काठमाडौँ, २९ असार । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतले नेपालमा निडर र निर्भिक पत्रकारको खोजी गर्नका लागि टर्च बाल्नुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित ‘अदालती रिपोर्टिङ र सञ्चारमाध्यम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बेधन गर्दै वरिष्ठ न्यायाधीश राउतले कुनैपनि पत्रकार र मिडियाहरुले एन्टी करप्सनका बारेमा बोल्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपालमा पत्रकारहरु धेरै छन् । तर, निर्भिक, निडर र आत्मसम्मान भएको पत्रकार खोज्नका लागि भने टर्च नै बाल्नुपर्छ । एन्टी करप्सनको बारेमा किन कोही बोल्नै सक्दैन । यहाँ स्तन्त्रता, बहुदलीय राजनीतिक व्यवस्था र राज्यका तीनवटै तहका निकायहरुले काम पनि गरिरहेको अवस्थामा पनि भ्रष्टाचारका विषयमा कोही बोल्न सकेको छैन ।’
अदालतसँग नैतिक बल बाहेक अरु केही नभएपनि पछिल्लो समय न्याय निरुपणका सवालमा धेरै परिवर्तन भएको राउतको भनाइ छ । पत्रकारहरुलाई कोर्ट रिपोर्टिङको विषयमा व्यापक तालिको व्यवस्थापन गर्न जरुरी रहेको समेत राउतले औँल्याउनुभयो ।
त्यस्तै, अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालती रिपोर्टिङको विषयमा सबै सञ्चारमाध्यमले समीक्षा गर्ने बेला आएको बताउनुभयो । अदालत समाचारहरुको खानी भएतापनि अदालती भाषाको विज्ञता अभावका कारण समाचार बन्न नसकिरहेको बस्नेतको भनाइ छ ।
‘अहिलेका समाचार गृह र सञ्चारमाध्यम कता गइरहेका छन् । अहिले हामी कसरी पत्रकारिता गरिरहेका छौँ । यस विषयमा अब समीक्षा गर्ने बेला आएको छ । सुनेको र कसैले भनेको भरमा मात्र नभइ तथ्यगत पत्रकारिता गर्नु आजको आवश्यकता हो । समाचारका लागि त अदालत खानी नै हो त्यहाँ सबै विषयहरु पुगेको हुन्छ । कुनैबेला नजानु पर्ने मुद्दासमेत अदालतमा जाँदा अदालत चपेटामा पर्न जान्छ । यस विषयमा पत्रकारिताले अहम् भूमिका खेल्नु आवश्यक छ,’ उहाँले भन्नुभयो ।