सामाजिक सञ्जालले खिर दिवसको महत्व थप बढाएको छ : प्रल्हाद दाहाल [भिडिओ]

24

साउन १५ मा खिर खाने दिनलाई हाम्रा पुर्खाहरुले सन्तुलित आहारको लागि लिएको मान्न सकिन्छ । खिर दैनिक खान नसकेता पनि साउन १५ मा खाने परम्परा संस्कृतिको रुपमा थियो, पछि यसलाई दिवसमा रुपमा मान्न थालिएको हो । विशेषगरी असार साउनमा खेतबारीमा झरीमा रुझ्दै बलपूर्वक काम गर्नुपर्ने, जसका कारण चिसो लाग्ने र हिलोमा काम गर्ने हुँदा घाउ, खटिरा लाग्ने भएकाले त्यसको न्यूनीकरणका लागि खिर खाने परम्परा बसेको भन्ने बुझ्न सकिन्छ । खिरमा प्रयोग गरिने मरमसलाका कारण चिसो हट्ने, रोगसँग लड्ने शक्ति वा क्षमता वृद्धि हुने मान्यताका कारण परम्पराका रुपमा खिर दिवस मनाउन थालिएको बुझिन्छ ।

खिरमा चामल मिसाइने भनेकाले हामीले यसलाई प्रसादका रुपमा ग्रहण पनि गरिन्छ । पूजाआजामा पनि चामल नचल्ने तर खिर बनाएपछि चल्ने हुन्छ । त्यसैले पनि खिर अत्यन्तै मौलिक आहार अन्तर्गतको खाद्य पदार्थ हो । सधैँ सेवन गर्न नसकेता पनि साउन १५ मा चाडको रुपमा सेवन गरेर भएता पनि शरीरलाई आवश्यक पर्ने तत्वहरु पूर्ति होस भनेर दिवसका रुपमा मानिएको अनुमान सहजै लगाउन सकिन्छ । पछिल्लो समय युवा पुस्ताले यसलाई चाडको रुपमा लिने गरेको छन् ।

सामाजिक सञ्जालको प्रयोगले पनि खिर खाने दिनलाई अलि बढवा दिएको पाइन्छ । पहिले पहिले खिर खाने चलन घर घरमा परम्पराको रुपमा स्थापित थियो भने अहिले सामाजिक सञ्जालको माध्यमबाट सबैले खिर खानुपर्ने रहेछ, यो एउटा चलन रहेछ , परम्परा रहेछ स्वीकार्न थालिएको छ । कहिल्यै दुग्ध पदार्थ सेवन नगर्ने अथवा खिर नखानेहरुले पनि साउन १५ मा खिर खाएर मनाउने गर्नुहुन्छ ।

खिर खाने दिनले गाईभैँसी पालनप्रति मानिसहरुलाई प्रेरित पक्कै गर्छ । गाईभैँसीबाट दुध उत्पादन हुन्छ त्यो उत्पादन बिक्री भएपछि सहर बजारबाट प्राप्त रकम गाउँमा नै जाने हो । अहिले पनि दैनिक ३१ लाख लिटर दुधको रकम गाउँ गाउँसम्म पुग्छ । साउन १५ खिर खाने बेला लगभग एक करोड लिटरजति दुध खपत हुन्छ । अन्यबेला पनि ९३ लाख लिटर दुध खपत हुन्छ । त्यो बापतको जम्मा ६५ करोडको आर्थिक कारोबार हुन्छ । त्यो भनेको किसानहरुको लागि पनि राम्रो प्रोत्साहन हो । किनकी जतिपनि दुग्ध पदार्थ उपभोग गर्छौँ त्यो गरिसकेपछि किसानहरुलाई पशुपालन गर्न प्रोत्साहित पक्कै गर्छ । हामीले आँकडा निकाले अनुसार एक करोड लिटरजति दुध खपत हुने अनुमान गरिएको छ । यो बापतको ६५ करोडसम्म कारोबार हुन्छ । विगत १ गतेदेखि दुधको संकलन विस्तारै बढाउँदै लगेका छौँ । किनकी एकै दिनमा यो सम्भव हुँदैन । सबै डेरीहरुले दैनिक बिक्री गर्ने दुधभन्दा तीन गुण बढी बिक्री गर्नुहुन्छ ।

पछिल्लो समयमा हामी एकदमै अप्ठ्यारो अवस्थामा छौँ । हाम्रा गाउँघरहरु रित्तिएका छन् । युवा पुस्ताहरु गाउँमा छैनन् । जेष्ठ नागरिकमात्र हुनुहुन्छ । उहाँहरुले मात्र गाइभैँसी पाल्न सक्नुहुँदैन । र विस्तारै सहरमा बसाइँसराइको तर्खरमा हुनुहुन्छ । त्यसैले गाउँघरका बस्ती उजाड भएका छन् । गोठहरु खाली भएका छन् । मानिसहरु सहर केन्द्रित भएका छन् । जुन कुरा पशुपालनका लागि राम्रो होइन । किनकी पशुपालन गर्दाखेरी सहरमा होइन गाउँमा नै गर्नुपर्छ । सहरमा चरणका लागि जग्गा हुँदैन । घाँसदेखि सबै कुरा सहरमा किनेर नै खुवाउँनुपर्छ । दुधको उत्पादन लागत पनि बढी हुन्छ । किसान र उपभोक्ता दुवैलाईं अप्ठ्यारो हुन्छ । त्यसैले पशुपालन विस्तारै गाउँघर तिर नै लैजाने कुरामा जोड दिनुपर्छ ।

खिर खाने दिनमा चाहिँ अन्य दुग्धजन्य पदार्थको बिक्री खासै हुँदैन । खिरमा प्रोटिन अलि बढी हुने भएकाले एकै दिन बढी खानु हुँदैन भनेर पनि हो । खिरलाई तरकारी चाहिने भएकाले तरकारी बिक्री बढ्न सक्छ ।

खिर दिवसलाई पर्यटनसँग पनि जोड्नुपर्छ । पर्यटकहरु आउँदाजाँदा खिर खुवाउने चलनको विकास गर्नुपर्छ । देशभरका होटलहरुमा अनिवार्य खिर बनाउने र सेवन गराउने चलन बसाल्न सक्यो भने पर्यटनमार्फत् आयआर्जन गर्न सकिन्छ । छोराछोरीहरुलाई पनि परम्पराबारे बताउने गर्नुपर्छ । अनि मात्र भावी पुस्ताले यस दिनलाई निरन्तरता दिन सक्छन् ।

पहिला महिना वा १५ दिनमा एकचोटी घरमा खिर खुवाउने चलन रहेको थियो । पछिल्लो समयमा मिडिया, सामाजिक सञ्जालको प्रभाव र सञ्चारकर्मीहरुले यसलाई एउटा परम्पराको रुपमा स्थापना गराउनको लागि महत्व दिनुभएको कारणले अहिले सबै ठाँउमा, विशेषगरी युवापुस्तामा पनि खिर खाने परम्परा बस्दै गएको छ । यसका साथै कार्यालय, विद्यालय, हस्पिटल सबै ठाँउमा साउन १५ गते खाजाको रुपमा खिर नै खाने चलन विगत धेरै वर्षदेखि चलिआएको छ । यसको प्रभाव सामाजिक सञ्जालले गर्दा नै आएको हो । यसकारण किसान र व्यवसायीहरुको तर्फबाट सबै मिडियाकर्मीहरुलाई धन्यवाद भन्न चाहन्छु । खिर खाने परम्पराको इतिहासको कुरा गर्दा ठ्याक्क मिति त भन्न सकिँदैन । तर, धेरै पहिलादेखि नै मानव बस्तीको सुरुवात भएर खाद्य पदार्थहरु सेवन गर्नेक्रममा दुधजन्य पदार्थ सेवन गर्ने चलनसँगै खिर खाने गरिएको अनुमान लगाउन सकिन्छ । यसपाली हामीसँग धुलो दुध स्टकमा रहेकाले भारतीय बजारबाट दुध आयात गर्नुपर्ने अवस्था छैन । धुलो दुध भनेको खान नमिल्ने होइन यो दुधबाट नै बनेको हुनाले यसलाई प्रयोग गर्न सक्छौँ ।

(नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

Share This:
सम्बन्धित खबर
Loading...