काठमाडौँ, ३ मंसिर । सरोज बानियाँ युवा तथा सामाजिक अभियन्ता हुनुहुन्छ । नेपाल युवा परिषद्का संस्थापक एवम् अध्यक्ष समेत रहनुभएका बानियाँ विगत १५ वर्षदेखि युवाहरुको मुद्दामा काम गरिरहनुभएको छ । नेपालका सात प्रदेश र ७७ वटै जिल्लामा संस्थाको स.जाल विस्तार गरेर युवाहरुमा उद्यमशीलता, नेतृत्व विकास, सीपमूलक कार्य, सूचना प्रविधिलगायतका क्षेत्रमा काम गरिरहेका अध्यक्ष बानियाँँसँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।
नेपाल युवा परिषद्ले युवाहरुको हक अधिकारका लागि के कस्ता कार्यक्रमहरु ल्याएको छ ?
देशमा भएका युवालाई सही सदुपयोग गर्न नसक्नु नै विडम्वडापूर्ण छ । सबैखाले विकास, प्रविधि र विविध खालका आयमहरु परिवर्तन अथवा विकासको लागि युवाको सहभागिता लिन नसक्दा राज्य पछाडि पर्छ भन्ने हामीले बुझ्नुपर्छ । युवामाथि बाध्यताले होइन रहरले लगानी गर्न सक्यो भने आगामी भविष्य राम्रो बनाउन सक्छौ भन्ने सोच पनि राख्नुपर्छ । विशेषगरी तीनै तहका सरकारले यसलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरा अपिल गर्न चाहन्छु ।
हामीले युवाको सबालमा के गरिरहेका छौँ भन्दा पनि युवा देशका वर्तमान र भविष्यका पनि कर्णधार र मेरुदण्ड हुन् । सबैभन्दा पहिला शिक्षा र उद्यमशिलतालगायत सबै कुरामा युवा सुसुचित हुनुपर्छ । युवाले देशमा भविष्य र अवसर देख्नुपर्छ भनेर विशेषगरी राष्ट्रिय स्तरमा राष्ट्रिय युवा सम्मेलन, प्रदेश स्तरमा प्रदेश युवा सम्मेलन र हरेक वर्ष एसियाली राष्ट्रहरुको सहभागितामा एसियन सम्मेलन पनि गर्ने गरेका छौँ ।
हामीले पहिला युवालाई जागरण गर्न जरुरी छ । युवाहरु नेपालमा जन्मिसकेपछि देश, राष्ट्र र समाजप्रति ठुलो अपेक्षा छ । अवसर प्राप्त गर्नका लागि निकै मेहनत, अध्ययन आवश्यक हुन्छ, भनेर पनि युवाहरुलाई तयार गर्ने गरेका छौँ ।
पछिल्लो समय देशमा युवाहरु बस्न नचाहेको अवस्था छ, यो अवस्था रोक्नका लागि कस्ता कार्यक्रमहरु आवश्यक पर्छ ?
यसका लागि युवाहरुलाई शिक्षित बनाउन जरुरी छ । युवाहरुलाई नेपाल भनेको अवसरको देश हो भनेर देखाउन सक्नुपर्छ । हामी त्यही अभियानमा छौँ । हुनत हाम्रोजस्तो युवा संस्था अथवा कुनै एउटा समूहले मात्र गरेर हुने काम होइन । राज्यले यसलाई महसुस गर्नुपर्छ । यसको लागि सबैभन्दा पहिला रोजगारीको सुनिश्चितता गर्न जरुरी छ । विकसित मुलुकहरुमा व्यवस्था राम्रो छ त्यही भएर युवाहरु जाने गरेका छन् । यसका साथै देशमा राजनीतिले गर्दा पनि युवाहरुमा निराशा छाएको छ । नीति निर्माण गर्ने ठाउँमा बस्ने विशेषगरी नीति बनाउने जो सत्तामा हुनुहुन्छ उहाँहरुलाई एउटा अपिल के हो भने युवाहरु बाहिरिनुमा अहिलेको लागि राजनीतिको लागि फाइदा जस्तो देखिन्छ । किनभने प्रश्न सोध्नसक्ने र काम गर्नसक्ने युवाहरु विदेशिरहेका छन् । जसले गर्दा राजनीतिक दलहरुले उत्तर दिनु परेको छैन ।
तर, देशको लागि नै ठुलो दुर्भाग्य हो । कुनै पनि मुलुकको भौतिक र आर्थिक विकास त्यती बेला मात्र भएको छ जुनबेला देशमा युवाको जनसंख्या धेरै भएको छ । हामीसँग संख्याको हिसाबमा धेरै नै युवाहरु छन् । यो भनेको नेपालको लागि अवसर हो । यस्तो अवसरलाई सदुपयोग गर्न नसक्नु भनेको हाम्रो बिडम्बना र दुर्भाग्य हो । यस्तो बेला सरकारले युवालाई उत्पादनमूलक कुराहरुमा जोड्न सक्नुपर्ने थियो ।
सरकारले अहिले कुनैपनि दुईमत नराखि कृषि, सूचना प्रविधि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर युवालाई जोड्ने काम गर्ने हो भने विदेश जाने संख्या घट्न सक्छ । यस विषयमा राज्यले चिन्ता नगर्ने हो भने आगामी दिनमा अप्ठयारो पर्ने निश्चित छ । देश, विकास, समृद्धि र परिवर्तनको लागि भन्ने विषयमा हामी चिन्तित भइरहेका छौँ ।
देशको आधा जनसंख्या नै युवा भएको मुलुकमा योजना, भइरहेका काम र कार्यान्वयनको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
युवा मन्त्रालय स्थापना भएका केही वर्षमा रचनात्मक काम भएका थिए । तर वास्तवमा भन्नु पर्दा पछिल्लो समय केही रचनात्मक काम भएका छैनन् । किनभने राष्ट्रिय युवा परिषद् नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको मातहतमा स्थापित भएको युवाहरुको सबैभन्दा माथिल्लो तहको संस्था हो । त्यसलाई हामीले मान्नु पर्छ । तर, नेतृत्वदाही भूमिकामा रहने व्यक्तित्वहरुले त्यसलाई राम्रो तरिकाले बुझ्न नसक्दा दुरदराजका कर्णाली, सुदुर र मधेस जस्ता ठाँउका युवाहरुलाई जोड्न सकिरहेको छैन । त्यहाँको माटो र भूगोल सुहाउँदो, युवाको परिवेश सुहाउँदो जनचेतनात्मक कार्यक्रम, प्रशिक्षणहरु लैजान नसक्नु बिडम्बना छ । बजेट पनि घट्दो अवस्थामा छ । आएको बजेट पनि तलब भत्तामा खर्च हुने परिपाटी छ । यसलाई अलि कम गर्नुपर्छ । प्रविधिसँग जोड्नु पर्छ, सीपमूलक तालिमहरु गर्नुपर्छ । राष्ट्रिय युवा परिषद्ले सही ढंगबाट सही दिशा निर्देशन गर्न नसकेका कारणले प्रतिनिधित्व हुन नसकेको हो । यसलाई हामीले गलत भाषाबाट परिभाषित गर्नु हुँदैन ।
पछिल्लो समय नेपालको संविधान २०७२ ले युवा प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । तर, युवाहरुले अवसर पाएजस्तो देखिँदैन नि ?
राष्ट्रिय युवा परिषद् कार्यविधिबाट गाइड भएको छ । कार्यविधिअनुसार पालना हुँदा युवाले नै सहभागिता जनाउने हो । तर, अहिले युवामन्त्री हुनुहुन्न । बारम्बार भनिरहेका छौँ, युवाको लागि युवा मन्त्री नै हुनुपर्छ । महिला बालबालिकामन्त्री महिला नै हुनुपर्छ भन्ने हो । कुनै पनि ठाउँमा राजनीतिक र दलहरुको सहमतिमा माथि पुग्ने अवस्था छैन । चाहे राष्ट्रिय युवा परिषद्मा होस् या अन्य कुनै क्षेत्रमा नै । राष्ट्रिय युवा परिषद्मा चाहिँ सकारात्मक सोच राख्ने, पार्टी भन्दा माथि र पहिला युवा भन्ने सोच बोकेका युवाहरुले नतृत्व गर्नुपर्छ । तर, अवस्था त्यस्तो छैन । तर, आशा र विश्वास छ आगामी दिनमा राष्ट्रिय युवा परिषद्लाई राम्रो तरिकाले अगाडि बढाउन सकिन्छ । युवाहरुका विषयमा हामीले सचेत हुन आवश्यक छ । युवा परिषद्मा युवालाई जोड्नका लागि धेरै हदसम्म प्रयास गरेको छ । तर राजनीतिकको सेरोफेरो समाउनैपर्ने परिपार्टीले समस्या जटिल देखिन्छ । यसलाई हामीले मिनिमाइज गर्नुपर्छ । राष्ट्रिय युवा परिषद्ले कम्तिमा युवाकै प्रतिनिधित्व गर्नुपर्छ । हामी सरकार र युवा मन्त्रीलाई आग्रह पनि गर्न चाहन्छौं की युवाको प्रतिनिधित्व सबै क्षेत्रमा होस् भनेर । परिषदमा नै युवाको प्रतिनिधित्व भएन भने अन्य निकायमा कसरी होला र ?
युवामैत्री कानूनहरु चाहिँ कहाँ कहाँ लागु भएकोजस्तो लाग्छ ?
युवामैत्री कानुनहरु कहीँकतै स्थानीय तह र पालिकाहरुमा पाउँछौँ । संघीयता आइसकेपछि हामीले तीनवटा प्रदेशमा प्रदेश युवा परिषद् पनि गठन भयो । तर, अहिले लुम्बिनीमा बिघटन भएको अवस्था छ । विशेषगरी बागमती र सुदूरपश्चिम प्रदेशमा प्रदेश युवा परिषद् एक्टिभ भएर काम गरिरहेको अवस्था छ । यसले प्रदेशको ऐन, नियम र कानुनहरुलाई प्रतिनिधित्व गरेको अवस्था छ । यसैगरी कुनै कुनै स्थानीय पालिकाहरुमा पनि स्थानीय युवा परिषद् गठन गरिएको अवस्था छ । त्यहाँ युवाका एजेण्डाहरुले स्थान पाएका छन् । तर संघीयताको हिसावमा हेर्ने हो भने राष्ट्रिय युवा परिषद्ले गैरसरकारी संघसंस्थाहरुमा काम गरिरहेका युवाहरुलाई त्यती धेरै समेट्न सकेको छैन ।
नेपालमा राष्ट्रिय युवा वर्ष मनाउने चर्चा छ । यसबारेमा के काम भइरहेको छ ?
युवा वर्ष कुनै युवा समूह अथवा कुनै एउटा संघसंस्थाले मात्र मनाएर हुँदैन । युवा वर्ष देशले नै बनाउनुपर्छ भन्ने सोच आएकोले त्यहाँबाट सुरुवात भएको हो । युवा वर्षको लागि नेपाल सरकारले नै प्रधानमन्त्री अध्यक्ष रहने र राष्ट्रिय संयोजकमा काम गर्न सक्ने,क्षमता भएका युवाहरुलाई नियुक्ति गरेर एक वर्षसम्म विविध खालका कार्यक्रमहरु गरेर मनाउन सक्नुपर्छ । हजारौँ युवाहरुलाई एक वर्षभित्र तालिम दिन सक्ने मोडालिटी र कार्यक्रमहरु तय गरेर सरकारलाई सुझाव पनि दिइसकेका छौँ । अघिल्लो सरकार युवा तथा खेलकुद मन्त्रीलाई पनि दिएका छौँ । सचिवज्युहरुलाई पनि दिइसकेका छौँ । प्रधानमन्त्रीज्यूलाई पनि कुरा बुझाएका छौँ ।
पछिल्लो समय जलवायु परिवर्तन, कृषिका कुरा र प्रविधिका कुराहरुलाई लक्षित गरि काम गर्नुपर्छ भनेका छौँ । यस्तै, सूचना प्रबिधिमा पनि युवालाई जोड्नुपर्छ भनेर जोड दिएका छौँ । यसैगरी अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने गरी युवाहरुलाई पठाउनुपर्छ भनेर खाका नै तयार गरिएको अवस्था छ । त्यसैले पनि राज्यले हरेक वर्ष युवा वर्ष मनाएर युवालाई लक्षित गर्ने हिसावले कार्यक्रमहरु ल्याउनुपर्छ । साथै युवा वर्ष मनाउँदा सानो प्रतिक चिन्ह सगरमाथासम्म नै चिनाउन सक्यो भने विश्वभर रहेका युवाहरु खुसी रहन सक्छन् । सबै युवाहरुले चिन्छन् । नेपालमा जन्मेका, नेपाललाई माया गर्ने युवाहरुले अन्तर्राष्ट्रिय संस्था युएनदेखि लिएर विभिन्न राष्ट्रहरुमा युवाहरुको भूमिकाको बारेमा र देशलाई समेत चिनाउन सफल हुन्छन् । त्यस्तै युवाहरुले इतिहास रच्न सक्छन् । सिकेका कुराहरु नेपालमा पनि प्रयोग हुन सक्छन् भन्ने कुराहरुलाई नै परिकल्पना गरेर राष्ट्रिय युवा वर्ष २०२५ भनेका छौं । तर, यो विषयतर्फ सरकार बढी चिन्तित भएर ४२ दशमलव ५६ प्रतिशत हिस्सा ओगटेका युवाहरुतर्फ केन्द्रित हुनैपर्छ ।