काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नागरिकको जीवनशैलीकारुपमा संस्थागत भएको बताउनुभएको छ । उहाँले गणतन्त्र एउटा राजनीतिक व्यवस्थामात्रै नभएर शासकीय पद्धति र जीवनशैली भएको बताउनुभएको छ ।
मंगलबार १७औँ गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भइ नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको दाबी गर्नुभयो ।
‘गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति हो,’ प्रचण्डले सन्देशमा भन्नुभएको छ, ‘अझ त्यसभन्दा माथि संघीय लोकतान्त्रिक गणतन्त्र, स्थानीय स्वायत्तता र आधारभूत विषयमा स्वनिर्णयको अधिकारसमेत हो । तसर्थ, यसका लाभलाई आम नागरिकमा पुर्याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको छ ।’
उहाँले गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा रहेको भन्दै यो व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रहि समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले गणतान्त्रिक संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापित गरेको बताउनुभयो ।