बिपी मायालु हुनुहुन्थ्यो [भिडिओ]

47
  • किशोर नेपाल

विविधताले भरिएको जीवन बिताउनुभएका बिपी कोइरालाको चर्चा हामी उहाँभन्दा धेरैपछि जन्मिएका पुस्ताले कसरी गर्ने भन्नेमा समस्या छ । तर, समस्या बिपी आफैँले समाधान पनि गर्नुभयो । यस विषयमा उहाँका पुस्तकहरु छन्, हामीले पढ्न सक्छौँ । उहाँका लेखहरु छन्, त्यसलाई नियाल्न सक्छौँ, केलाउन सक्छौँ । उहाँको ज्ञानको गम्भीरता र गहिराइ खोतल्न सक्छौँ ।

शब्दको हिसाबले वैज्ञानिक भएपनि बिपीले के गर्नुभयो, कसरी गर्नुभयो भन्ने कुराको हामीसँग अनुभवहरु छैनन् । तर, बिपीका योगदानहरुलाई सम्झिदा, पढ्दा रोमाञ्चक लाग्छ । उहाँले कसरी चिनियाँ र भारतीय नेताहरुसँग सन्तुलित सम्बन्ध स्थापना गर्नुभएको थियो । उहाँसँग किन भारतका प्रधानमन्त्री नेहरु र चीनका प्रधानमन्त्री दुवैले सम्मान भाव राख्थे, त्यसका कारणहरु के थिए ? उहाँले कस्तो अवस्थामा किन इजरायललाई मान्यता दिनुभएको थियो ? त्यो उहाँको साहस थियो वा दुस्साहस थियो । यी इतिहास खोतल्ने कुराहरु हुन् ।

मैले बिपीलाई चिनेको २६/२७ सालमा हो । वनारसमा गएर भेटेको थिएँ । १०–१५ मिनेट कुरा गरेको थिएँ । पछि बिपी नेपाल आइसक्नुभएपछि उहाँसँग निकटको सम्बन्ध भयो । नेपाली कांग्रेसको प्रचार समितिको कार्यालय जमलमा अर्थात् कमलादी जाने बाटोमा थियो । त्यहाँ बिपी सधैँ आउने गर्नुहुन्थ्यो । त्यहाँ उहाँको प्रेसको सम्पर्क शुत्रका रुपमा म थिएँ । उहाँसँग बाहिरका मान्छे भेटाउने काम गर्दथेँ ।

बिपी कस्तो हुनुहुन्थ्यो भन्ने विषयमा कुरा गर्दा मलाई डर पनि लाग्थ्यो । तर, उहाँको माया हेर्दा अचम्म लाग्ने थियो । कुनै वर्षको फागुन ७ गते म बिपी भएको ठाउँमा पुगेको थिए । उहाँको सन्देश लिन पुगेको थिए । मैले डायरीमा टिप्न थाले, उहाँ बोल्न लाग्नुभयो । रातो डायरी थियो । लेख्दालेख्दै चिसोले मेरा औँलाहरु कठ्याङ्ग्रिएका थिए । बिपी आफैँले मेरो डायरी लिएर बाँकी रहेका टिप्पणी लेखिदिनुभयो । त्यस्तो मायालु पनि हुनुहुन्थ्यो । त्यो डायरी अहिले पनि सुरक्षित छ त्यसलाई बिपी संग्राहलयले राखेको छ ।

मलाई उहाँले बाहिरी संसार देखाउनुभएको थियो । उहाँले मलाई भोला चटर्जीसँग नजिकको सम्बन्ध बनाइदिनुभएको थियो । भोला बंगालका सुप्रसिद्ध पत्रकार एवम् लेखक थिए । भारतका नामी पत्रकारहरुसँग एउटा विध्वताको सम्बन्ध बनाइदिनुभयो । यस्ता कुरामा कहिले पनि कन्जुस्याँई गर्नुभएन । यही हिसाबले उहाँलाई सम्झिने हो भने धेरै ठुलो काम गरेर जानुभयो । हामीले त्यस्ता ठुला काम गर्न सकेका छैनौँ । जेजति भएका छन् त्यो पनि भत्किने बेलामा छन् जस्तो लाग्छ कहिलेकाहीँ । निराशाको कुरा होइन, अहिले सामाजिक सञ्जाल हेर्दा, पत्रपत्रिकाको अवस्था हेर्दा देशप्रतिको छटपटी नै छैन, माया छैन । आफू केन्द्रित मात्रै छ ।

यसलाई सुधार गर्नु, लयमा लानु भनेको ठुलो कुरा हो, हामीले जे गर्‍यौँ गर्‍यौँ । कति गर्न सकेनौँ । तर, नयाँ पत्रकार साथीहरुले भोलिको नेपाल र नेपाली सञ्चारलाई बलियो बनाउनु, आफ्नो भाषामा सुधार गर्नुहोस् । हाम्रो भाषाले हामीलाई नै विरोध गर्न थालेको छ । हामी इन्टरनेटमा गयौँ तर यहाँ नकराएसम्म केही हुँदैन । एआईले केही गर्दैन । मानिसको मस्तिष्कभन्दा अगाडि कोही बढ्न सक्दैन । जस्तोसुकै आविष्कार गरे पनि थेक्न सक्दैन ।

(नेपाल प्रेस युनियनले आयोजना गरेको ‘पत्रकारिताका सन्दर्भमा बिपी’ विषयक प्रवचन कार्यक्रममा व्यक्त विचार)

Share This:
सम्बन्धित खबर
Loading...