मूलपानी क्रिकेट रंगशालाको डिपिआर खेलकुद मन्त्रालयमा

69

काठमाडौँ, २४ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयसमक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरेको छ ।

पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डिपिपीआर सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो ।

करिब एक वर्षअघि राखेपको आयोजनामा भएको खेलकुद पूर्वाधार नीति संवादका दौरान मूलपानी क्रिकेट रंगशाला विगतकै प्रकृमा बजेट विनियोजन हुने हो भने निर्माण कार्य २७ वर्षमा मात्र पूरा हुने सहभागीहरुको प्रतिक्रिया थियो ।

उक्त कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमपछि प्रधानमन्त्री दाहालले रंगशाला निर्माणमा चासो व्यक्त गर्दै सदस्यसचिव घिसिङलाई वर्तमान संसद्कै कार्यकालमा काम सम्पन्न गर्ने अगाडि बढ्न निर्देशन दिनुभएको थियो । मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ ।

सदस्यसचिव घिसिङले उक्त निर्देशन कार्यान्वयन गर्ने क्रममा पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीलाई डिपिआर तयार गर्ने जिम्मेवारी दिनुभएको थियो ।

डिपिआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम एक साताभित्र सक्न सदस्यसचिव घिसिङले कल्सल्टेन्सीलाई निर्देशन दिनुभएको छ ।

डिपिआर प्रस्तुतिका क्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र सचिव सुमनराज अर्यालले राखेपको कामको प्रशंसा गर्दै मूलपानी क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढ्नुपर्ने बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...