नेपालमा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

18

काठमाडौँ, २२ साउन । राष्ट्रिय मानव अधिकार आयोग नेपालले ‘राष्ट्रिय मानव अधिकार संस्थाहरूमा लैङ्गिक समावेशीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय मानव अधिकार संस्थाहरूको एसिया प्रशान्त मञ्चसँगको समन्वयमा भदौ १८ देखि २० गतेसम्म काठमाडौँमा उक्त सम्मेलन हुन लागेको राष्ट्रिय मानव अधिकार आयोगको सदस्य लिली थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय मानव अधिकार आयोगले एसिया प्यासिफिक देशहरुमा भएको मानव अधिकारका संस्थाहरुसँग मिलेर लैङ्गिक समावेशीकरणबारे एउटा सम्मेलन गर्दै छ । नेपालमा भदौ १८ गतेदेखि २० गतेसम्म चल्नेछ । एसिया प्यासिफिक फोरम भन्ने छ सोही संस्थासँग मिलेर सम्मेलन गर्न लागिएको हो ।’

उहाँले हालसम्म भारत, फिजी, इन्डोनेसिया, इराक, जोर्डन, मलेसिया, माल्दिभ्स, मंगोलिया, ओमान, फिलिपिन्स, कतार, थाइल्याड, टिमोर लिस्टेलगातयका राष्ट्रिय मानव अधिकार संस्थाहरुले सहभागिताको प्रतिबद्धता जनाइसकेको पनि जानकारी दिनुभयो ।

सम्मेलनमा नेपाल सरकार, राष्ट्रिय मानव अधिकार संस्थाहरूको एसिया प्रशान्त मञ्चमा आबद्ध २६ वटा देशका राष्ट्रिय मानव अधिकार संस्थाहरू, राष्ट्रिय मानव अधिकार संस्थाहरूको एसिया प्रशान्त मञ्च, मानव अधिकार उच्चायुक्तको कार्यालय, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाललगायतको सहभागिता रहने अपेक्षा गरिएको छ ।

उहाँले पेरिस सिद्धान्तहरूको लैङ्गिक दृष्टिकोणबाट लेखाजोखा गर्नु र राष्ट्रिय मानव अधिकार संस्थाहरूले लैङ्गिक समावेशीकरणको माध्यमबाट बहुलवादको सिद्दान्तलाई कसरी सुदृढ गर्न सक्छन् भन्ने सम्बन्धमा समिक्षा गर्ने, अम्मान घोषणापत्र–२०१२ को कार्यान्वयनमा राष्ट्रिय मानव अधिकार संस्थाहरूले कार्यान्वयनमा गरेको प्रगतिका प्रयासहरूको समीक्षा गर्ने, लैङ्गिक समानताले समावेशीकरणलाई प्रोत्साहित गर्ने कारकहरूको पहिचान गर्नु र राष्ट्रिय मानव अधिकार संस्थाहरूको आन्तरिक र बाह्य कार्यमा रहेका अवरोधहरूको पहिचान तथा समाधानका उपायहरू सुझाउने र जलवायु परिवर्तनको प्रभाव र लैङ्गिक न्यायका लागि सक्रिय रूपमा कार्य गर्न राष्ट्रिय मानव अधिकार संस्थाहरूबीचमा अन्तर–मानव अधिकार संस्था संवादको प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलनको आयोजना भएको पनि जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...