काठमाडौँ, १८ असार । उपसभामुख इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि आज (मंगलबार) चीन प्रस्थान गर्नुभएको छ ।
उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेसनल कर्पोरेसशनमा भाग लिन अपरान्ह १२ बजे छेन्दुतर्फ प्रस्थान गर्नुभएको हो ।
उहाँले उक्त फोरममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रतिनिधिसभाका सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकीय सचिव कुमार नेपाली पनि सहभागी छन् ।
फोरममा हिमाली क्षेत्रका यातयात, कृषि तथा औधोगिक क्षेत्रका साझा मुद्दाका बारेमा बहस हुने छ । उपसभामुख राना असार २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।