जहाज पुरानो भएकाले दुर्घटना भयो भन्ने भाष्य गलत छ : क्याप्टेन गुरुङ [भिडिओ]

22

काठमाडौँ, १२ साउन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न गठित समितिका सदस्य क्याप्टेन ओम गुरुङले नेपालमा हुने गरेका हवाईजहाज दुर्घटनामा व्यवस्थापकीय पक्ष बढी जिम्मेवार हुनुपर्ने औँल्याउनुभएको छ ।

हालै त्रिभुवन विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ यात्रुको मृत्यु भएपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले एयरलाइन्स कम्पनीको व्यवस्थापकीय क्षमताको अध्ययन हुनुपर्ने बताउनुभयो । उहाँले जहाजका चालक दलका सदस्यलाई मात्र दोष दिएर कोही पनि उम्कन नसक्ने साथै नियामक निकाय र कम्पनीको भूमिका अझ बढी जिम्मेवार हुने औँल्याउनुभयो ।

तीन दशक हवाई उडानमा काम गरिसक्नुभएका क्याप्टेन गुरुङले घटना भइसकेपछि मात्र कम्पनी र नियामक निकायको कमजोरी औँल्याउनु उचित नहुने भन्दै सरकारले सिंगो हवाई क्षेत्रको सुधारका लागि प्रशस्त काम गर्नुपर्ने सुझाव दिनुभयो ।

‘घटना भइसकेपछि एयरलाइन्स व्यवस्थापनको कुरा आउँछ । एउटा व्यापारीले एयरलाइन्स कम्पनी खोल्योभने आफैँ चेयरम्यान हुनु कत्तिको उपयुक्त हुन्छ ? उसको भिजन के हो ? म्यानेजम्यान्ट क्षमता कस्तो छ, त्यो सबै हेर्नुपर्छ,’ उहाँले अगाडि भन्नुभयो, ‘कम्पनीभन्दा माथि जाने हो भने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)छ । क्यान नियामक निकाय हो । उसले हरेक एयरलाइन्सले ठिक अवस्थामा बनाएर चलाएको छ कि छैन हेर्नुपर्छ । एकदमै ठुलो जिम्मेवारी क्यानको हुनेगर्छ । त्यसभन्दा माथि मन्त्रालय छ र सरकार छ । उसले नीति निर्माण ठिक गरेको छ कि छैन् भन्नेसम्म अध्ययन हुनुपर्छ ।’

यदि जहाजको व्यवस्थापन वा दुर्घटना न्यूनीकरणमा नीतिगत निर्णय भइसकेको भए त्यसको कार्यान्वयन पक्ष हेर्नुपर्ने उहाँको भनाइ छ । ‘निर्णय कार्यान्वय गर्नका लागि संरचनागत प्रणालीमा ढाल्नुपर्छ । अहिलेको समस्या के हो भने क्यान इयूको कालो सूचीमा परेको धेरै वर्ष भइसक्यो । क्यानलाई दुई वटा भागमा काम गर भनेको छ । एउटा नियमक निकाय अर्को सेवा प्रदायक निकायका रुपमा काम गर्न भनेको छ, यस विषयको पनि गहन अध्ययन हुनुपर्छ,’ क्याप्टेन गुरुङले भन्नुभयो । हवाई उड्डयनसम्बन्धी विभिन्न कानुनहरु बन्ने क्रममा रहेकाले चाँडो अनुमोदन गरेर कार्यान्वयनमा ल्याउनुपर्ने उहाँको सुझाव छ ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनाको सवालमा मात्र होइन विगतमा भएका भयानक दुर्घटनाका अवस्थालाई हेरेर हवाई सुरक्षाको अवस्थाबारे विश्लेषण गर्नुपर्ने उहाँको भनाइ छ । ‘अहिले हवाइ सुरक्षाको कुरा उठिरहेको छ । त्यसमा पाइलट एक जनाको मात्र कुरा गरेर हुँदैन । सँगसँगै जोडिएको इन्जिनहरु, अन्य डिपार्टमेन्टहरु म्यानेजमेन्ट टिम अनि क्यान हुँदै सम्बन्धित मन्त्रालयबाट एउटा स्पष्ट नीति आउनु जरुरी देखिन्छ,’ उहाँले भन्नुभयो,‘नीति वा नियम पालना गर्नु चाहीं सबैको दायित्व हो ।’

जहाज दुर्घटना भइसकेपछि जहाज पुरानो थियो र दुर्घटना भयो भन्ने भाष्य सिर्जना गरेर कोही जिम्मेवारीबाट पन्छिन नमिल्ने उहाँको भनाइ छ । ‘जहाज पुरानो भयो भन्नु जायज होला तर नयाँ जहाज चाहिँ दुर्घटना नभएको भन्ने त छैन नी । पुराना जहाज भएर दुर्घटना बढी हुने र नयाँ भएर कम हुने भन्ने हुँदैन । त्यो एउटा भाष्य निर्माण गरिएको छ । जहाजलाई कतिसम्मको टाइट फ्रेमवर्कभित्र राखिएको छ, मेन्टिनेन्स कुन रुपमा भइरहेको छ त्यो मुख्य कुरा हो,’ उहाँले भन्नुभयो ।

जहाजको अवस्थाका बारेमा क्यानले कुन रुपमा हेरेको छ, मापदण्ड पालना गरे नगरेको कतिको हेरेको छ भन्ने कुराले पनि जहाजको अवस्था निर्धारण गर्ने क्याप्टेन गुरुङको भनाइ छ । ‘म त के भन्छु भने जहाज पूरानो हुँदैमा फरक पर्ने होइन, त्यसको सर्भिस लाइफहरु हुन्छ । कुनै घन्टाको हिसाबले कुनै उडानको हिसाबले तोकिदिएको हुन्छ । गाडी जस्तो गुड्नेसम्म गुडाउने बिग्रिएपछि वर्कसप लैजाने भन्ने हुँदैन । निर्धारित समयपछि केही नभएपनि जहाज जाँच गराइन्छ,’ उहाँले भन्नुभयो ।

‘जहाजका सवालमा चेन अफ इफेक्ट समस्या हो । तलबाट माथि जाने होइन कि माथिबाट तल आउने हो त्यो प्रमुख कुरा हो । एउटा पाइलट र इन्जिनियरलाई दोष दिएर हुँदैन,’ उहाँले भन्नुभयो ।

पटक पटक बदलिरहने सरकारका कारण नीतिगत तहमा असर परेको उहाँको भनाइ छ । नीतिगत तहमा समस्या हुँदा कतिपय मापदण्डहरु निर्माण हुन नसकेको उहाँको बुझाइ छ । ‘एभिएसन भन्ने एकदमै धेरै सेन्सेटिभ क्षेत्र हो । त्यसैले यो क्षेत्रलाई बनाउन सक्यो भने अरु पनि बनाउन सकिन्छ । पटक पटक मन्त्रीहरु फेरिहने प्रवृत्तिले समग्र क्षेत्र सुधार गर्न सकिँदैन,’ क्याप्टेन गुरुङको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...