ललितपुर वुमन्स च्याम्पियन्ससिप : ललितपुर–११ को विजयी सुरुवात
काठमाडौँ, २९ वैशाख । ललितपुर वुमन्स च्याम्पियन्ससिप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत घरेलु टोली ललितपुर–११ ले विजयी सुरुवात गरेको छ ।
ललितपुर ११ ले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । ५३ रनको सामान्य लक्ष्य ललितपुरले १३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
ललितपुरको जितमा पूजा महतोले नटआउट पारि खेलिन् । उनले ३० बलमा ३ चौका प्रहार गर्दै २३ रनमा नटआउट रहिन् । यस्तै, लक्ष्मी चौधरीले १२ रन बनाउँदा ७ बलमा ३ चौका हिर्काइन् । किरण कुँवर र सरस्वती घर्तीमगरले ६–६ रनको योगदान गर्दा बागमतीकी खुसी डंगोलले एक विकेट लिइन् । खुसीले लक्ष्मी चौधरीलाई आउट गर्दा किरण र सरस्वती भने रनआउट भएका थिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको बागमती प्रदेश १४.२ ओभरमा ५२ रनमा समेटिएको थियो ।
बागमतीकी कप्तान अश्मिना कर्माचार्यले २० रन बनाउँदा २६ बल फेस गरिन् । उनले ३ चौका प्रहार गरिन् । कञ्चन श्रेष्ठ ११, हेलिसा गुरुङ ५ र खुशी डंगोलले ६ रन बनाएकी थिइन् ।
यस्तै, ललितपुरकी कृतिका मरासिनीले ह्याट्रिक गर्दा पनि बागमतीको पारी ध्वस्त भएको थियो । मरासिनीले १२औँ ओभरका चौथो, पाँचौँ र छैटौँ बलमा विकेट लिँदै ह्याट्रिक गर्न सफल भइन् । उनले खुसी चौधरीलाई बोल्ड आउट गर्दा विपिशा शाहीलाई क्याच आउट गरिन् । छैटौँ बलमा भने उनले मनिषा उपाध्यायलाई बोल्डआउट गर्दै ह्याट्रिक पूरा गर्न सफल भइन् । उनले १४औँ ओभरको पहिलो बलमा पनि विकेट हात पार्दै लगातार चार बलमा चार विकेट लिइन् ।
ललितपुर मेयर्स ११ की कृतिका मरासिनीले २ ओभरमा ४ रन खर्चेर ४ विकेट लिएकी हुन् । सरस्वती चौधरीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । पूजा महतोले ३.२ ओभरमा १३ रन खर्चेर २ विकेट हात पारिन् ।