जनशक्तिको अभाव झेल्दै मौसम पूर्वानुमान महाशाखा

21

काठमाडौँ, २१ असार । आधुनिक प्रविधिहरु भित्रिन थालेपछि नेपालमा मौसमको भविष्यवाणी मिल्ने गरेको मौसमविदहरुको धारणा छ । भू–उपग्रह (स्याटेलाइट)बाट प्राप्त बादलका तस्बिरबाट मौसमको पूर्वानुमान गरिन्छ । तर, नेपालमा पर्याप्त प्रविधि र जनशक्तिको अभावमा प्रभावकारी काम गर्न नसकेको मौसमविदहरु बताउने गर्छन् ।

मौसम पूर्वानुमान महाशाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँकी इन्चार्ज एवम् वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको २४ घन्टाको मौसमको पूर्वानुमान गर्न ठुलो क्षेत्रका डाटा संकलन गर्नुपर्ने बताउनुहुन्छ ।

मोडल बेस कम्प्युटर प्रोग्राममार्फत् पनि डाटा संकलन गरेर मौसमको पूर्वानुमान गर्ने गरिन्छ । तर, जनशक्तिको अभाव झेलिरहेको उहाँले सुनाउनुभयो ।

मौसमको भविष्यवाणी गर्दा मुलुकलाई साधारणतयाः तीन भागमा अर्थात् पश्चिम, मध्य र पूर्वी भेगमा विभाजन गरिन्छ । साथै ती भेगमा देखा पर्नसक्ने मौसमी गतिविधिलाई ध्यान दिई मौसमको भविष्यवाणी गर्ने गरिन्छ । त्यसका लागि प्रविधिसँगै जनशक्तिको अभाव रहेको उहाँले जानकारी दिनुभयो ।

यद्यपि, पूर्वानुमान महाशाखामा नयाँ नयाँ प्रविधिहरु थप्दै गएको र विकास पनि हुँदै गए पनि त्यसअनुसार जनशक्ति पुग्न नसकेको गुनासो मानन्धरको छ ।

उहाँले जनशक्तिको कमी भएको कारण एउटा व्यक्तिले धेरैवटा काम हेर्नुपर्ने अवस्था आएको भन्दै यसले गर्दा दिनप्रतिदिन कामको चाप बढीरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको सन्दर्भमा भन्नुपर्दा जल तथा मौसम विज्ञान विभाग २०४६ सालमा एउटा सानो शाखाको रुपमा मात्र थियो । अहिले विभागको रुपमा खडा भएका छौँ । देशभर नै लगभग आठसय वटा स्टेसनहरु छन् । समग्रमा हेर्नुपर्दा विभागमा दरबन्दी खासै बढ्न सकेको छैन ।’

महाशाखाले निरन्तर रुपमा नयाँ नयाँ प्रविधिहरु थप्दै गएको र विकास पनि हुँदै गएको सुनाउनुभयो । तर, त्यो अनुसार जनशक्ति पुग्न नसकेको उहाँको गुनासो छ । ‘एउटा व्यक्तिले धेरै वटाकाम हेर्नुपर्ने अवस्था छ । यसले गर्दा दिनप्रतिदिन कामको चाप भने बढिरहेको छ,’ उहाँले भन्नुभयो ।

तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरुको काम पनि काठमाडौँबाटै हेर्नुपर्ने भएकाले समस्या भइरहेको उहाँले बताउनुभयो । यस्तो समस्याको समाधान चाँडै हुन्छ भन्नेमा आशावादी रहेको पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...