मानव बेचविखन नियन्त्रण विद्यमान कानुनबाट सम्भव छैन : सुनिता दनुवार [भिडिओ]

13

सुनिता दनुवार मानव बेचबिखनविरुद्ध क्रियाशील चर्चित अभियन्ता हुनुहुन्छ । कुनै समय देहव्यापारका लागि भारतको कोठीमा बेचिएकी उहाँ महाराष्ट्रबाट उद्धार भएपछि मानव बेचविखनविरुद्धको अभियानमा शसक्त रुपमा लागिपर्नुभएको छ । अभियानमा निरन्तरको क्रियाशीलताले उहाँलाई विश्वका चर्चित अवार्डहरु पनि दिलाएको छ । सन् २०१४ मा स्विडेनमा ‘सिटेन अवार्ड’, सोही वर्ष ‘एसिया डेमोक्रेटिभ एन्ड ह्युमन राइट्स अवार्ड’, २०१५ मा ‘वर्ल्ड ओमन एचिभमेन्ट अवार्ड र २०१८ मा ‘हिरो’ अवार्डबाट सम्मानित भइसक्नुभएको छ ।

अमेरिकाको प्रख्यात पत्रिका ‘फर्चयुन म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीको ३६औँ नम्बरमा समेटिएकी उहाँ हाल सुनिता फाउन्डेसनमार्फत् समाजसेवामा सक्रिय हुनुहुन्छ । शक्ति समूह नामक संस्थाको संस्थापक अध्यक्ष समेत रहनुभएकी दनुहार हाल सुनिता फाउन्डेसनको अध्यक्षको भूमिकामा हुनुहुन्छ । नेपालको मानव बेचबिखनको अवस्था, नीतिगत एवम् कानुनी जटिलता साथै व्यवहारिक समस्याहरुबारे नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।

पछिल्लो समय के काममा व्यस्त हुनुहुन्छ ? सुनिता फाउन्डेसनले के गरिरहेको छ ?
अहिले सुनिता फाउन्डेसनले मानव बेचबिखनमा परेर फर्किएका महिलाहरुको अधिकारको लागि ‘आर्थिक पुनर्मिलन’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अलिक फरक तरिकाले काम गरिरहेका छौँ । बेचबिखनमा परेकाहरुलाई नगद पैसा दिँदा परिवारबाट सहयोग नपाउने भएका कारण उहाँहरु आफैँ व्यवसाय गर्न चाहनुहुन्छ । त्यस्तो कामका लागि पहिचान गर्ने र त्यहीअनुसारको तालिम दिएर कुखुरा, बाख्रा, बंगुर पालन, किराना पसल, खाजा घर सञ्चालन जस्ता आयमूलक काममा सहयोग गरिरहेका छौँ ।

गोठ बनाइदिने र उहाँहरु आफैँले छनोट गरेका बाख्रा किनेर गोठमा हालिदिने तर नगद पैसा नदिने गरेका छौँ । यस्तो कार्यक्रमहरु दीर्घकालीन रुपमा सफल भएको हामीले पाएका छौँ । त्यसैगरी, जो बेचबिखनमा परेर फर्किनुभएको छ उहाँहरुको कानुनी सहयोग समेत दिइरहेका छौँ । उहाँहरुमा देखापर्ने मानसिक समस्याहरुबाट मुक्ति दिलाउन परामर्श सेवा समेत प्रदान गर्दै आइरहेका छौँ । बेचबिखनमा परेर फर्किएका नेपाली दिदीबहिनीहरुलाई सबै प्रकारको सहयोगहरु गरिरहेका छौँ । बिरामी अवस्थामा उपचार पाउनेदेखि छोराछोरीहरुलाई पढाउने काममा समेत सहायता मिलेको छ । फाउन्डेसनले मानब बेचबिखनमा परेका नेपालीहरुहरुलाई प्रभावकारी रुपमा समाजमा पुनःस्थापना र समस्याहरुको समाधानका लागि प्रभावकारी तरिकाले काम गरिरहेको छ । इच्छाअनुसार फोटोग्राफर, बेकरी उद्योग, चिया र कफि बनाउने तालिमहरु समेत प्रदान गर्दै आइरहेका छौँ । सेल्डर होम समेत सञ्चालनमा छ । सेल्टरमा बालिकाहरुलाई राखेका छौँ । दुई वर्षमा प्रत्यक्ष आर्थिक सहयोग चाहिँ ५० जना दिदीबहिनीहरुलाई गरेका छौँ । त्यस्तै, मानब बेचबिखनमा संलग्न रहेको शंकास्पद व्यक्तिहरुलाई प्रहरी र स्थानीय सरकारहरुको सहयोगमा नियन्त्रणमा लिनका लागि सहयोगी भूमिका निर्वाह गरिरहेका छौँ ।

यी सबै कामका लागि फाउन्डेसनले स्रोत चाहिँ कहाँबाट जुटाइरहेको छ ?
हामीलाई अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट सहयोग मिलेको छ । पार्टनरका रुपमा इक्प्याट लक्जम्बर्ग छ । जापानबाट सानो शिक्षा सहयोग पाइरहेका छौँ । बेलायतबाट पनि सहयोग मिलिरहेको छ ।

नेपालमा भएका पछिल्ला अध्ययनहरुले देखाएको तथ्यांकले मानव बेचबिखनको अवस्था जर्जर देखाएको छ । लामो समयदेखि यही क्षेत्रमा काम गरेको हिसाबले मानव बेचबिखनको अवस्थालाई कसरी हेर्नुभएको छ ?
तपाईले भनेजस्तै नेपालमा मानव बेचबिखनका स्वरुपहरुमा परिवर्तन भएका छन् । पहिले मानव बेचबिखन भन्ने बितिक्कै केटी, महिला मात्र बेचिन्छन् त्यो पनि दिल्ली, बम्बै (अहिलेको मुम्बइ), कोलकाताका कोठीहरुमा मात्र बेचिन्छन् भन्ने अवधारणा थियो । तर, पछिल्लो समय आन्तरिक बेचबिखन बढिरहेको छ । मसाज, दोहोरी, क्लब र क्याबिन, रेस्टुरेन्टहरुका नाममा बेचबिखन भइरहेको छ । त्यसैगरी वैदेशिक रोजगारीका नाममा समेत ठुलो संख्यामा महिला, युवाहरु र पुरुषहरु समेत बेचबिखनमा पर्नुभएको छ । पहिले दलालहरु गाउँ गाउँमा गएर दिदीबहिनीहरुलाई ललाईफकाई गरी बेच्ने चलन थियो भने अहिले सामाजिक सञ्जालको माध्यमबाट एउटा बन्द कोठामा बसेर दलालले आफ्नो पञ्जामा पारिरहेका छन् ।

फकाउने, भेट्ने, खाजा खान जाऔँ, घुम्न जाऔँ भनेर लैजाने र कोठीहरुमा बेचेको हामीले पाएका छौँ । बेचबिखनको स्रोत र स्वरुपहरु बदलिएका छन् । विवाहको नाममा समेत मानव बेचबिखन भइरहको छ । सरोगेसी मदरको नाममा समेत भइरहेको छ । तर, हाम्रो काम गर्ने शैली पुरानो छ क्या । सीमा नाकाहरुमा बुथ राख्ने अनि नाकामा जाने जो पनि बेचिन मात्र गएको हो जस्तो गरेर पक्राउ गर्ने चलन छ । एउटै सिमानाकामा सात आठ वटा संस्थाको बुथहरु राख्ने काम भएको छ तर समुदायमा सचेतनाका कामहरु भएको छैन । अहिलेको जमानामा बिहान कमाएर साँझ के खाने परिवार पनि छन् । भोको पेटमा त त्यो परिवारले कसैको कुरा सुनेर बस्दैन नि त । यो अवस्थामा आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बेला भएको छ । त्यसमा हाम्रो कमजोरी छ । राज्यका सरकारी निकायहरु त्यसमा ध्यान दिएका छैनन् ।

अहिलेसम्म होलस्टिक रुपमा काम कसैले गरेको पनि छैन । नेपालमा पहिलो पटक हामीले काम गरिरहेका छौं । पर्याप्त गर्न नसकेपनि सन्तुष्ट चाहिँ छौँ । सरकारले मानव बेचबिखन प्रभावितको लागि भनेर बनाएको समितिमा म पनि सदस्य छु । तर हाम्रो चलन के छ भने र्‍याली गर्ने, प्रभावितलाई सम्मान गर्ने जस्ता कामहरु मात्र भए । यस्तो मात्र गरेर भएन यो त सधैँ भइरहेको छ । यसले समुदाय वा प्रभावितहरुलाई के फाइदा भयो भन्ने हेर्नुपर्छ । फरक तरिकाले जाउँ भनेर आवाज उठाइरहेका छौँ । सचिवज्यू र मन्त्रीज्यूहरुले प्रतिवद्धता पनि देखाउनुभएको छ । पुरानो शैलीबाट काम गर्न सबै जनाले छाड्नुपर्ने बेला आएको छ । मानव बेचबिखन विभिन्न स्वरुपमा बढिरहेको छ । यसका लागि नीजि संस्था र राज्यका निकायहरुले एक आपसमा समन्वय गरेर अगाडि बढ्न आवश्यक छ । बेचबिखनविरुद्धको कानुनले आन्तरिक बेचबिखनलाई पनि समेट्दैन, वैदेशिक रोजगारीमा गएर बेचिएकाहरुलाई पनि समेट्दैन । कानुनले अहिले पनि मानव बेचबिखनलाई यौनसँग जोडेको छ । यौनसँग सम्बन्धित शब्दहरु परिमार्जन गरेर यौन हिंसाको लागि मात्र नभई विभिन्न बहानामा बेचिएका दाजुभाइलाई न्याय दिलाउनकालागि कानुन संशोधनको कुरा उठाइरहेका छौँ । मानव बेचबिखनविरुद्ध सम्बन्धी कार्यक्रम बनाउँदा बेचिने भनेको गरिब र अशिक्षित मात्र भनेर बनाउने होइन सम्पन्न र वौद्धिक वर्गहरु समेत जोखिममा छन् ।

मानव बेचबिखनको शिकारमा गरिब र विपन्न वर्ग मात्र नभई शैक्षिक वर्ग समेत पर्ने गरेका छन् । हाम्रो समाजको चेतनाको स्तर कस्तो पाउनुहुन्छ ?
अलिकति धनी अथवा बुझेको मान्छेहरुलाईलाई राम्रो अवसरको आश्वासन दिँदै त्यसको फाइदा दलालले लिइरहेका छन् । सचेत र पढेलेखेका युवतीहरुलाई समेत विदेशका विभिन्न स्थानहरुमा छात्रवृत्तिमा पढाइदिने र राम्रो काममा लगाइदिने भन्दै फकाएर लगेर बेचबिखन गर्ने गरेको पाइन्छ । बुझेका छन्, पढेलेखेका छन्, शिक्षित छन् भनेपनि फसिरहेका छन् । जस्तै म तपाईलाई एउटा उदाहरण दिन्छु । काठमाडौँमा घर भएको एनजिओमा काम गर्ने मान्छे । तर, दलालले के ट्रिक लाए भने म युएनमा काम गर्छु भनेर केही समय पछ्यायो । त्यसपछि उनीहरुबीच लभ पर्‍यो अर्थात् मायाप्रेममा परे । लभ परिसकेपछि दलालले केटीलाई तिमी नेपालमा र म विदेशमै बस्यौँ भने विहे गर्न दिँदैनन् । बरु म युएनबाट राजीनामा दिन्छु । तिमी र म दिल्ली गएर दिल्लीको युएनमा फाइट गरौँ । त्यही घरजम गरौँ, भन्यो । पाँच, छ वर्षको लभ थियो केटीले विश्वास गरिन् । दिल्ली गए । त्यता गएपछि कोठीमा बेचिदियो । ती बहिनीको उद्धार हामीले नै गरेका हौँ । उनी घर परिवार र विभिन्न कारणले खुल्न चाहिनन् । उनको इच्छा विपरीत हामी गएनौँ ।

स्तर अनुसारको मानव बेचबिखन भइरहेको छ । गरिबहरुलाई आफूसँग गए राम्रो पारिश्रमिक भएको जागिर खोजिदिन्छु, राम्रो पैसा कमाउँछौँ भनेर फकाएर लगेका केसहरु पनि छन् । धेरैलाई त बेहोस बनाएरै लगेको केसहरु पनि छन् । दलालहरुले वर्ग अनुसार फकाइरहेको पाइन्छ । मैले यस क्षेत्रमा काम गरेको २८ वर्ष भयो, कुनै बेला म आफैँ पनि मानव बेचबिखन प्रभावित महिला हो । समस्यामै परेर आएको हुँ । अहिलेको अवस्था तुलना गर्ने हो भने धेरै परिवर्तन पनि आएको छ । बेचबिखनमा परेर आएको भन्ने सुन्ने बित्तिकै छिमेकीहरुले त्यो केटी कस्ती रहिछ हेर्न पाए हुन्थ्यो भन्ने खालको सोच थियो । अस्पतालमा जाँदा डाक्टरहरु बेचिएर आएको थाहा पाएपछि छुन घिनाउँथे । तर अहिले त्यस्तो छैन । परिवारले पनि सहजै तरिकाले स्वीकार गरिरहेको छ । तर, केहीले छोरीलाई तपाई सेल्टरमा राखिदिनुस्, जागिरको व्यवस्था गरिदिनुस् भन्ने खालका प्रस्तावहरु पनि आउने गर्छन् । कतिपय परिवारले बल्लतल्ल मेरो छोरी फर्किएर आयो लिएर जान्छु भन्ने पनि आउँछन् । अहिलेको समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ ।

पहिले बेचिने महिलाको चरित्रमाथि प्रश्न उठाइन्थ्यो । चञ्चले थिइ, उत्ताउली थिइ, आफ्नै कारणले बेचिन पुगि भन्ने थियो नि त । अहिले चाहिँ बेचिनुमा उसको दोष होइन भन्ने सोच समाजमा आएको देखिन्छ । तर, मानव बेचबिखनमा परेर उद्धार गरी ल्याइएका खबरहरु आउछन् तर दोषिमाथि कारबाही भएको खबर सुनिदैन नि । के दलालहरुलाई राजनीति दल वा पहुँचवालाको संरक्षण हुन्छ ?
तपाईले भनेको एकदमै सहि हो । कुनैपनि मानव बेचबिखनका घटनाहरु हुने बितिक्कै राजनीतिक दबाब आउन सुरु हुन्छ । एउटा भर्खर नुवाकोटको घटना छ । दोषीलाई कारबाही गर्नका लागि त्यहाँको स्थानीय सरकारले सहयोग गरेको देखिन्छ । तर, कुनै राजनीतिक दलले संरक्षण गर्न खोजिरहेको छ । एउटा पार्टी त उसलाई निकाल्नुपर्छ भन्ने तिर गइसकेको छ । जो बेचबिखनमा परेर फर्किएर आएको छ उसलाई समाजबाट बहिस्कार र बेच्न दलाललाई सामाजिक र राजनीतिक संरक्षण छ । सामान्य मान्छेले मान्छेलाई नै बेच्ने जस्तो जघन्य अपराध गर्न सक्दैन क्या । जसको पछाडि ठुलो संरक्षण गर्ने शक्ति छ उसले अपराधिक गतिविधि गर्दोरहेछ । सोझोले कहिले पनि आँट गर्न सक्दैन । त्यसकारण राजनीति संरक्षणका कारणले प्रभावितले न्याय नपाउने अवस्था र दलाल छाती खोलेर हिँडिरहेको अवस्था छ । अहिले पनि यही कारण मानव बेचबिखन प्रभावितले न्याय नपाउने र समाजबाट बहिस्कार हुनुपर्ने स्थिति छ ।

आन्तरिक र वैदेशीक रोजगारीका नाममा बेचिने युवा युवतीहरु त छँदैछन् । पछिल्लो समय बालक वा बालिका आफ्नै घर, समाज र परिवार वरपर सुरक्षित छैनन् भनिन्छ । तपाईलाई के लाग्छ ?
यसमा सत्यता छ । पहिलेभन्दा अहिले लैगिंक र यौनिक हिंसाहरु समेत बढेका छन् । बलात्कार गरेर मारिदिने, बेपत्ता पारिदिने घट्नाहरु तथ्यांकले नै बढेको पाइन्छ । मुलुकमा लोकतन्त्र त आयो तर छाडातन्त्र उत्तिकै बढेको छ । पहिले मान्छेमा डर हुन्थ्यो, अहिले मान्छेमा डर छैन । सिंहदरबार घरघरमा भनिन्छ तर कुन घरले चाहिँ सुरक्षित महसुस गरेको छ ? कुन घरको बालिकाले आफू सुरक्षित छु भनेर महसुस गरेको छ ? जो अलि शक्तिको पहुँचमा छ उ सिंहदरबार पनि आएको छ, अपराध गर्ने आँट पनि गरेकै छ । निर्धक्क भएर अपराधहरु गरिरहेको छ । तर, जसले महसुस गर्नुपर्ने हो उनीहरुलाई अहिले पनि थाहा छैन के हो सिंहदरबार भनेर । त्यसैले अब पीडितले न्याय पाउनेगरि कानुनहरु बन्नुपर्ने देखिन्छ । नुवाकोटकै कति धेरै वडाहरु छन् जहाँ संघर्ष गर्नुपर्ने उमेरका कोही पनि भेटिँदैनन् । गाउँमा बच्चा र वृद्धवृद्धाहरु मात्र छन् । कसैको मृत्यु भयोभने त्यहाँ लास उठाउने मान्छेहरु छैनन् । त्यो नेपालको आर्थिक विपन्नताको कारणले हो नि । आर्थिक रुपमा विपन्नताका कारण वैदेशिक रोजगारीमा जान बाध्य छन् । अनि ठगिन्छन् , बेचिन्छन् । नेपालमा रोजगारीको अवसर सिर्जना गरिदिने हो भने आधाजति ठगी र बेचबिखनका अपराधहरु हटेर जान्छन् ।

मानव बेचबिखन रोक्नका लागि अब के गर्नुपर्ला ? प्रहरी प्रशासनको भूमिकालाई कसरी मूल्यांकन गरिरहनुभएको छ ?
सरकारले अहिले चाहिँ केही गरिरहेको छ भन्न सकिन्छ । यही मात्र केस हेर्ने भनेर मानव बेचबिखन ब्युरो नै स्थापना गरेको छ । जिल्ला जिल्लामा पनि कामहरु भइरहेको देखिन्छ । अब जिल्ला प्रहरी कार्यालयहरुमा महिला सेल राख्ने र त्यसले महिलाको मुद्दा मात्र हेर्ने भनेर काम गरिरहेको छ । कतिपय ठाउँहरुमा महिला सेलहरु छन् । तर दुःखको कुरा महिला हाकिम भएर जानुपर्नेमा पुरुष हाकिम हुनुहुन्छ । अब त्यो ठाउँमा कुनैपनि पीडित महिला गएर उसले आफ्नो व्यथा सुनाउन सक्छ त ? जति महिलालाई उनीहरुले खुला रुपमा भन्छन्, त्यति पुरुषहरुलाई त भन्न सक्दैनन् नि । यसमा पीडितहरुको सहज पहुँच पुर्‍याउनका लागि काम गर्‍यो भने मात्र यस्ता अपराधका घट्नाहरु न्यूनीकरण गर्न सम्भव छ । तर, अहिले पनि नगरेको त होइन । तर न्याय छिटो र छरितो हुनुपर्‍यो । मानव बेचबिखन प्रभावित भएको प्रमाणित हुनुबित्तिकै उनीहरुले क्षतिपुर्ति पाउनुपर्‍यो क्या । नेपालमा त एउटै मुद्दा फैसला हुन दसौँ वर्ष लाग्छ, फैसला आउञ्जेलसम्म प्रभावितको मृत्यु समेत भइसकेको हुन्छ । अधिकांश दिदीबहिनीहरु झमेला झेल्नुपर्ने कारणले पनि कानुनी प्रक्रियामा जाँदैनन् । अर्को कुरा सुरक्षाको जोखिम हुन्छ । दलालले धम्की दिने कारणले पनि कति पीडितहरु कानुनी लडाइँ लड्न नसक्ने अवस्थामा छन् । उल्टै मिडियामा समाचारहरु आएर आफू नांगिने डरले पनि महिलाहरु खुल्न सकिरहेका छैनन् । खुलेर गयो भने समाजबाट बहिष्कार हुने भोलिको दिनमा बिहे नहुने लगायतका समस्याहरु रहन्छन् । तीनै तहको सरकारले क्षतिपूर्तिको व्यवस्था गर्यो भने धेरै जनाहरु खुलेर कानुनी लडाइँमा जान आतुर छन् जस्तो लाग्छ ।

तपाई शक्ति समूहमा पनि आवद्ध हुनुहुन्छ । यसको स्थापनाको परिकल्पना कसरी भएको हो ?
शक्ति समूहको फाउन्डर म आफैँ हो । अहिले म त्यसमा सक्रिय नभएपनि सहकार्य र समन्वय भइरहेको छ । सन् १९९६ मा हामी भारतको मुम्बई सहरको एक वेश्यालयमा बेचिएका थियौँ । १८ वर्षमुनिका पाँचसय जना बालिका र युवतीहरुलाई भारत सरकारले बाहिर निकालेको थियो । त्यसमा तीन सयभन्दा बढी नेपाली थियौँ । त्यहाँ रहेको भारतीय, बंगाली र नेपालीको उद्धार गरिएको थियो । भारतले आफ्नो देशका बालिकाहरुलाई परिवारसँग पुनःमिलन गरायो । बंलादेशले स्वदेश फिर्ती गरायो । तर, नेपाल सरकारले स्वदेश फर्काउन मानेन । नेपालले उनीहरु नेपाली हो भन्ने के प्रमाण छ ? नेपाली बोल्दैमा कोही नेपाली हुन्छन् ? भनेर ल्याउन मानेन । उनीहरुलाई नेपाल ल्यायो भने नेपालमा एचआइभी एड्सको पोको भित्रिन्छ भन्ने डर थियो तत्कालीन सरकारलाई । पछि सेल्टर चलाउने सातवटा संस्थाहरुले हाम्रो छोरीचेली हो भनेर सरकारले चाहेन भने हामी ल्याउँछौँ भन्दै नेपाल फर्काएको हो । त्यहाँ हामीलाई बेच्ने पनि नेपाली किन्ने पनि नेपाली नै थिए । यो कथा मैले ‘आँशुको शक्ति’ नामक किताबमा लेखेको छु । त्यसबेला समाचारमा ‘बम्बईका वेश्याहरु’ भोलि नेपाल आउँदै’ । यति नम्बरको प्लेनमा यो समयमा आउँदैछन् भनेर नकारात्मक समाचारहरु मिडियामा पनि आएका थिए । प्लेनबाट झर्दा त अर्कै ग्रहबाट आएको जस्तोगरी हेर्नेहरुको लाइन थियो । हामीले आफूसँग जे छ त्यहीले मुख छोपेर निस्कियौँ । हामी एकदम मिल्ने त्यही समूहमा १२ जना थियौँ । पछि १२ जना एकै संस्थामा जान्छौँ भन्यौँ । ओरेक नेपालकी डाक्टर रेणुले १२ जनालाई आफ्नो संस्थामा लिएर जानुभयो । ओरेक सेल्टरमा बसेपछि हामीलाई एचआइभी टेस्टका लागि लगियो । धेरै जनामा एचआइभी पोजेटिभ देखियो । त्यतिबेला जिन्दगी अन्धकार जस्तो भयो । पछि डाक्टर रेणुले नै आधारभूत स्वास्थ्य तालिम दिनुभयो, तालिम लिएपछि हाम्रो गल्ती त होइन रहेछ भन्ने भयो । तालिम लिएका १५ जनाहरु मिलेर आफूमाथि अन्याय गर्ने अपराधीलाई कानुनी कठघरामा ल्याउनैपर्छ भनेर र आफूहरुको आँशुलाई शक्तिमा बदल्ने भनेर शक्ति समूह स्थापना गरेका हौँ ।

अहिले मानव बेचबिखनमा परेकाहरुले समाजमा पुनःस्थापित हुन कत्तिको गाह्रो छ ?
अहिले पनि गाह्रो नै छ । राजधानी काठमाडौँमै पनि म बेचबिखन पीडित हो भनेर गयो भने कोठा भाडामा पाइँदैन । कही काम गरेको छ भने त्यहाँको अनरले यसलाई एब्युज गर्न थाल्छ । अहिले पनि मानिसहरुको सोच त्यही नै छ । परिवार समाज बुझेर बस्ने हो भने सहज छ नत्र गाह्रो नै छ । अहिलेपनि मानव बेचबिखनमा परेर आएकी हुँ भनेर खुलेर भन्न सक्ने अवस्था छैन ।

तपाई आफू पीडित हुँदाको समाजको चेतनको स्तर र अहिलेको चेतनाको स्तर कति फरक छ ?
पहिलेको तुलनामा अहिले फरक छ । बेचिएको केटी हेर्न पाए हुन्थ्यो भन्ने सोच पहिलेको समाजमा हुन्थ्यो भने अहिले त्यस्तो छैन । त्यतिबेला कोही बेचिएको महिला आयो भने आफ्नै कारणले बेचिएको हो भन्ने थियो। अहिले त्यो छैन । जानेर बेचिएको होइन भनेर अहिलेको समाजले बुझ्न थालेको छ । त्यही अनुसार कानुनहरु परिमार्जन भएका छन् । होला कानुन कार्यान्वयनको अवस्था अहिले पनि फितलो छ । तर, कानुन छ नि । धेरै कुराहरु परिवर्तन भएका छन् तर, अझै पनि धेरै कामहरु गर्न बाँकी नै छन् । मैले देखेको सपनाको समाजमा छोरीहरु राति एक्लै हिँड्न नडराओस्, आफ्नो देशमा छुँ भन्ने अनुभव गर्न पाइयोस् ।

सुनिता फाउन्डेसनका भावि योजनाहरु के के छन् ?
अब हामी बेचबिखनमा पर्नुभएकाहरुको आर्थिक पुनःमिलन नै निरन्तर गर्छौँ । त्यसको साथै सचेतनामूलक कार्यक्रमहरु पनि सँगसँगै लग्ने योजनामा छौँ । मानव बेचबिखनविरुद्ध पीडितहरुको समितिको सञ्जाल बनाउँछौँ । कतिपय ठाउँहरुमा समितिहरु नै बनेका छैनन् । भएका समितिहरुलाई अझै सशक्त बनाएर लाने र नभएका ठाउँहरुमा समिति बनाएर मानव बेचबिखनको शिकार भएका दाजुभाई दिदीबहिनीहरुको आँशुलाई शक्तिमा रुपान्तरण गर्ने हाम्रो लक्ष्य र सपना छ ।

Share This:
सम्बन्धित खबर
Loading...