काठमाडौँ, २३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम आउने बताउनुभएको छ ।
समाज कल्याण परिषद्अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज आयोजना गरेको क्यालेण्डर बिमोचन तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समाजसेवा गर्ने समाजसेवी सम्मान कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिक हामी सबैको अग्रज, पुजनीय व्यक्तित्व भएको हुनाले उहाँहरूप्रतिको दायित्व सबैले निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।
पछिल्लो समय आफ्नै सन्तान, आफन्त, समाज, परिवारले समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्री चौधरीले त्यो समस्यालाई समाधान गर्नका लागि सन्तानको कमाईको १० प्रतिशत आफ्ना आमा बुवाका निम्ति छुट्याउने व्यवस्था गरिएको बताउनुभयो । ‘आफ्ना सन्तानले जति कमाई गर्छ त्यसको १० प्रतिशत आमा बुवाका निम्ति खर्च गर्नैपर्ने ऐनमा व्यवस्था गरिएको छ । ऐन आएको छ अब त्यसलाई कार्यविधि बनाएर स्थानीय तहसम्म पठाउनुपर्ने छ । त्यसका निम्ति हामीले तयारी गरिरहेका छौँ,’ मन्त्री चौधरीले भन्नुभयो, ‘ज्येष्ठ नागरिक हाम्रा पुजनीय, आदरणीय व्यक्तित्व हुनुहुन्छ । हामी कसैले पनि उहाँहरूलाई बिर्सन हुँदैन ।’
मन्त्री चौधरीले आफ्ना सन्तान हुर्काउँदै गर्दा आफूलाई जन्मदिने मातापितालाई बिर्सन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाहे कुनैपनि कारण होस् तर हामीले आफ्ना आमा बुबालाई बेवास्ता गर्नु हुँदैन । सन्तान हुर्काउँदै गर्दा आफ्ना बाआमाप्रतिको जिम्मेवारी भुल्नु हुँदैन ।’
राज्यले ज्येष्ठ नागरिकको सम्मानका लागि २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्धभत्ता कार्यक्रम ल्याएको भन्दै उहाँले अहिले त्यही कार्यक्रम नै सामाजिक सुरक्षाका रुपमा वृद्धि हुँदै गएको बताउनुभयो । ‘त्यो बेलाको समयमा थोरै रकम भएपनि उहाँ (मनमोहन अधिकारी)ले ज्येष्ठ नागरिकको सम्मानका निम्ति सुरुवात गर्नुभएको थियो । त्यो अहिले सामाजिक सुरक्षा भत्ताका रुपमा दिइन्छ । त्यसका निम्ती हामीले स्व।मनमोहन अधिकारीज्यूप्रति कृतज्ञता व्यक्त गर्नैपर्छ ।’
भारतबाट केही समय पहिले ज्येष्ठ नागरिकहरूको भ्रमण आउँदा नेपालले ज्येष्ठ नागरिकका निम्ति वितरण गर्दै आएको कार्यक्रमको प्रसंसा समेत गरेको उल्लेख गर्दै उहाँले विश्वका केही समाजवादी मूलुकमा मात्र यस्तो व्यवस्था हुने गरेको बताउनुभयो । ‘भारतमा उपचार सेवा उपलब्ध गराइने र विशेष अवस्थामा सहुलियत दिने व्यवस्था छ । तर, नेपालजस्तो रकम नै दिने व्यवस्था छैन भनेर उहाँले भन्नुभएको थियो’, मन्त्री चौधरीले भन्नभयो, ‘नेपालमा त पेन्सन तथा उपदान जस्तो सामाजिक सुरक्षा भत्ता दिइने व्यवस्था रहेछ भनेर भन्नुभएको थियो ।’
परिवार, समाज, आफन्त र सन्तानबाट अपहेलित, पीडित ज्येष्ठ नागरिकका लागि राज्यले सधैँ अभिभावकत्व ग्रहण गर्ने मन्त्री चौधरीले बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मुलुकको जनसंख्याको ८० प्रतिशत जनसंख्यासँग सम्बन्धित मानव संवेदनशील मन्त्रालय भएको भन्दै उहाँले त्यस अनुसार बजेट भने न्यून रहेको बताउनुभयो ।
आगामी आर्थिक वर्षमा मन्त्रालयले विशेषगरी ज्येष्ठ नागरिकलाई लक्षित गरेर दिवा मिलन केन्द्र जस्ता कार्यक्रम ल्याउन लागेको भन्दै मन्त्री चौधरीले त्यसलाई सबै वडाहरूमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । ‘यसपालीको बजेटमा हामीले सबै वडामा दिवा मिलन केन्द्र पुर्याउने योजना बनाएका छौँ । ज्येष्ठ नागरिकलाई हामीले बिर्सन हुँदैन’, उहाँले भन्नुभयो ।