काठमाडौँ, १७ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्नेगरी काम भइरहेको जानकारी दिनुभएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक रहेको भन्दै संरचनागत सुधार मन्त्री परिवर्तन गरेर मात्र हुने कुरा नभएकाले सुधारका लागि सरकारको मुखमात्र ताकेर नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत सुधार गर्न मन्त्री परिवर्तन गरेर मात्र हुने कुरा त होइन । सुधारका लागि सरकारको मुखमात्र ताकेर हुँदैन । संरचनागत सुधारका लागि सुझाव दिने कार्यदल गठनको तयारी भइरहेको छ । शिक्षा मन्त्रालयमा बाहिरका कर्मचारी नआउने र शिक्षा क्षेत्रकै कर्मचारी आउने व्यवस्था गर्ने तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्नेगरी काम भइरहेको छ ।’
मन्त्री क्षेष्ठले शिक्षा क्षेत्रको रुपान्तरणका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबैको जिम्मेवारी हुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति कसरी गठन भएको छ भनेर अध्ययन भइरहेको भन्दै, विद्यार्थी र शिक्षकको अनुपात असन्तुलित देखिएकाले प्राथमिक तहका दरबन्दी काटेर माथिल्लो तहमा दरबन्दी बढाउन सकिनेबारे मन्त्रालयले गृहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले मानव सुचकाङ्कमा पछाडि परेका २४० वटा पालिकामा विनियोजन गरिएको बताउनुभयो ।