यसपटक विगतभन्दा बढी वर्षा, उडान प्रभावित हुने

48

काठमाडौँ, २० असार । मौसम पूर्वानुमान महाशाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँकी इन्चार्ज एवम् वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले आगामी केही दिनसम्म मनसुनी वायु सक्रिय रहने बताउनुभएको छ ।

बिहीबार नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उहाँले मनसुनी वायु सक्रिय रहने र भारी वर्षा हुने देखिएको हुनाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘विगत केही दिनदेखि देशभर नै विभिन्न स्थानमा वर्षा भइरहेको अवस्था छ । आगामी केही दिन मनसुनी वायु सक्रिय नै रहने र भारी वर्षा हुने देखिएको हुनाले सतर्कता अपनाउन आग्रह गर्न चाहन्छु । यसपाली औसत अथवा औसतभन्दा बढी नै वर्षा हुने सम्भावना छ ।’

उहाँले विशेषगरी कोशी र मधेस प्रदेशमा बढी वर्षाको सम्भावना रहेको तराईका जिल्लाहरुमा बाढीको सम्भावना बढी रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विशेषगरी कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना रहेको छ । अहिलेको वर्षाको अवस्था हेर्दा तराईका जिल्लाहरुमा बाढीको सम्भावना बढी नै देखिएको छ । बागमती र गण्डकी प्रदेशमा पनि वर्षा राम्रै हुने देखिएको छ । गण्डकी भनेको मनसुनमा बढी नै पानी पर्ने प्रदेश हो । त्यतातिर पनि पहिरो र बाढीको सम्भावना धेरै देखिन्छ ।’

हालको अवस्थामा हेर्ने हो भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा हल्का खालको वर्षा भइरहेको अवस्था छ भने बिहीबार राती कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसमसम्बन्धी जानकारी लिनको लागि विभागले टोल फ्रि नम्बरको पनि व्यवस्था गरेको छ । ‘मनसुन सक्रिय हुँदा वर्षाका कारण उडानहरु धेरै प्रभावित भइ रहने हुन्छ । विशेष गरेर आन्तरिक उडानमा यस्तो समस्या धेरै आउने हुन्छ । किनभने आन्तरिक उडान पहाडी क्षेत्रतिर धेरै हुने गरेको पाइन्छ । यसको साथै अन्तर्राष्ट्रिय उडानमा पनि निरन्तरको वर्षाले असर पार्छ,’ उहाँले भन्नुभयो ।

यसको साथै, हवाई सँगसँगै सडकमा गुड्ने सवारी साधनको लागि पनि भारी वर्षा सुरक्षित नहुने भन्दै विभागले दिएका सूचनाहरुलाई हेरेर नै घरबाट निस्किन पनि विभागले आग्रह गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...