जापानमा बिक्री भयो ‘मोदीबेनी’, कहिले हुन्छ रिलिज ?

18

काठमाडौँ, २१ साउन । शुक्रबार रिलिज भएको नेपाली चलचित्र ‘मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ‘भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो ।

चलचित्र रिलिजपछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सहनिर्माता हरि श्रेष्ठले बताउनुभयो । उहाँले दर्शकबाट गजबको प्रतिक्रिया प्राप्त भइरहेको बताउनुभयो । जापानमा केही दिनमा सार्वजनिक प्रदर्शनमा आउने श्रेष्ठले बताउनुभयो ।

निर्देशक शङ्कर कोइरालाका अनुसार दर्शकले चलचित्रको ‘थ्रिलिङ पार्ट’लाई रुचाएका छन् । शुक्रबार र शनिबार दर्शक भेट्न विभिन्न हल पुग्नुभएका निर्देशक कोइरालाले ’मोदीबेनी’को ’सेकेन्ड हाफ’लाई बढी रुचाएको पाइएको बताउनुभयो ।

‘चलचित्रको सेकेन्ड हाफलाई बढी रुचाएको पाएको छु। पहिलो भागमा क्यारेक्टरको बेस तयार गरी दोस्रो भागमा थ्रिलिङ दृश्यहरू राखेका थियौँ । सोही कुरा दर्शकलाई चित्त बुझेको छ,’ कोइरालाले भन्नुभयो । उहाँले चलचित्रमा उठान गरिएको विषय र विश्वासै नलाग्ने कथामा दर्शकले मनोरञ्जन लिइरहेको प्रतिक्रिया आफूले पाएको बताउनुभयो । ‘दर्शकको प्रतिक्रिया बुझ्दा ’वर्ड अफ माउथ’ले राम्रै काम गर्ने देखिन्छ।’

चलचित्र रिलिजपछि कलाकारहरू वर्षा सिवाकोटी, नव अभिनेता अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेतीलगायत दर्शक भेट्न काठमाडौँका विभिन्न हल पुगेका थिए ।

चलचित्रलाई डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा दिलिप केसी र हरि श्रेष्ठले निर्माण गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...