काठमाडौँ, २७ वैशाख । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल जस्ता खेलहरु मात्र विकास गर्न सक्ने बताउनुभएको छ ।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उहाँले देशको बजेटभन्दा बढी खेलकुद पूर्वाधारको माग भएर आएको भन्दै मन्त्रालय कम बजेटमा चलाउन परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मन्त्रालय कम बजेटमा चलाउन परेको छ । मन्त्रालयको अभिलेखमा हेर्ने हो भने देशभरिका जनप्रतिनिधिहरु, वडासदस्य, गाँउपालिका सदस्यदेखि प्रदेशका सांसद, सभामुख र मन्त्री सबै योजना माग्न आउनुहुन्छ । देशको बजेटभन्दा बढी त खेलकुद पूर्वाधारको माग भएर आएको छ । अहिलेको खेलकुद मन्त्रालयको बजेटले साँच्चै काम गर्न सक्ने भनेको लुडो, चेस र बाघचाल जस्ता खेलहरुको मात्र हो ।’
उहाँले नयाँ खेलकुद ऐन संशोधन हुने क्रममा रहेको भन्दै अब समयसापेक्ष ऐन बन्न सकेन भने समय सापेक्ष नीति र कार्यविधिहरु बन्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खेलकुद ऐन संशोधन हुँदै छ । मन्त्रालयले त्यसको एउटा मस्यौदा बनाएर सरोकारवालहरुसँग सहभागितामूलक तरिकाबाट सुझाव संकलन गर्न सुरु गरेको छ । किनभने अब समयसापेक्ष ऐन बन्न सकेन भने समयसापेक्ष नीति बन्दैन । कार्यविधिहरु बन्दैनन् ।’
बजेटको अभाव भए पनि स्थानीय तहहरुसँगको समन्वयमा मन्त्रालयले यसपाली युवा र राष्ट्रलाई जोड्न सक्ने केही कार्यक्रमहरु ल्याउने प्रयास गरेको पनि उहाँको भनाइ छ ।