बाढी र पहिरोमा परी हालसम्म ४८ जनाको मृत्यु

32

काठमाडौँ, २४ असार । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ४८ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा ४ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी जम्मा ५४ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी ७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १२१ घर डुबानमा परेका छन् । ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १८८ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार ५८ घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...