काठमाडौँ, २५ जेठ । फिफा विश्वकप तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग पराजित भएको छ ।
साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति भएको खेलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४–० गोल अन्तरले नै पराजित भएको थियो । जितसँगै समूह एचको शीर्ष स्थानमा रहेको युएईले पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको छ । बहराइन १० अंकसहित दोस्रो, यमन तेस्रो र नेपाल अन्तिमा रहेको छ । यमनको चार अंक छ भने नेपाल अंकविहीन अवस्थामा रहेको छ ।
युएईको जितमा अब्दुल्ला सुहेलले दुई अली सालेह र हाजेम मोहम्मद अबुल्लाह अब्बासले समान एक एक गोल गरे । पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि समान दुई गोल ब्यहोरेको हो । नेपालले पहिलो गोल खेलको १२औँ मिनेटमा गोल खाएको थियो । हरिब अब्दुल्ला सुहेलले खेलको १२ र १४औँ मिनेटमा गोल गरेका थिए ।
त्यसपछि नेपालले ५३औँ मिनेटमा गोल ब्यहोरेको थियो । अलीले गोल गर्दै युएईका लागि ३–० को अग्रता दिलाए । ७५औँ मिनेटमा हाजेमले गोल गरेपछि युएईले खेलमा ४–० को जित हासिल गर्यो । अब नेपालले यमनसँग विश्वकप छनोटको खेल खेल्न बाँकी छ ।