि पैसा कहाँबाट ल्याउने भन्ने समस्या हुँदा केशर पुस्ताकलय र स्वप्न बगैँचा बनाउनका लागि तिहारमा पारिवारिक जुवा खेल्दा तीन लाख रुपैयाँ जित्नुभएछ । र त्यहीँ पैसाबाट केशर पुस्ताकलय बनाउनु भएको भनिन्छ । उहाँमा पुस्तकालय खोल्नुपर्छ, अध्ययन गर्नुपर्छ, इतिहास जोगाउनुपर्छ भन्ने चेत थिएछ । सोही बेला उहाँले संकलन गर्नुभएको ११ सय वर्षभन्दा पुरानो पुस्तक अहिले यहाँ संग्रहित छ । हस्तलिखित ग्रन्थहरु अहिले पनि सुरक्षित छन् ।
कुन पुस्तक हो त्यो ?
एघार सय ५० वर्ष पुरानो हस्तलिखित पुस्तक छ–सुश्रुतसंहिता । सुश्रुतसंहिता आयुर्वेद एवं शल्य चिकित्साको प्राचीन संस्कृत ग्रन्थ हो । यूनेस्कोले यसलाई मेमोरी अफ द वर्ल्डमा पनि सन् २०१३ मा दर्ता गरेको छ ।
त्यसो भए पुस्तक र दस्तावेजहरुको संरक्षणका लागि कस्तो प्रयास भइरहेको छ ?
यहाँ हस्तलिखित ग्रन्थहरु पनि छन् । यी सबै ऐतिहासिक महत्त्वका हुन् । तिनीहरुलाई पुस्तकालयले अहिलेसम्म संरक्षण र संवर्द्धन गरेर राखेको छ । कतिपय कुराहरुलाई हामीले प्रकाशन गर्न मिल्छ । कतिपय कुराहरु पुस्ताकलयको नितान्त सम्पत्ति हुन् । त्यसैले हामीले राज्यको कानुन, प्रतिलिपि अधिकार लगायतले दिएको परिधिमा बसेर के के गर्न सक्छौ त्यो काम गर्न तयार छौँ ।
केशरमहल आफैँमा पुरातात्त्विक भवन हो । यसको मौलिकता जोगाउनका लागि कालिगढ र इन्जिनियरहरु विदेशबाट झिकाइएको भन्ने चर्चा छ, खासमा के हो ?
केशर महल र सिंहदरबारको डिजाइन गर्ने राणाहरुका इन्जिनियर कुमारनरसिंह राणा हुनुहुन्थ्यो । उहाँहरुकै टिमले डिजाइन गर्नुभएको हो । यो सानो भएपनि बेलायतको राजदरबार हेरेर बनाइएको भनिन्छ । त्यसैले अहिले प्रवलिकरण गर्दा केही परिर्वतन गरिएको छैन । सकेसम्म त्यहीँ चिज राख्न खोजिएको छ । आर्किटेक्चर भने नेपाली नै हुन् । केशर शम्शेरज्यू कै पालामा बनेको भएर त्यतिबेलाको प्रविधिलाई त्यतिकै परिवर्तन गर्न सकिँदैन । अहिले नयाँ धेरै केही थपेको छैन, पुरानै सेपमा छ । पुरातात्त्विक महत्त्वको भएकाले पनि यसमा हामीले केही गर्न मिल्दैन पनि ।
अहिलेको केशर महलमा नयाँ के थपियो त ?
पुराना काठहरु प्रयोग गर्न मिल्ने थिएनन् । त्यसमा हामीले नयाँ काठहरु थप्यौँ । फलामहरु थपिएको छ, रडहरु थपिएको छ । अरु त केही नयाँ प्रयोग छैन । त्यतिबेला चुनासर्कि प्रयोग भएको थियो अहिले पनि त्यहीँ नै प्रयोग गरिएको छ ।
पुनर्निर्माण गर्दा प्रयोग भएका सामग्री र गुणस्तरका विषयमा प्रश्नहरु उठेका छन् नि !
यसमा प्रश्न उठ्नुपर्ने जस्तो लाग्दैन । स्थानीय प्रविधि यहीँका प्रयोग गरेका छौँ । कतिपय नेपालका हुन् । अधिकांश सामग्रीहरु आयात गरिएको छ । कार्नेसका कुराहरु भारतबाट ल्याइएको हो । हामीले डिजाइन पठाएका थियौँ ।
पुस्तकालयमा दैनिक आगन्तुकको संख्या कति छ ?
दैनिक करिब एक सय जनाभन्दा बढी आउनुहुन्छ ।
पछिल्लो समय प्रविधिको प्रयोग बढ्दो छ । पुस्तकालयसम्म पुगेर अध्ययन गर्ने वा पठन संस्कृतिको अवस्था कस्तो छ ?
पठन संस्कृतिको कुरा गर्दा अहिले छापा माध्यमबाट पढ्ने, छापिएका पुस्तक तथा पत्रपत्रिकाहरु पढ्नेहरुको संख्या घटेको छ । अहिले पत्रिकाहरु पनि पहिला जुन रेसियोमा प्रकाशन हुन्थ्यो अहिले कतिपयको प्रकाशन नै बन्द भएको अवस्था छ । पहिला घरघरमा पुग्ने पत्रिकाको संख्या अहिले अलि कम भएको छ । यसरी हेर्दा छापा माध्यम कम भएको छ । तर, अर्कोतर्फ छापामा कम भएको संख्या विद्युतीय माध्यममा सिफ्ट भएको छ ।
त्यसोभए डिजिटल लाइब्रेरीको बारेमा सोच्नुभएको छ ?
हामीले विद्युतीय लाइब्रेरीको विकास गर्नेतर्फ योजना बनाएका छौँ । अर्थात्, घरमै बसेर मोबाइल वा ल्यापटबाट पढ्ने वातावरण विकास गर्नपर्ने भएको छ । त्यसको प्रारम्भिक काम नेपाल सरकारले विशेषतः शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले डिजिटल लाइब्रेरीकोे प्रारम्भिक खाका तयार गरेको छ । एसियाली विकास बैंकको प्राविधिक सहयोगमा, कोरियाली सरकारको आर्थिक अनुदान र युनेस्कोको पनि केही प्राविधिक सहयोगमा, केशर पुस्ताकलय, राष्ट्रिय पुस्ताकलय, डिल्लीरमण रेग्मी पुस्ताकलयमा रहेका महत्त्वपूर्ण पुस्तक तथा दस्तावेजहरुलाई डिजिटाइजेसन गर्ने र डिजिटलाइज गरिएका दस्तावेजहरुलाई डिजिटल लाइब्रेरीमा राख्ने कुरा भएको छ । संँगसँगै एउटा राष्ट्रिय विद्युतीय पुस्तकालय बनाउने भनेर परियोजना सुरु भएको छ । त्यसको प्रारम्भिक काम पनि सुरु भएको छ । निकट भविष्यमा केशर पुस्ताकालयले डिजिटाइजड् गर्नुपर्ने पुस्तकहरु कुन कुन छन् भनेर पहिचान गर्नुपर्ने छ । किनभने, सबै पुस्तकहरु गर्नु पर्दैन । कहीँ न कहीँबाट पहिचान भइसकेका छन् । त्यसैले डिजिटल लाइब्रेरीमा हामी उन्मुख छौँ ।
पुस्तकालयलाई विकास समितिअन्तर्गत लैजाने चर्चा पनि थियो । के भयो ?
चर्चा भएको हो । तर, पुस्ताकलय अहिले नेपाल सरकारअन्तर्गत नै सञ्चालन भइरहेको छ । अहिलेलाई केशर पुस्तकालय विकास समिति अन्तर्गत लैजाने सोच छैन ।
समितिअन्तर्गत लैजानुपर्ने जरुरी छैन त्यसोभए ?
विकास समिति हुँदा सशक्त ढंगले चल्न सकेन भने कर्मचारीमा एक खालको नैराश्यता पैदा हुन्छ । विकास समितिअन्तर्गत हुँदा सरकारले विकास समितिलाई आफैँ आर्जन गरेर आफैँ धानिन सक्नुपर्छ भन्छ । यो पुस्तकालयलाई विकास समिति बनायो भने आफैँ आयआर्जन गरेर आफैँ सस्टेन हुन समस्या पर्छ । छापाको पठन वा अध्ययन घटिरहेको बेलामा पाठक आउँछन र केही शुल्क दिएर पढ्छन भन्ने निश्चित छैन । निःशुल्क हुँदा त पाठक पाउन गाह्रो परिरहेको छ । त्यसैले भोलि विकास समिति भइसकेपछि नियमित सेवा दिन हामी सक्छौ कि सक्दैनौँ ? नियमित स्रोतको व्यवस्था हुन्छ कि हुँदैन लगायतका कुराहरु निश्चित नगरी विकास समितिमा गयौँ भने दुर्घटना हुनसक्छ । त्यसैले केशर पुस्तकालय विकास समितिमा जानु हुँदैन ।
तपाईं भर्खरै प्रमुखको जिम्मेवारीमा आउनुभएको छ । केशर पुस्ताकलयमा केही नयाँ योजनाहरु छन् ?
निकट भविष्यमा समय विस्तार गर्ने र योजनाहरु बनाएर काम गर्ने छौँ । जाडोेको समयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म, गर्मीको समयमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पुस्तकालय खोल्ने योजना बनाइरहेका छौँ ।
पुस्तकालयसँगै रहेको स्वप्न बगैंचा पनि केशर महलकै मातहतमै सञ्चालित हो ?
छैन । स्वप्न बगैँचा विकास समितिअन्तर्गत सञ्चालन भइरहेको छ । स्वप्न बगैँचा केशर शम्शेरले केशर पुस्ताकलयसँगै स्थापन गर्नुभएको हो । स्वप्न बगैँचामा हिमाल, पहाड र तराईका फूलहरु छन् । नेपालका मात्रै नभएर युरोपियन देशहरुमा फूल्ने फूलहरु पनि छन् । बगैँचाको आफ्नै ऐतिहासिक र पुरातात्विक महत्त्व छ ।