बरु बाघ भालु लैजानुहोस्, चिडियाखाना कुनै हालमा सार्न दिँदैनौँ : नगरप्रमुख महर्जन

37

काठमाडौँ, २३ जेठ । ललितपुर महानगरपािलकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्यविनायकमा सार्न नदिने प्रष्ट पार्नुभएको छ ।

बुधबार वातावरण दिवसको अवसर पारेर ललितपुरको जावालाखेलमा राष्ट्रिय प्रकृतिक संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख महर्जनले महानगरले चिडियाखानाको विकासमा सहकार्य गर्दै आएको र थप गर्ने बताउनुभयो ।

यस्तै, उहाँले चिडियाखानाभित्र रहेको पोखरीमा पानीको मुहान सुकेको प्रति चिन्ता व्यक्त गर्नुभयो । उक्त पोखरीको संरक्षण गर्न टिकाभैरवबाट पानी ल्याएर पोखरीमा पानी हाल्ने महानगरको योजना टेण्डर प्रक्रियामा पुगेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘हामीले टेण्डर गरिसकेका छौँ त्यो मूल्यांकनको चरणमा छ । हामी टिकाभैरवको पानी ल्याउँछौँ र त्यो सप्तपातल पोखरीमा भरिसकेपछि एउटा कुलो बनाएर चिडियाघरको बीचमा रहेको पोखरीमा हामी पानी ल्याउँछौँ भनेको थिए त्यो काम होला होला जस्तो भइरहेको छ ।’

चिडियाखानाको विकासका लागि राम्रो योजना बनाएर ल्याए सहकार्य गर्न महानगर तयार रहेको बताउनुभएका महर्जनले चिडियाखाना सूर्यविनायकमा सार्न भने नदिने दाबी गर्नुभयो ।

‘आज हाम्रो मन्त्रीज्यू पनि हुनुहुन्छ मैले यो कुरा भन्नै पर्ने हुन्छ, यो सरदर चिडियाखाना हामी सूर्यविनायकमा सार्न दिँदैनौँ । तपाईंहरु अर्कै बनाउनुहोस् यहाँ बढी भएका बाघ भालु बरु लानुहोस् तर यो ठाउँ चाहिँ हामी सार्न दिँदैनौँ,’ महर्जनले भन्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०११ मा जावलाखेलमा रहेको सदर चिडियाखाना साघुँरो भएका कारण जीवजनावर राख्नको लागि नयाँ र आधुनिक किसिमको चिडियाखाना निर्माण गर्नुपर्ने आवश्यकता अध्ययनमार्फत् औंल्याएको थियो ।

त्यसपछि २०७१ माघ १० गते मन्त्रिपरिषद् बैठकले भक्तपुरको सूर्यविनायकमा चिडियाखाना बनाउने निर्णय गरेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ३ गते उक्त आयोजनाको शिलान्यास समेत गरिसक्नुभएको छ । तर, चिडियाखाना निर्माण योजनाले गति लिन सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...