टी–२० विश्वकपमा युगान्डाको पहिलो जित

18

काठमाडौँ, २४ जेठ । आइसिसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले पहिलो जित निकालेको छ । समूह ‘सी’को पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको युगान्डाले बिहीबार भएको खेलमा भने पपुवा न्युगिनी (पिएनजी)लाई ३ विकेटले पराजित गरेको हो । पिएनजीको भने यो लगातार दोस्रो हार हो ।

पिएनजीले दिएको ७८ रनको लक्ष्य पूरा गर्नका लागि युगान्डालाई हम्मेहम्मे परेको थियो । युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

१ रन हुँदा युगान्डाले रोजर मुकासालाई गुमाएको थियो । उनी खाता नखोल्दै आउट भएका थिए । दोस्रो विकेटको रुपमा १ रन बनाए रोविनसन ओबुया आउट भए । ६ रन हुँदा तेस्रो विकेटको रुपमा १ रन बनाएर सिमोन सेसाजी आउट भए । यसैगरी अल्पेस रमजानी टिमको स्कोर २५ रन हुँदा चौथो विकेटको रुपमा पभेलियन फर्किए । उनले १० बलमा ८ रन बनाएका थिए । गुगान्डाको ६.३ ओभरमा २६ रन हुँदा पाँचौँ विकेट पतन भएको थियो ।

पाँचौँ विकेटको रुपमा दिनेश नकर्नी आउट भए । त्यसपछि रियाजत अलि साह र जुमा मियागीले ३५ रनको साझेदारी गरेपछि युगान्डा लक्ष्य नजिक नजिक पुगेको थियो । १३.४ ओभरमा १३ रन बनाएका जुमा मियागी रन आउट भए । उनी आउट हुँदा युगान्डाको स्कोर ६१ भएको थियो । सातौं विकेटको रुपमा सर्वाधिक रन बनाउने रियाजत आउट भए । उनले ५६ बलमा ३३ रनको पारि खेले । टिकेर खेलेका उनले एक चौका मात्रै प्रहार गरेका थिए । उनी १७.५ ओभरमा सातौं विकेटको रुपमा पभेलियन फर्किएका हुन् ।

त्यसपछि केन्नेथ वासिवाले र कप्तान ब्रेन मासिवाले खेल जिताए । केन्नथले ७ रनको नटआउट पारि खेल्दा कप्तान ब्रेनले खाता नखोली साथ दिए ।

पिएनजीका लागि एली नाओ र नोर्मान भानुआले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर ७७ रन बनाएको थियो ।

पिएनजीले खराब सुरुवात गरेको थियो । टप अर्डर नचल्दा मिडल अर्डरले केही प्रयास गरे पनि सार्थक भएन । कप्तान असद भाला खाता नखोल्दै आउट भए भने अर्का ओपनर टोनी उराले १ रन बनाए । सेसे बाउले ५ रन बनाए । लिगा साइकाले १२ रन बनाउँदा हिरि हिरिले सर्वाधिक १५ रनको पारि खेले । चार्लेस अमिनिले ५रन बनाउँदा किप्लिन डरोगाले १२ रन जोेडे । त्यसैगरी, चाद सोपरले ४ रन बनाउँदा नोर्मान भानुआ र एलियो नाओले पाँच पाँच रन जोडे ।

युगान्डाका अलिपेस रमजानी, कसमम केयुटा, जुमान मियागी र फ्रांक नसबुगाले समान दुई–दुई विकेट लिँदा बरिन मसाबाले एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...