काठमाडौँ, २३ वैशाख । लोकसभा निर्वाचन हुनगैरहेकाले नेपाल र भारतको सिमानाका ८ दिन बन्द रहने भएको छ ।
भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनको मतदान अवधिमा नेपाल–भारत सिमानाका आठ दिन बन्द गरिने स्थानीय प्रशासने जनाएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदै छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घन्टा पहिले सिमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने छ । दोस्रो चरणको निर्वाचनमा ४ जेठ मध्यरातिदेखि ७ जेठ मध्यरातसम्म सिमानाका बन्द हुने छ ।
करिब दुई महिनाअघि विहारको मधुवनीमा सम्पन्न नेपाल र भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयानुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडरनाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताउनुभयो ।