क्यान पारदर्शी छैन, यस्तै हो भने नेपालले धेरै गुमाउनुपर्ने हुन्छ : नवीन अर्याल

44

नवीन अर्याल खेल पत्रकारिताको सुपरिचित नाम हो । नवीनले खेलसम्वद्ध संघसंस्था र खेलाडीको नालीबेली केलाउन सक्नेगरी अध्ययन गर्नुभएको छ । खेल क्षेत्रभित्र हुने गैरव्यवसायिक चलखेल, राजनीतिक हस्तक्षेप र अस्वस्थ्य दाउपेचको उत्खनन् गर्ने क्षमता भएका नवीन खेलपत्रकारिताको चलनचल्तीको स्वभावसँग केही दूरी राख्नुहुन्छ । उहाँले नेपाली खेलकुदको इतिहास अन्वेषण गरेर गहकिलो पुस्तक हालै प्रकाशमा ल्याउनुभएको छ । पत्रकारितासँगै खेलविज्ञका रुपमा नवीन एकजना सिद्धहस्त लेखकको परिचयमा उदाउनुभएको छ । उहाँले पुस्तक लेखनको लामै सूचि पनि तयार गरेको सुनाउनुभयो ।

अहिले चर्चामा रहेको क्रिकेट खेल र क्रिकेट एसोसिएसन नेपाल (क्यान)सँग सम्बन्धित प्रसंगको सेरोफेरोमा रहेर नेपाल न्यूज बैंकले लेखक तथा खेल विश्लेषक नवीन अर्यालसँग विस्तृत वार्ता गरेको छ । क्यान पारदर्शिताको प्रश्नले घेरिएको बताउँदै उहाँले यसमा सुधार हुन नसके नेपालले धेरै कुरा गुमाउन सक्ने चिन्ता प्रकट गर्नुभयो । यस्ता बिषयमा प्रश्न उठाउनुपर्ने खेल पत्रकारिता पनि अवसरहरुको प्रलोभनमा जेलिएको नवीनको टिप्पणी छ ।

अहिले नेपालमा विशेषगरी क्रिकेटको विषयमा धेरै बहस हुने गरेको छ । खासगरी क्रिकेटर सन्दीप लामिछानेको विषयलाई लिएर धेरै चर्चा छ । सन्दीपले विश्वकप खेल्न जाने भिसा पाउने नपाउने भन्ने विषय त विवादमै छ । यो सबै परिस्थितिलाई कसरी हेरिरहनुभएको छ ?
सन्दीपमाथि अहिले एकदमै ठुलो अन्याय भएको छ । जसरी कुनैबेला सचिन तेन्दुलकर भारतको क्रिकेटको मेरुदण्ड भनेर चिनिन्थे, अहिले नेपालमा सन्दीप त्यहिँ स्तरमा चर्चामा छन् । अहिले उनको भिसाको प्रक्रिया जुन छ र जसरी अमेरिकी दूतावासलाई भिसा दिएन भन्दै काठमाडौँमा नारा जुलुस पनि भयो । अमेरिकाले भिसा नदिएको अथवा सन्दीपले भिसा नपाएको कारण के हो भने सन्दीपलाई अहिले नेपाल क्रिकेट संघले आफ्नो १५ सदस्य क्रिकेट टिममा समावेश गरेको छैन । क्यानको कार्य समिति र विशेष क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले यो सबै खेलको जिम्मेवारी लिनुभएको छ । कार्यसमितिलाई पनि पन्छाएर जसरी उहाँहरु व्यवस्थापनमा खटिनुभएको छ । त्यसैले यसमा सबैभन्दा बढी दोस म उहाँहरुको देख्छु । उहाँहरुले अमेरिका र नेपालको जुन ‘पिपुल्स टु पिपुल्स’ सम्बन्ध थियो । त्यसलाई पनि अहिले बाटोमा आएर गालि गलौजको अवस्थामा ल्याइपुर्‍याइदिनुभयो ।

यो कुनै ठुलो समस्था नै होइन । जसरी सन्दीपले अदालतबाट सफाइ पाइसकेपछि अन्तर्राष्ट्रिय नियममा एउटा प्रारम्भिक टिम सुरुमा नै पठाउने चलन हुन्छ । अन्तिममा त्यो टिम प्रतियोगिता हुनुभन्दा ४८ घन्टाभन्दा अगाडि खेलाडिको नाम फाइनल ड्राफ्ट हुन्छ त्यसलाई नै अन्तिम मानिन्छ । त्यो समय अझै बाँकी छ । त्यसैले सन्दीपले सफाइ पाइसकेपछि उनलाई फाइनल ड्राफ्टमा नेपालको नम्बर १ खेलाडि भएको कारणले गर्दा पनि प्राथमिकतामा राखेर १५ सदस्यीय टिमको घोषणा गर्नुपर्थ्यो । तर, क्यानले आजसम्म त्यो गरेको छैन । अमेरिकाले अब नेपालको राष्ट्रिय टिममा नै समावेश नभएको खेलाडिलाई कसरी भिसा दिने, त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो । क्यानको अहिलेको नेतृत्व विशेषगरी चतुरबहादुर चन्द र पारस खड्काले १५ सदस्यीय टिममा उनको नाम किन नराखेको यो नै रहस्यमय छ । उहाँहरु सन्दीपको लागि चिन्तित छौँ उ नभए भंयकर हुन्छ भनेर बाहिर चाहिँ आफ्नो फ्यानहरुलाई बेवकुफ बनाइराख्नुभएको छ । उहाँहरुले सन्दीपको नाम १५ सदस्यीय टिममा राख्नेबित्तिकै आयोजक देशको नाताले अमेरिकाले भिसा दिन बाध्यकारी अवस्था बन्छ । किनकी आइसिसीले सन्दीपको नाम त्यहाँ हुनेबित्तिकै स्टेट डिपार्टमेन्टलाई भिसाको प्रक्रियाको लागि उनीहरुले माथिबाट निवेदन गरेर पनि सहज हुन्छ । तर, यहाँ अहिले भिसा दिएन भन्दै मन्त्रीहरुकोमा धाउने तर नाम चाहिँ नपठाउने अनौठो व्यवहार प्रदर्शन भएको छ ।

क्यानको नेतृत्वले जे प्रक्रिया गर्नुपर्थ्यो त्यो नगरेर भावनात्मक कुरामात्र गर्‍यो र प्रक्रियमा सामेल गराएर व्यवस्थापकीय रुपमा क्यानले काम गरेन भन्ने हो ?
सबैभन्दा सजिलो कुरा के हो भने आयोजक राष्ट्रको नाताले अमेरिकाले त्यहाँ खेल्न जाने क्रिकेट टिमलाई भिसा दिनुपर्ने अनिवार्य सर्त छ । तर, त्यो टिममा नै नभएपछि के आधारमा भिसा दिने सन्दिपलाई ? त्यसैले यो बनावटी कुरा गरेर व्यवस्थापनले आफ्नो इमेज राम्रो हुन्छ भनेर गरेको कुरालाई लिएर हुँदैन । म क्यानलाई प्रश्न गर्छु, सन्दीपको अहिलेको स्टाटस चाहिँ के त ? उनी राष्ट्रिय खेलाडि हुन कि होइनन् ? हुन् भने टिममा नाम समावेश हुनुपर्‍यो कि त मुद्दाको कारण पहिले नै टिम छनोट गरेका थियौँ, अहिलेको लागि सरी भन्नुपर्‍यो । नत्र यो अमेरिका र नेपालको सम्बन्धलाई सडकमा ल्याएर जिन्दावाद र मुर्दावादको विषय बनाउन क्यानको नेतृत्वले मिल्दैन ।

सन्दीप लामिछाने क्रिकेटमा आएदेखि निकै चर्चामा छन्, पछि न्यायिक अनुसन्धानमा परेर विवादमा अल्झिए तर लामो कानुनी प्रक्रियापछि सफाइ पाएका छन् । सन्दीपलाई नै केन्द्रबिन्दुमा राखेर अरु खेलविधा ओझेलमा पर्नेगरी किन विवाद भैरहन्छ ? किन सन्दीपलाई मुख्य पात्र बनाएर नेपाली क्रिकेटको चर्चा भइरहेको हो ?
मलाई पनि अचम्म लागेको कुरा यस्तै नै हो । तर, घटनाहरुले यस्ता विवादलाई पुष्टि गर्दै जाने कुरा हो । पहिलादेखि नै सन्दीप र पारस खड्काको सम्बन्ध राम्रो छैन भन्ने कुरा आएको थियो । तर, मलाई के लागेको थियो भन्दा पारस खड्का नेपालको राम्रो क्याप्टेन भएको हिसाबले उनले पनि धेरै संघर्ष गरे । क्रिकेट संघमा उसलाई पनि क्याप्टेनबाट निकालियो फेरि आए प्रतिबन्ध लगाए, एक्लै क्रिकेट संघ पनि हाँके सबै गरे । यो सबै कुरा बुझेको भएर क्रिकेट संघमा उनी सचिव भएर आइसकेपछि यस्तो कुराहरु फेरि हुँदैन भनेर मलाई लागेको थियो । तर अहिले आएर उनले सबै क्रिकेटप्रेमीहरुलाई निराश पारेका छन् र सन्दीपको क्षमतालाई तिरस्कार गरेका छन् ।

सन्दीपको प्रतिभा नै उनलाई आलोचनाको केन्द्रमा राख्ने विषय हो त ?
अब क्यानको अहिलेको नेतृत्वले के भन्यो भन्दा सन्दीपको प्रतिभा नै उनको लागि हानिकारक भएको जस्तो देखिरहेको छ । यसरी क्रिकेट कसरी अगाडि बढ्छ मैले त त्यस्तो देखेको छैन ।

क्यानले देशभरको क्रिकेटको प्रतियोगिता हुन्छ स्थानीय तहदेखि क्षेत्र र प्रदेश तहमा त्यसको संयोजन कसरी गरिरहेको छ । खेलाडीहरुको प्रमोशन गरौँ उनीहरुलाई राम्रो किसिमले अगाडि बढाउँ र राम्रो खेलाडी निर्माण गरौँ भन्ने खालको कुनै योजना बनाएको र त्यसमा लगानी भएको देखिन्छ ?
छैन । किनभने ग्रासरुट तहमा जति लगानी हुनुपर्ने हो, त्यति भएको छैन । अहिले योभन्दा भन्दै सन्दीपको बढी कुरा भएको भएर आज क्रिकेट संघमा यो वर्ल्डकपमा छनोट भएको एसिसी प्रिमियर लिग जितेको, एसिसी खेलेको र हामीले डिभिजन २ को आयोजना गर्ने अवसर प्राप्त गरेको नाताले एउटा फन्ड भने दिएको छ । त्यो लगभग लगभग २० करोडको हाराहारीमा छ । त्यो रकम ल्याउनुमा सबैभन्दा मुख्य योगदान भनेको सन्दीप लामिछानेको खेल हो । उनले जसरी नेपाललाई जिताएको कारणले जुन सहयोग रकमहरु आएको छ । त्यसको आजसम्म पनि केही भएको छैन । क्यानमा नयाँ नेतृत्व आएको छ उसले क्रिकेट संघमा हिजो आर्थिक पारदर्शिता भएन, भित्रको पैसाको गडबडी भयो भनेर मुद्दा गरेर प्रतिबन्धको अवस्थासम्म पुग्यो । तर अहिले आफू त्यो पदमा आएपछि त्यो हिसाब आजसम्म देखाइएको छैन । किन त ?

आफ्नो वेबसाइटमा यो टुर्नामेन्टमा यति पैसा खर्च भयो यो भयो भनेर देखाए भयो त अहिलेसम्म त्यो पैसा कता कता खर्च भयो भन्ने कुरा केही पनि देखिएको छैन र यो विश्वकपको तयारीको लागि जसरी एक एक महिना अगाडि नै खेलाडीहरुलाई बाहिर पठाइयो, मेरो विचारमा हाम्रो तयारी अलि माथिल्लो तहको खेलाडीहरुसँग हुनुपर्ने थियो । किनभने हामी घुम्न गएको होइन,, हामीले एसोसिएट देशहरुमा राम्रो खेलेर राम्रो चर्चा भइसकेको छ । राम्रो खेल प्रदर्शन गरिसकेका छौँ ।

आइसिसीले पनि त्यहीअनुसार हामीलाई माथिल्लो तहमा राखेर आर्थिक सहयोगहरु गरिरहेको छ भने अब हाम्रो अर्को लक्ष्य भनेको टेस्ट प्लेइङ नेसनहरुसँग गजबको परिणाम ल्याएर हामी अझ माथि जाने कुरा हो । त्यसको लागि जुन किसिमको तयारीहरु हुनुपर्ने थियो । त्यो तयारी मैले देखिरहेको छैन । यो एक महिना गएर त्यो वेस्ट इन्डिजको क्लब टिमसँग खेल्ने, अमेरिका गएर क्लब टिमसँग खेल्ने, भनेपछि सरकारले दिएको त्यो ५ करोड त्यसै खर्च गरेर र आफ्नो बेस्ट खेलाडीलाई घरमा थन्काएर वर्ल्डकप खेल्न जानु भनेको यो क्रिकेटमा राम्रो संकेत हो जस्तो मलाई लागिरहेको छैन ।

क्रिकेटकै कुरा गर्दा यसमा खेलाडीहरुको कारणले नेपालको खेलकुद पछि परेको भन्दा पनि विधागत नेतृत्वको व्यवस्थापन कमजोर भएका कारणले पछि परेको जस्तो देखियो होइन त ?
हो नि । किनभने खेलाडीहरुले आफ्नो स्थानबाट सय प्रतिशत योगदान दिइरहेका छन् सबैले, आर्थिक समस्या भएपनि पारिवारिक समस्याहरु भएपनि एकदमै मेहेनत गरेर लागि रहेका छन् तर हाम्रोमा संस्थाहरु प्राय हेर्छु म खेलकुदको संस्थाहरु यो क्रिकेटको मात्र कुरा होइन । अरु संस्थाहरुमा पनि हेर्छु, पैसा आइसकेपछि पैसाको यति धेरै नराम्रो व्यवस्थापन छ र यति अपारदर्शी रुपमा खर्च गरेको हुन्छ । ग्रासरुट तहमा अहिले पैसाहरु जानु पर्ने थियो जुन आइसिसीबाट करिब २१ करोड जुन आएको छ । त्यो नयाँ खेलाडी उत्पादन गर्न खर्च गर्नुपर्थ्यो नि त ।

खेल संस्थाहरु पारदर्शी हुनुपर्छ । त्यसको लागि सबैभन्दा ठुलो कमजोरी भनेको राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको हो । जब क्रिकेट यति राम्रो खेल हो २ पटक वर्ल्डकप खेलिरहेको छ र अगाडि बढ्ने धेरै सम्भावना देखिन्छ । सरकारले पनि यसलाई एकदमै ठुलो महत्वका साथ हेरेको छ, त्यसैले क्रिकेटको रंगशाला बनाउने विषय पाइलट प्रोजेक्टमा राखेर अगाडि बढाएको छ, बजेटमा पनि त्यति धेरै पैसा राखेको छ ।

यति धेरै सरकारदेखि सबैले गरिरहेको छ भने त्यहाँभित्र भएको जुन विदेशबाट आउने पैसाहरु जति पनि छ त्यसको पादर्शिताको एकदमै ठुलो संकट देखिरहेको छु । योभन्दा अगाडि पारस खड्का सचिवको नाताले अमेरिकामा फन्ड लिन भनेर जानुभयो, उहाँले त्यो काम गर्दैगर्दा राष्ट्रिय खेलकुद परिषद् अथवा युवा मन्त्रालयसँग किन समन्वय नगरेको ? किनभने अमेरिकामा त डलरको कारोबार हुन्छ । डलरमा कारोबार गर्दा हाम्रो नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ त्यसको लागि मन्त्रालयबाट अथवा राष्ट्रिय खेलकुद परिषद्बाट उहाँले स्वीकृति लिनु भएको छ ? मलाइ त त्यस्तो लाग्दैँन । त्यो पैसा पनि जुन उठेको छ, आजको मितिसम्म पनि नेपाल क्रिकेट संघको खातामा जम्मा भएको छैन । भनेपछि यस्तो कुराहरुले मानिसलाई डिक्टेटरसिपतिर लान्छ । आफ्नो फेमलाई पैसामा परिणत गर्नतिर जसरी मान्छेहरु आतुर भइरहेका छन् । त्यो कुरालाई राष्ट्रिय खेलकुद परिषद्, युवा मन्त्रालय र नेपाल सरकारले अहिले नै चेक एण्ड ब्यालेन्स गरेन भने अर्को ठुलो संकटतर्फ नेपाली क्रिकेट धकेलिन्छ । किनभने आइसिसीले फन्डको दुरुपयोग गरेको कुरा स्वीकार गर्दैन । यो कुरा फुटबलमा पनि लागु भइसक्यो, गणेश थापालाई १० वर्ष प्रतिबन्ध लगाएको यही आर्थिक अपारदर्शिता नै मुख्य कारण थियो ।

पञ्चायतकालदेखि नै राष्ट्रिय खेलकुद परिषद्मा एउटा प्रवृत्ति हुर्किँदै आएको छ । पादर्शिताको प्रश्न त छ नै, आज पनि त्यो प्रवृत्तिले काम गरिरहेको जस्तो लाग्छ ?
पञ्चायतकालमा खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि अन्तर्राष्ट्रिय स्तरमा पहुँचहरु पुर्‍याउनका लागि जुन किसिमको कटिबद्ध भएर संगठन लागेको थियो । तर, अहिले त्यो हिसाब किताबमा लागेको पनि देखिँदैन । पहिलाको तुलनामा पैसाहरु आइरहेको अन्तर्राष्ट्रिय स्तरबाट पैसाहरु आएको छ । त्यो कुरामा परिषद्ले जसरी पहिला नियन्त्रण गर्थ्यो पञ्चायत कालमा त्यो समयमा पैसा पनि कम आउँथ्यो तर अहिले खेल क्षेत्रले फड्को मार्‍यो त्यो भएर जुन पैसा आउँछ त्यो पैसा कहाँ सदुपयोग हुन्छ भन्ने कुरा सुक्ष्म रुपमा हेर्ने काम राष्ट्रिय खेलकुद परिषद्ले गर्छ किनभने उसले आफूलाई अभिभावकीय संस्था भनेर भन्छ भने त्यो पैसा दुरुपयोग भएको छ कि छैन भनेर हेर्ने जिम्मेवारी पनि उनीहरुको हो । त्यो काम भैरहेको छैन ।

अहिले नै क्रिकेटको कुरा गर्दा खेलकुद परिषद्को पदाधिकारीहरु र युवा तथा खेलकुद मन्त्रालयमा भएका व्यक्तिहरु आफैँ क्रिकेट संघसँग अमेरिकाका लागि भिसा लगाइदिनु पर्‍यो भनेर अनुरोध गर्दै हिँड्छन् भने उनीहरु कसरी क्रिकेट संघको हिसाब किताब हेर्न सक्ने हैसियत राख्छन् त ?

तपाईंले दुइ दशकभन्दा लामो समयदेखि पत्रकारिता र खेलकुद विधालाई मुख्य विधा बनाएर काम गर्नु भएको छ । यो राष्ट्रिय खेलकुद परिषद् र विधागत संघहरुको जुन अपादर्शि प्रवृत्ति हुर्किरहेको छ । त्यो खेलकुद पत्रकारहरुको त्यति ठूलो संगठन छ, पत्रकारहरु के गर्छन् त ?
हाम्रो सबैभन्दा ठुलो दुर्भाग्य के भयो भने हामी जो संस्थामा काम गर्छौँ त्यो संस्थाले पनि खेलकुदलाई एउटा मनोरञ्जनको रुपमा मात्र लिन्छ । त्यसलाई एउटा व्यवसायिक रुपमा लिएको छैन । मैले प्रत्यक्ष अनुभव गरेको कुरा एउटा, हामीहरु जहाँ जवाफदेही हुनुपर्ने हो त्यो संस्थाले नै हामीहरुलाई जवाफदेही बनाएको छैन भने अर्को कुरा आर्थिक कुराहरु किनभने मिडियामा काम गर्दा समयमा पैसा नदिने भएपछि अर्को पाटोहरु हेर्नुपर्‍यो र अर्को कुरा सबैभन्दा ठूलो ग्ल्यामरश कुरा के भन्दा खेलकुदमा लागेपछि विदेशक जाने अवसरहरु बढि हुन्छ । त्यो भएपछि मानिसलाई लोभ त्यतिकै भइहाल्छ । विदेश जान पाए हुन्थ्यो भन्ने भएपछि, अब त्यहाँ जान के हुन्छ भने विदेश जाने लोभले एसोसिएसनमा जान पर्छ त्यसको ट्यागबाट जानुपरेपछि तपाईको त्यो हिम्मत नै हुँदैन कि त्यहाँभित्रको खराब प्रवृत्तिको आलोचना गर्न । किनभने आलोचना गर्ने हो राम्रो मानिनु हुदैँन् । त्यसपछि तपाइले समाचार कसरी लेख्नु हुन्छ ।

यही कुरामा यत्रो ठुलो हाउसहरु छ । कति आफैँ सञ्चालन भएका मिडियाहरु छन् । त्यो मिडियाहरुले नेपालले वर्ल्डकप खेल्दै छ अमेरिकामा हाम्रो तर्फबाट एकजनालाई पठाउँछु भनेर भन्यो भने त भोलि उसले लेख्छ नि त के सहि के गलत हो भनेर तर त्यो क्रिकेट संघकै पदाधिकारीसँग दाइ मलाई लानु पर्‍यो तपाईको अन्तर्वार्ता राम्रो बनाएर हाल्छु भन्ने अवस्था भएपछि कसरी समाचार राम्रो हुन्छ ।

हाम्रो सोच नै त्यो किसिमको छ । जसले गर्दियो, घुमाइदियो, त्यसको नराम्रो कुरा पनि राम्रो भन्नु पर्ने अवस्था छ । सत्यको खोजी गर्न होइन, सम्झौतातिर गयो हाम्रो पत्रकारिता ।

हाम्रो क्रिकेटको भविष्य कस्तो देख्नुहुन्छ ?
मैले जहिले पनि लेख्दा यसको अन्तिममा गएर के हुन्छ भनेर जहिले पनि सोच्छु । यो केशमा पनि मैले के देखिरहेको छु भने जसरी क्यानभित्र अपादर्शिता मौलाई रहेको छ । जुन पैसाहरु आइरहेको छ । नेपालले पछिल्लो समय गरेको सन्दीप लामिछाने हुँदा हासिल गरेको सफलताको कारणले गर्दा जुन अनुदान पैसा जुन आइरहेको छ । त्यो पैसाको यति धेरै नराम्रो व्यवस्थापन भइरहेको छ क्यानभित्र त्यो कुरालाई अहिले राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले त्यसलाई लगाम लगाएन भने फन्डिङहरु राम्रो नहुनेबित्तिकै हिसाबको पारदर्शिता नहुनेबित्तिकै किनभने क्यानमा सबै जना एउटै सोचको मान्छे बसेको हुँदैन। विभिन्न सोचको मानिस बसेको हुन्छ । त्यो बढ्दै बढ्दै गएर नराम्रो व्यवस्थापनमा गएर अन्तिममा आइसिसीले आर्थिक प्रतिबन्ध लगाउनु पर्ने अवस्था हुन्छ । एकै पटक गर्दैन । अहिले जसरी नेपालको क्रिकेट अगाडि बढोस् भनेर दिल खोलेर दिएको छ । त्यसलाई नियन्त्रण गर्छ ।

त्यो भयो भने यहाँ झन ठुलो तमासा हुन्छ । सबै खेल पैसाको हो त्यसले क्रिकेट संघलाई अर्को प्रतिबन्धतर्फ लान्छ ।

Share This:
सम्बन्धित खबर
Loading...