टी–२० विश्वकप : आयोजक वेस्ट इन्डिजको विजयी सुरुवात

14

काठमाडौँ, २१ जेठ । आइसिसीसी टी–२० विश्वकप क्रिकेटमा सहआयोजक वेस्टइन्डिजले विजयी सुरुवात गरेको छ । समूह ‘सी’मा रहेको वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी)लाई ५ विकेटले पराजित गरेको हो ।

गुएनामा टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै खेल जित्न सफल भयो । वेस्ट इन्डिजका रोस्टन चेस खेलको प्लेयर अफ द म्याच चुनिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीको सुरुवात खराब रह्यो र टोलीले ५० रन मात्र नपुग्दासम्म आफ्ना ४ प्रमुख ब्याटरको विकेट गुमाएको थियो । टोनी उरा २ र लेगा सियाका १ आउट भए । सोही क्रममा कप्तान असद भालाले २२ बलमा २१ रनको स्लो इनिङ खेले । टोलीले नवौँ ओभरमा हिरी हिरी (२०)को रूपमै चौथो विकेट गुमाएको थियो । त्यहाँबाट सेसे बाउले जिम्मेवारी लिए र चार्ल्स अमिनीसँग मिलेर स्कोर १०० को नजिक पुर्याए । यी दुईबीच पाँचौं विकेटका लागि ४४ रनको साझेदारी भयो ।

अमिनीले १४ बलमा १२ रन बनाए र १५औँ ओभरमा ९४ रनको स्कोरमा आन्द्रे रसेलको टी–२० अन्तर्राष्ट्रिय करियरको ५०औँ शिकार बने । यससँगै बाउले आफ्नो अर्धशतक पूरा गरे । उनले ४३ बलमा छ चौका र एक छक्काको मद्दतमा ५० रनको इनिङ खेले । बाउ टिमको स्कोर ९८ रनमा आउट भएपछि तल्लो क्रमका किप्लिन डोरिगाले १८ बलमा अविजित २७ रन बनाएका कारण टोली १३६ रन बनाउन सफल भयो । वेस्ट इन्डिजका आन्द्रे रसेल र अल्जारी जोसेफले २–२ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले दोस्रो ओभरमा ओपनर जोन्सन चार्ल्स (०)को विकेट गुमाएको थियो । निकोलस पूरन पनि सोही ओभरमा आउट हुन सक्थे । पिएनजीले एलबीडब्ल्यू आउटको अपिल गरे पनि डिआरएस लिएन र जोगिए ।

ब्रेन्डन किङले ३४ रन बनाउँदा पुरनले पनि केही राम्रा सट खेले तर ६१ रनको स्कोरमा २७ रन बनाएर आउट भए । त्यहाँबाट विकेट पतन सुरु भयो र केही समयमै स्कोर ९७÷५ बनेपछि वेस्टइन्डिज दबाबमा आयो ।

तर, रोस्टन चेसले आन्द्रे रसेलसँग १८ बलमा ४० रनको अविजित साझेदारी गरे र एक ओभर बाँकी राखेर आफ्नो टोलीलाई जित दिलाए । चेसले २७ बलमा ४२ रनको अविजित इनिङ खेले । योसँगै रसेलले ९ बलमा अविजित १५ रन बनाए ।

पपुवा न्युगिनीका असद भालाले सर्वाधिक २ विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...